१३ असार २०७९, सोमबार

अपमान भुल्दै खुल्न थाले एचआईभी संक्रमित
  • न्युज मानसराेवर

सुर्खेत– सुर्खेत पञ्चपुरीका हर्क सुनार (नाम परिवर्तन) ले जीवनको ऊर्जाशील समय भारतका विभिन्न सहरमा बिताए। बेलामौकामा घर आउँथे। सोही क्रममा बिहे गरे। पत्नीले गाउँमा बालबच्चा हुर्काइन्। उनले उतै श्रम गरेर परिवारलाई खर्च पठाउँथे।

पछिल्लोपटक उनी नौ वर्षसम्म गाउँ फर्किएनन्। घरखर्च भने साथीभाइलाई पठाइरहे। २०६६ सालमा भारतमै थला परे। महिना दिनसम्म उपचार गर्दा पनि रोग निको भएन।

उनी एचआईभी संक्रमित भइसकेका रहेछन्। डाक्टरले एचआईभी पोजेटिभ भएको सुनाएपछि उनलाई छाँगाबाट खसेजस्तो भयो।

‘सुरुमा त आत्महत्या गर्न खोजें तर सकिनँ’, एक संस्थाको सम्पर्कमा आएका उनले भने, ‘औषधि खाएपछि बाँच्ने आत्मविश्वास बढ्यो।’ ११ वर्षदेखि औषधि खाँदै आएका उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।

भारतमा उपचार गराएर उनी घर फर्किए पनि एचआईभी संक्रमित भएको जानकारी घरपरिवारलाई दिएनन्। गाउँमा पनि कसैलाई थाहा दिएनन्। कहिले नेपालगन्ज र कहिले छिमेकी जिल्ला कैलालीबाट औषधि ल्याउँथे।

यो उनको रहर नभई बाध्यता थियो। किनकि संक्रमितहरू खुलेर समुदायमा बस्न सक्ने वातावरण थिएन। खुल्नेहरु पनि घरपरिवार र समुदायबाट तिरस्कृत हुन्थे।

एचआईभी/एड्स संक्रमितलाई समाजले छिःछि र दुरदुर गर्थे। संक्रमित हो भन्ने खुलेमा परिवारबाटै विस्थापित हुनुपथ्र्याे।

समुदायले एचआईभी/एड्सलाई महामारीकै रूपमा बुझेको थियो। असुरक्षित यौनसम्पर्कबाट मात्रै एचआईभी/एड्स सर्छ भन्ने धेरैले बुझेकै थिएनन्।

समय बदलिएको छ। उनीसँगैका केही छिमेकी र भारतमा सँगै काम गर्दाका साथीभाइ पनि संक्रमित छन्। सबैले निर्धक्कसँग म संक्रमित हुँ भन्न डराउँदैनन्। टोलका अधिकांश नागरिक एचआईभी/एड्सप्रति जानकार छन्।

शिक्षित वर्गले संक्रमितलाई अपहेलना होइन, माया गर्नुपर्छ भन्ने बुझेका छन्। एचआईभी/एड्सप्रतिको समाजको चेतनास्तर फेरिएको छ। पहिले छिःछि र दुरदुरको व्यवहार भोगेकाले अहिले समाजको माया र हौसला पाएका छन्।

यही कारण हर्कजस्तै पञ्चपुरी नगरपालिकामा ८० जना एचआईभी संक्रमित खुलेका छन्।

तथ्यांकअनुसार वडा नं. १० मा २० जना, वडा नं. ६ र ८ मा १६/१६ जना, वडा नं. २ मा ६ जना, ३ मा ५ जना, ४ मा ९ जना,  वडा नं. ५ मा ३ जना, वडा नं. ९ मा १ जना र वडा नं. ११ मा ४ जना संक्रमित खुलेका छन्। नगरपालिकाले नै उनीहरुलाई नजिकको स्वास्थ्य चौकीमा औषधिको व्यवस्था गरिदिएको छ।

पहिले औषधि लिन वीरेन्द्रनगर आउने उनीहरु अहिले घर नजिकैको स्वास्थ्य चौकीबाट नियमित रुपमा एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) प्रयोग गर्दै आएका छन्।

नियमित औषधि प्रयोग गरेका कारण सामान्य नागरिकसरह नै जीवनयापन गर्न पाएको उनीहरुको अनुभव छ।

पञ्चपुरी नगरपालिकाले पनि संक्रमितलाई सहज बनाउन, कुखुरापालन, बाख्रापालन, बेमौसमी तरकारी खेती जस्ता आयमूलक कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकाले संक्रमितको छोराछोरीको पठनपाठन सहज बनाउन सहयोगी निकायलाई अनुरोध गर्ने, औषधि लिन जाँदा यातायात खर्च दिने जस्ता काम गर्दै आएको छ।

‘पहिले औषधि लिन धनगढी जानुपर्थ्याे। नगरपालिकाले यातायात खर्च उपलब्ध गराउँथ्यो। अहिले गाउँमै औषधि पुर्‍याएका छौं’, नगरप्रमुख उपेन्द्र थापाले भने, ‘संक्रमितका लागि नगरसँग ठूलो बजेट त छैन तर आयमूलक कार्यक्रममा सहयोग गर्दै आएका छौं।’

नगरपालिकासँग पर्याप्त बजेट नभएका कारण संक्रमितको जीवन निर्वाह र बालबालिको शिक्षाका लागि सहयोगी निकायसँग समन्वय गर्दै आएको थापाले बताए।

कहिलेकाहीं गाउँमा औषधि अभाव हुँदा संक्रमितलाई वीरेन्द्रगर र कैलाली जानका लागि गाडीभाडा समेत उपलब्ध गराउँदै आएको छ।

हालसम्म कर्णाली प्रदेशभर ६ सय १ जना संक्रमित खुलिसकेका छन्। तीमध्ये सुर्खेतमा मात्रै ३०४ जना संक्रमित खुलेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार दैलेखमा १९२ जना, कालिकोटमा ३७ जना, रुकुपश्चिममा ४८ जना र सल्यानमा १९ जना एचआईभी संक्रमित खुलेका छन्। निर्देशनालयका कुष्ठ रोग अधिकृत पदम केसीका अनुसार जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला र मुगुमा भने संक्रमित खुलेका छैनन्।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech