१२ श्रावण २०८१, शनिबार

स्वरोजगार बन्दै एकल महिला

समूह र सहकारीमा आबद्ध हुँदै पशुपालनदेखि तरकारी खेतीमा

  • न्युज मानसराेवर

बाँके\ देवी विकका पतिको भारतको गुजरातमा रोजगारीका सिलसिलामा ०७२ सालमा मृत्यु भयो । हृदयघातबाट मृत्यु भएका पतिको शव उनले देख्न पाइनन् । कमाउन गएका पतिको भारतमा मृत्यु भएपछि उनी एक्लो भइन् । बाँकेको खजुरा गाउँपालिका–६, सिमलघारीकी ३८ वर्षीया उनका दुई छोरा छन् । पतिको मृत्यु भएका बेला कान्छा छोरा तीन वर्षका र जेठा सात वर्षका थिए ।

एकल भएपछि दुःख भोग्नु पर्‍यो । विभेद खेपेकी उनले दुई छोरालाई एक्लै हुर्काउदै छिन् । सीप नभएपछि उनले बाख्रा र कुखुरा पाल्न थालिन् । गाउँमा रहेका बचत समूहमा बस्न थालिन् । व्यवसाय गर्ने आँट जाग्यो । अहिले उनी लगनशील दलित कृषक समूहकी अध्यक्ष छन् । समूहबाट १० हजार सहयोग पाइन् । गत साउन महिनामा तीन वटा बाख्रा समूहबाट पाएकी छन् । घरमै पालेका पशुचौपायाबाट आएको आम्दानीबाट छोराहरू पढाउनेदेखि घरखर्च चलाउने गर्छिन् । उनको घरमा कमाउने अरू कोही छैनन् । आफ्नै श्रममा बाँचेकी उनलाई अहिले कसैको अगाडि हात थाप्नु पर्दैन । ‘दिनभरि घाँस–दाउरा गर्छु । समूहमा बसेपछि दुई–चार पैसा हात पर्न थालेको छ,’ उनले भनिन्, ‘अब बंगुर पाल्ने सोच बनाएकी छु ।’

महिलालाई व्यवसाय गर्न चुनौती छ भने अर्कोतिर घरको आर्थिक भार थेग्न सजिलो छैन । तर पनि बाँकेका एकल महिला समूह अनि सहकारीमा आबद्ध हुँदै स्वरोजजार बन्दै छन् । बैजनाथ गाउँपालिका–८ राइटरपुरकी ४० वर्षीया पम्फादेवी विकले एक्लै चार छोरा हुर्काइन् ।

पतिको मृत्युपछिको जीवन त्यति सहज त थिएन तर उनले हिम्मत हारिनन् । बिस्तारै छोराहरू हुर्किंदै गरेपछि उनले तरकारी खेती सुरु गरिन् । अहिले उनले तरकारी खेतीसँगै बाख्रा पालन र बंगुर पालन सुरु गरेकी छन् । १० कट्ठा जमिनमा तरकारी उत्पादन गरेकी उनले लसुन, प्याज, बन्दा र फूलगोभी, टमाटर बेचेर घर खर्च चलाएकी छन् । ‘सुरुमा त धानसँग तरकारी साटेर खाइयो ।

अहिले आफैं तरकारी उत्पादन गरेर घरमा खान र बेच्न पाएका छौं,’ उनले भनिन् । समूहमा बसेकी उनले ३५ हजार रुपैयाँ ऋण लिएर तरकारी खेती सुरु गरेकी हुन् । जुन समूहमा उनले मासिक २ सय रुपैयाँ बचत गर्छिन् । सिजनमा तरकारीबाट मासिक ५ हजार रुपैयाँ आम्दानी गर्ने गरेको उनले सुनाइन् । वर्षमा तीनवटा बंगुर हुर्काएर बेच्ने गर्छिन् ।

बैजनाथ गाउँपालिका–८ चौफारीकी दिलसरा परियार ३३ वर्षकी भइन् । भारतमा कमाउन गएका पतिको भारतको चण्डीगढमा १० वर्षअघि मृत्यु भएपछि उनी एक्लो भइन् । सहाराको नाममा दुई छोराछोरी छन् । एकातिर पति वियोग र अर्कोतिर छोराछोरी हुर्काउने/पढाउने जिम्मेवारीले उनलाई निकै पिरोल्थ्यो । ‘उतै मरे भन्ने खबर आयो । कसले मार्‍यो, कसरी मरे केही थाहा पाएनौं,’ उनले भनिन्, ‘सास त आएन नै, लास पनि हेर्न पाएनौं ।’ जागिर गर्न भनेजति पढाइ नभएपछि उनले सीप सिक्ने निधो गरिन् । काठमाडौं गएर ब्युटीपार्लरको कोर्स गरिन् ।

६ महिने कोर्सपछि पार्लरमा सहयोगी भएर काम गरिन् । त्यसपछि उनलाई केही गर्ने आँट पलायो । एक वर्षदेखि ब्युटीपार्लर र कसमेटिकको व्यवसाय सुरु गरेकी छन् । ‘हातमा सीप भएपछि पसलको सुरुवात गरेकी हुँ,’ उनले भनिन्, ‘घर पायक काम भएर थोरै आम्दानीमा पनि सन्तुष्ट छु ।’ १ लाख लगानी गरी सुरु गरेको पसलमा अहिले ४ लाख रुपैयाँ पुर्‍याएकी छन् । मासिक १० हजार रुपैयाँ किस्ता बुझाउँछिन् ।

अहिले उनी दैनीक १ हजार रुपैयाँ आम्दानी गर्छिन् । ‘सुरुमा समूहबाट २५ हजार रुपैयाँ सहयोग पाएँ । समूहमा बसेर दिदीबहिनीसँग दुःख साट्न पाइयो । केही गर्ने आँट पनि पलायो,’ उनले भनिन्, ‘छलफल कार्यक्रममा जाँदा थप हौसला बढ्यो ।’

एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण नै फरक भएकाले उनीहरूलाई आर्थिक रूपमा बलियो बनाउन आय आर्जजमा सघाउन स्थानीय तहले कुनै योजना ल्याएको देखिँदैन । वडा तथा स्थानीय तहमा रहेका एकल महिलालाई आर्थिक रूपले सशक्त बनाउन आफ्नो संघले २५ हजार रुपैयाँ दिएर व्यवसाय सुरु गर्न प्रोत्साहन गरिरहेको दलित महिला संघ बाँकेकी उपाध्यक्ष दिलिसा गौतमले बताइन् ।  ‘हामीले समूहमा बसेका विपन्न तथा एकल महिलालाई पसल र व्यवसाय गर्न थोरै भए पनि प्रोत्साहन गरिरहेका छौं,’ उनले भनिन्, ‘उनीहरूलाई आर्थिक रूपले सशक्त बनाई स्थानीय स्तरमा रहेका सेवा सुविधासम्म पहुँच पुर्‍याउनु हाम्रो उद्देश्य हो ।’ इकान्तिपुर

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech