१४ बैशाख २०८१, शुक्रबार

‘मोफसलमा बसेर साहित्यको मूलधारमा स्थापित हुन संघर्ष गर्नैपर्छ’

शिक्षण पेसामा संलग्न महानन्द ढकाल विगत साढे दुई दशकभन्दा बढी समयदेखि साहित्य सिर्जनामा सक्रिय छन्। हाइकु र मुक्तक सिर्जनामा उनको विशेष दखल छ भने पछिल्लो समय उपन्यास र नियात्रा लेखनमा पनि सक्रिय छन्। ढकालका खण्डित आत्मा, उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू र अव्यक्त प्रत्याशा गरी तीनवटा गजल संग्रह प्रकाशित छन्। घाम उदाए उनको हाइकु संग्रह हो भने सिमाना हालै प्रकाशित मुक्तक संग्रह हो।

  • न्युज मानसराेवर

बाँकेको सीमावर्ती क्षेत्रका स्थायी बासिन्दा ढकालका साहित्यिक कृतिमा त्यस क्षेत्रका नेपालीले भोग्नुपरेको यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको हुन्छ। पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्षसमेत रहेका ढकालसँग पछिल्लो कृति सिमाना का विषयमा  गरेको संक्षिप्त कुराकानीः

मुक्तक सिर्जना नै किन रोज्नुभयो ?

मुक्तक रोज्नुका धेरै कारण छन्। मुक्तक साहित्यको चोटिलो विधा हो। थोरै शब्दमा धेरै कुरा भन्न सकिने भएकाले यो अन्य विधाभन्दा सशक्त छ। मुक्तकले करेन्टको जस्तो झड्का दिन सक्छ। पाठकलाई छोटो समयमा प्रभाव छोड्छ। अध्ययन गर्ने रहर भएका तर व्यस्त पाठकको रुचि मुक्तकप्रति रहन्छ। त्यसैले मुक्तक  रोजेको हुँ।

‘सिमाना’ मा संगृहीत मुक्तकमा कस्ता विषयवस्तु समेटिएका छन्?

‘सिमाना’ मा सिमानाकै कुरा छन्। राष्ट्रियताका कुरा छन्। स्वाभिमानका कुरा छन्। त्यति मात्रै होइन, हरेक कुरामा सीमा हुन्छ। सीमा पार गर्नेप्रति सचेत हुन आग्रह गरिएका कुरा छन्। प्रेमिल विषयवस्तुदेखि देश खान खोज्नेप्रति आक्रोश पोखेका कुरा पनि छन्। अझ भनौं, सबैलाई उपयुक्त हुने विषवस्तु छन् ‘सिमाना’ मा।

तपाईं बसेको भूमिको सीमा विवादलाई यो कृतिले कति सम्बोधन गर्न सकेको छ ?

यो त पाठकले भन्ने कुरा हो। व्यक्तिगत रुपमा भन्ने हो भने यो कृतिले सीमा समस्यालाई राम्रोसँग सम्बोधन गरेको छ। आफू पनि सीमा जोडिएको जिल्लाको बासिन्दा भएकाले कतिपय मैले सङ्गालेका अनुभव कृतिमा समेटिएका छन्। सीमामै पुगेर विमोचन गरिएको यो कृति सीमाकै लागि लेखिएको हो।

पाठकबाट सिमानाले कस्तो प्रतिक्रिया पाइरहेको छ ?

म उत्साहित भएको छु। जे जतिले पढ्नुभएको छ राम्रो नै मान्नुभएको छ। पढ्न पाइएन भन्ने गुनासा पनि आइरहेका छन्। सिमानाले राम्रो प्रतिक्रिया पाएको ठानेको छु।

साहित्यकारले अन्य सर्जकका कृति कत्तिको पढ्नुपर्छ?

हरेक कुरामा अध्ययनको खाँचो छ। पछिल्लो समयमा थुप्रै सर्जकका नयाँनयाँ कृति प्रकाशित भइरहेका छन्। कुन कृति कति राम्रो वा नराम्रो भन्ने छुट्याउन कठिन हुन थालेको छ। लकडाउनका बेला केही महत्त्वपूर्ण कृति पढ्ने अवसर मिल्यो तर लकडाउन खुकुलो भएपछि व्यस्तता बढ्न थालेकाले अध्ययनको पाटो केही सुस्ताएको छ। नपढी त राम्रो लेख्न कहाँ सकिन्छ र?

पछिल्लो समय साहित्य लेखनमा समेटिने विषयवस्तुप्रति तपाईंको धारणा के छ? 

पाठकले कोरा कल्पनामा लेखिएका साहित्यिक कृतिभन्दा अनुसन्धानमा आधारित कृति मन पराउने गरेको पाएको छु। यो राम्रो पक्ष हो। यसले ज्ञान र सिर्जना दुवैलाई समेट्न सक्छ। तर कतिपय कृतिमा अनावश्यक शब्द मात्रै थुपारेर पाठकलाई अलमलाउने गरेको पनि पाइएको छ। अध्ययनका लागि पुस्तकमा गरेको लगानीले कुनै प्रतिफल दिन सकेन भने त्योभन्दा नराम्रो त के नै हुन्छ र ?

मोफसलमा बसेर मूलधारमा स्थापित हुन कति सहज छ जस्तो लाग्छ ?

केही गाह्रो छ तर विगतमा जस्तो हैन। अहिले राम्रो लेख्न सक्ने हो भने मिडिया घरघरमा पुग्छन्। प्रचारप्रसार सजिलो भएको छ तापनि हाम्रो सोचाइ र संंस्कारमा परिवर्तन भएको छैन। नाम हेरेर पढ्ने चलन बढी छ। प्रकाशकले पनि नाम चलेका लेखकलाई नै महत्त्व दिन्छन्। बजार र पहुँचका हिसाबले मोफसलमा बसेर साहित्यको मूलधारमा स्थापित हुन केही बढी संघर्ष गर्नैपर्छ।

मोफसलको साहित्यलाई मूलधारमा जोड्न के गर्नुपर्ला?

मोफसलमा प्रकाशन संस्थाको अभाव छ। व्यवस्थित बजार छैन। पठन संस्कृति अभाव छ। साहित्य, कला र संस्कृति हेर्ने सरकारी निकायको उपस्थिति शुन्य छ। सरकारले पनि साहित्यलाई कम महत्त्व दिएको छ। मोफसलले भाषासाहित्यमा जे जति विकास गरेको आफ्नै बलबुताले गरेको छ।

साहित्यकारले आफ्नै पैसा खर्च गरेर काम गरिरहेका छन्। स्थानीय तहले भाषा, साहित्य र कलाका क्षेत्रमा काम गर्न सक्छ। तर चासो छैन। तसर्थ मोफसलका साहित्यकारले व्यक्तिगत तथा संस्थागत रुपमा पहल गर्नुपर्छ। स्थानीय लेखकलाई महत्त्व दिनुपर्छ। साहित्यिक संस्थाहरुले स्थानीय लेखकका कृतिबारे अन्तरक्रिया तथा समीक्षामा जोड दिनु जरुरी छ। एकल प्रयासभन्दा सामूहिक वा संस्थागत प्रयासमा जुट्नुपर्छ।

‘सिमाना’ कृति पाठकले किन पढ्ने?

यो कृति पढ्नैपर्छ भन्ने दाबी मेरो छैन। के पढ्ने के नपढ्ने भन्ने पाठकको छनोटको विषय हो। मैले भन्नै पर्दाचाहिँ सीमा क्षेत्रका नेपालीमा रहेको राष्ट्रप्रेम र कर्तव्यबोध बुझ्न यो कृति पढ्नुपर्छ। त्यसैगरी नवसर्जकलाई साहित्यप्रति उत्प्रेरित हुन यो कृतिले सघाउँछ जस्ता मलाई लाग्छ। राजनीतिक र सामाजिक विषयमा गरिएको व्यंग्यबारे थाहा पाउन पनि यो कृति पढ्नैपर्छ।  नेपाल समय

  • १० माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech