८ जेष्ठ २०७९, आईतवार

सती प्रथाबारे भेटियो थप प्रमाण
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालमा सती प्रथाबारे थप प्रमाण भेटिएको छ। विज्ञहरुले हनुमानढोका दरबारको भण्डारमा रहेको सेफभित्र भेटिएको गहना सती प्रथाबारे ठोस प्रमाण रहेको दाबी गरेका छन्।

नेपालमा १९७७ असार २५ गते तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले सती प्रथा उन्मूलन गरेका थिए।

सेफभित्र भएको गहनामध्ये गलाको हार र कानको कुण्डल तत्कालीन राजा रणबहादुर शाहकी बडामहारानी राजराजेश्वरीले आफू सती जाने बेलामा वायु देवता र आकाश देवतालाई चढाएकी हुन्।

‘रानी राजराजेश्वरीले सती जानुअघि आकाश देवातालाई कुण्डल र वायु देवतालाई हार चढाएको बुझिन्छ,’ लिपिविज्ञ श्यामसुन्दर राजवंशीले भने, ‘लिपि सानो अक्षरमा देवनागरीमा लेखिएको छ भने चढाइएको हार र कुण्डल वास्तविक आकारको छ।’

इतिहासमा उल्लेख भए पनि यसअघि सतीप्रथाबारे ठोस प्रमाण भेटिएको थिएन। पुरातत्त्व विभागका पूर्वमहानिर्देशक तथा अन्वेषक विष्णुराज कार्की भन्छन्, ‘यी गहना सती प्रथाबारे आधिकारिक रुपमा बुझ्न सघाउने ठोस प्रमाण हुन्।’

गहनामा लिपि र मिति पनि रहेको राजवंशी बताउँछन्।

सती जाँदा गहना चढाउने वा चढाइएको विषय पहिलोपटक सार्वजनिक भएको त्रिवि केन्द्रीय संस्कृति विभाग प्रमुख प्राध्यापक मदनकुमार रिमाल बताउँछन्। उनी भन्छन्, ‘यी गहनाले इतिहास र संस्कृतिको नयाँ पाटो खोलेको छ।’

कहाँ भेटियो गहना?

२०६८ सालमा हनुमानढोका दरबार क्षेत्रभित्रको न्हुच्छे चोक र फरासखाना बीचमा रहेको एउटा जीर्ण भवन भत्कियो।

भवन पन्छाउँदा एउटा सेफ भेटियो। सेफमा देवीदेवतालाई चढाइएको गरगहनालागयतका सामग्री थिए। गणतन्त्रपछि शाहकालीन समयमा पूजाआजामा प्रयोग हुने सरसामान पनि गृह मन्त्रालयमार्फत हनुमान ढोका दरबार हेरचाह अड्डामा संकलन गरियो।

ती पूजासामग्री र गरगहनाको सार्वजनिक प्रदर्शनी गर्ने योजना २०७२ वैशाख १२ को भूकम्पले अवरुद्ध भयो।
प्रदर्शनीको योजना बनेको पाँच वर्षपछि सो कार्य पूरा हुन लागेको छ।

‘हनुमान ढोका संग्रहालयमा हालै स्थापित ‘परम्परागत गहना तथा संस्कारका सामग्री’ खण्डमा ती ऐतिहासिक गहना तथा शाहकालीन समयमा पूजाआजामा प्रयोग हुने सामग्रीको प्रदर्शन गरिनेछ,’ हनुमानढोका संग्रहालय तथा हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले भने।

विगतमा गरगहना शासक तथा कुलीन वर्गको सोखको वस्तु थिए। यी सामग्रीले उति बेलाको रहनसहन र भेषभूषा बुझन् मद्दत गर्ने प्रा. रिमाल बताउँछन्।

उनी भन्छन्, ‘युरोप र अमेरिकाका कतिपय संग्रहालयमा नेपालकै पुरातात्त्विक सामग्री विशेष आकर्षणका साथ प्रदर्शित छन्। यहाँ पनि त्यस्ता सामग्री प्रदर्शन हुनु राम्रो हो।’

पूजाथाली, कचौरा, तुलसीपत्रको माला तथा विभिन्न देवालयमा जात्रा, पर्वमा प्रयोग हुने भाँडाकुँडालगायतका सामग्री प्रदर्शनीमा राखिनेछ। प्रायः सामग्री चाँदी तथा सुनका छन्।

‘बिफर महामारी हुँदा शीतलादेवी माईलाई चढाइएको सामग्री पनि छन्,’ राजवंशीले भने, ‘महोत्तरीतिरको रथबाराह लक्ष्मीनारायण महादेवलाई चढाइएको गहना पनि रहेछन्।’

संग्रहमा भगवान् राम तथा भगवान कृष्णलाई चढाइएको खराउ पनि छन्।

‘ती खराउ सप्तरीबाट आएको बुझिन्छ,’ कार्की भन्छन्, ‘यसले उति बेला काठमाडौं र तराईबीच हुने सम्पर्कसम्बन्धको पुष्टि गर्दछ।’
गहना १९०३ देखि १९९० सम्मको भएको पुरातत्त्वविद् कार्कीले बताए।

प्रदर्शनीमा १५ सय वर्षअघिको लिच्छिविकालीन सिक्का पनि छ। २०७२ को भूकम्पले भत्किएको काष्ठमण्डप पुनःनिर्माण गर्दा जगमा भेटिएको सो सुनको सिक्का छैटौं शताब्दीको जिष्णुगुप्तको पालाको भएको राजवंशी बताउँछन्।

‘सिक्कामा जिष्णुगुप्तस्य लेखिएको छ,’ राजवंशी भन्छन्, ‘एकातिर वज्र र अर्कोतिर घोडा अंकित छ। मुद्रा इतिहास अध्ययनमा यो महत्त्वपूर्ण प्रमाण हो।’

धेरै ऐतिहासिक गहना गुठी संस्थानको भण्डारमा छन्। प्रा. रिमाल भन्छन्, ‘ तिनलाई पनि प्रदर्शनी गरिए हुने नि। भण्डार गरेर राखेर मात्रै त के होला र?’

गहनाको पहिलो संग्रहालय

यो परम्परागत गहना तथा पूजासामग्री प्रदर्शन गरिएको राष्ट्रिय स्तरको पहिलो संग्रहालय हो।

आधुनिकताको नाममा पुराना चलन हराउँदै जाँदा यी सामग्रीले विगतलाई बुझ्ने आधार दिने रिमाल बताउँछन्। उनी भन्छन्, ‘त्यसैले यिनको सार्वजनिक प्रदर्शनी आवश्यक छ।’

२०७६ चैतदेखि कोरोना महामारीका कारण बन्द संग्रहालय गत मंसिर ३ गतेदेखि आंशिक रुपमा सञ्चालनमा छ। अचेल संग्रहालयमा दैनिक एक सय हाराहारीमा आगन्तुक आइरहेका छन्।

१९४२ मा औपचारिक रुपमा नारायणहिटी सर्नुअघिको राजदरबार हनुमानढोकामै थियो। विभिन्न कालखण्डमा निर्माण तथा पुनःनिर्माण भएको हनुमानढोका दरबार लिच्छिविकालदेखिकै भवन हो।

‘रत्न मल्ल हनुमानढोका दरबारमै थिए भन्ने प्रमाण छ,’ राजवंशी भन्छन्, ‘मल्ल कालभन्दा अघिको लिच्छिवि शासनकालदेखि नै यहाँ केही न केही महत्त्वपूर्ण भवन थिए।’

२०७२ को भूकम्पमा हनुमान ढोका दरबार क्षेत्रको ७० भन्दा बढी सम्पदामध्ये  ११ वटाबाहेक अन्य सम्पदा पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भए।

केहीको पुनःनिर्माण सकिएको छ भने केही सम्पन्न हुने क्रममा छन्।

अहिलेको गतिमा पुनःनिर्माण भइरहे दुई वर्षमा सबै निर्माण सम्पन्न भई संग्रहालय पूर्ण क्षमतामा सञ्चालन हुने कार्यालय प्रमुख खनाल बताउँछन्।

‘पुनःनिर्माण जतिसक्दो चाँडो सकेर काठमाडौं ठडिएको सन्देश दिन जरुरी छ,’ उनी भन्छन्। नेपाल समय मा उल्लेखित समाचार

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech