१६ चैत्र २०८०, शुक्रबार

आज देशैभर १२० खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाइँदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आजबाट देशभर कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाइने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ  गर्ने कार्यक्रम छ।

काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको छ। स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार  काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहेका छन्।

काठमाडौंमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गंगालाल अस्पताललगायत छन्। ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र छन्।

भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा केन्द्र तोकिएको छ। खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र  १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने भएको छ। यही माघ १८ गतेभित्र ७७  जिल्लाका ३००  खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो। खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेकाले आजबाट खोप लगाउन सुरु गरिने बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ। यो पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने छ।

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइन लागेको छ। नेपाल लाइभ

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech