१५ चैत्र २०८०, बिहीबार

जनतासंग स्थानीय सरकार कार्यक्रम सञ्चालित
  • न्युज मानसराेवर

बाँके बैजनाथ । खजुरा गाउँपालिकामा जनतासंग स्थानीय सरकार कार्यक्रम सञ्चालनमा आएको छ । जनताका समस्यासंग हातेमालो गर्ने र तत्काल समाधान हुने समस्या हल गर्ने उद्देश्यले यो कार्यक्रम चालु आर्थिक बर्षदेखि सञ्चालनमा आएको हो ।

उक्त कार्यक्रमअन्तर्गत सोमवारदेखि जेष्ठ नागरिकलाई निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याईएको छ । भिजन आँखा अस्पताल नेपालगन्जको सहकार्यमा वडा नम्बर १ देखि ८ सम्म यो कार्यक्रम सम्पन्न गरिने छ ।

शिविरमा सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई निःशुल्क जाँच, औषधि बितरण र करिब एकसय जनाको निःशुल्क अप्रेशन गरिने जनाईएको छ ।

वडा नं. १ मा सञ्चालित शिविरको शुभारम्भ कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनताका प्रत्यक्ष गुणासो सुन्ने र समस्या समाधान गर्न कार्यक्रम लागू गरिएको जानकारी दिए । उनले समस्याको अवस्था हेरि तत्काल समाधान हुने खालका समस्यालाई हल गर्ने र समय लाग्ने खालका समस्याको आगामी नीति कार्यक्रम र बजेटमा लगिने बताए ।

अध्यक्ष कक्षपतिले निर्वाचनमा जनतासंग बाचा गरेका ६५ बुँदा पूरा भएको र महत्त्वपूर्ण गौरवका योजना संचालनमा रहेको बताए । उनले तीन वर्षमा ५० किलो मिटर कालोपत्रे गरिएको जनाउँदै ५ वर्ष पूरा हुँदा १०० किलो मिटर कालोपत्र गरिने प्रतिबद्धता जनाए ।

स्वास्थ्य क्षेत्रमा खजुरामा १५ वेड १८ महिनामा पूरा गर्ने, दोस्रो ठूलो अस्पताल क्यान्सर अस्पताल पूर्ण सेवा दिने तयारीमा रहेको जानकारी दिए । ग्रीनसिटीमार्फत खजुराको व्यवस्थित विकासमा लाग्ने उद्देश्य रहेपनि कोरोनाले अवरोध भएको बताउँदै यो परियोजना सञ्चालनमा आउने विश्वास ब्यक्त गरे ।

उनले असार मसान्तसम्म सुकुम्बासीको हातमा पूर्जा पर्ने गरी तयारी गरिएको बताउँदै कसैलाई एककप चिया खुवाउनु पनि नपर्ने उल्लेख गरे ।

खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक फत्तेकुमारी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, भिजन आँखा अस्पतालका प्रबन्ध निर्देशक बाबुतरुण गौतम, वडा नं. १ का स्वास्थ्य प्रमुख दीपक ढकाल, स्थानीय मगनसिंह थापाले यस्ता कार्यक्रमले जनता लाभान्वित हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नं १ का वडा अध्यक्ष सुमन मल्ल, वडा नं. २ का अध्यक्ष देवीलाल खनाल, खजुरा गाउँपालिका लेखा अधिकृत प्रदिप सुनार लगायतको सहभागिता थियो ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech