७ बैशाख २०८१, शुक्रबार

सरकारी अध्ययन भन्छ– कोभिडका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

‘कोभिड पछि कुनैपनि उद्योगको उत्पादन पूर्ण क्षमतामा छैन’

  • न्युज मानसराेवर

काठमाडौं- सरकारले गरेको अध्ययनले कोभिड-१९ महामारीका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएको देखाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अध्ययनअनुसार कोभिड-१९ महामारीको नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी र त्यसपछिको समयमा समेत कुनै पनि उद्योग पूर्ण क्षमतामा संचालन हुन नसकेको देखिएको हो।

उद्योग मन्त्रालयको अध्ययनमा सहभागी उद्योग व्यवसायमध्ये १०.८१ प्रतिशत पूर्ण बन्द छन् भने ८९.१९ प्रतिशत उद्योग व्यवसाय आंशिक रूपमा संचालनमा रहेको देखिएका छन्। पूर्ण बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको छ।

महामारीको प्रभावका कारण उद्योगहरूको उत्पादन क्षमतामा उल्लेख्य रूपमा गिरावट आएको पाइएको छ। सर्वेक्षणमा सहभागी उद्योगमध्ये ५४ प्रतिशत उद्योगहरूको उत्पादन क्षमता ५० प्रतिशतले ह्रास भएको मन्त्रालयले सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ।

त्यस्तै ३२.४३ प्रतिशत उद्योगहरूको ७५ प्रतिशतसम्म उत्पादनमा कमी आएको छ। त्यस्तै २३.५२ प्रतिशत लघु तथा घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाइएको छ।

कोभिडले सबै मझौला उद्योगको उत्पादन र बजारीकरणमा असर पारेको अध्ययनले देखाएको छ। ठूला उद्योगको हकमा भने कच्चा पदार्थको प्राप्ती, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन र वजारीकरण सबै क्षेत्रमा असर परेको पाइएको छ। अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२.३५ प्रतिशत उद्योगहरूले कोभिड-१९ महामारीका कारण आफ्नो उत्पादनमा असर परेको बताएका छन्।

त्यसैगरी ७६.४७ प्रतिशत लघु तथा घरेलु उद्योगहरुमा कच्चा पदार्थ पाउन कठिनाई हुनुका साथै श्रमिक परिचालनमा समेत असर परेको प्रतिवेदनमा जनाइएको छ। महामारीका कारण ८८.२४ प्रतिशत लघु तथा घरेलु उद्योगहरूले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका छन्। साना उद्योगका हकमा ८७.५ प्रतिशत उद्योगहरूको उत्पादनमै प्रत्यक्ष असर परेको देखिएको छ भने ७५ प्रतिशत साना उद्योगहरूले उद्योगको लागि कच्चा पदार्थ प्राप्त गर्न कठिन भएको बताएका छन्।

उद्योगहरुको नाफा नोक्सान हेर्दा कोभिड–१९ को प्रभावले अधिकांश उद्योगहरु नोक्सानमा रहेको देखिन्छ। यस अध्ययनमा सहभागी उद्योगहरूमध्ये १६.२२ प्रतिशतले मात्र नाफामा रहेको वताएको छन्। नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूला उद्योग रहेका छन्।

रोजगारी गुमाउने पुरुष बढी
महामारीको समयमा रोजगारी गुमाउनेको अवस्था हेर्दा सबैभन्दा बढी रोजगारी गुमाउनेको संख्या लघु उद्योगमा रहेको छ। त्यसपछि क्रमशः साना, मझौला र ठूला उद्योगमा रोजगारी गुमेको देखिएको छ।

रोजगारी गुमेको अवस्थालाई लैगिंक दृष्टिकोणबाट हेर्दा महिलाको तुलनामा पुरुषले उल्लेख्य संख्यामा रोजगारी गुमाएको पाइएको छ।

महामारीका कारण सबै प्रकारका उद्योग व्यवसायहरू प्रभावित भएको देखाएको छ। उद्योग व्यवसायको संचालन क्षमता घटेको छ, जसका कारण वस्तु तथा सेवाको उत्पादनमा समेत गिरावट आएको छ। उद्योगी तथा व्यवसायीहरूले कच्चा पदार्थको आपूर्ति, श्रमिक परिचालन र उत्पादनको बजारीकरणमा समस्या भोगिरहेको बताएका छन्।

अधिकांश उद्योग व्यवसायहरू घाटामा संचालन भएका छन् भने लघु, घरेलु, साना तथा मझौला उद्योगीहरूले संचालन पूँजीको अभाव भएको बताएका छन्। त्यसैगरी सबै प्रकारका उद्योगी व्यवसायीहरूले उल्लेख्य संख्यामा रोजगारीको कटौती गरेका छन्।

मन्त्रालयले गरेको अध्ययनमा सहभागी उद्योगहरूले उद्योग व्यवसायको पूर्ण संचालनका लागि सरकारले ब्याजदरमा विशेष छुट दिनुपर्ने, सहुलियत दरमा ऋण पाउनुपर्ने, करमा विशेष छुट दिनु पर्ने, उत्पादनको आधारमा विद्युतको डिमाण्ड शुल्क निर्धारण गर्नुपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता दिनुपर्ने, पुनर्कर्जा उपलब्ध गराउनुपर्ने, घरभाडा छुट दिनुपर्ने सुझाव दिएका छन्।

यसका साथै कम्तीमा २ वर्षसम्म श्रमिकको न्यूनतम ज्यालामा वृद्धि गर्न नहुने, अन्त: शुल्क र भ्याटको दरमा पुनर्मूल्यांकन गर्नुपर्ने र नेपाल सरकारले घोषणा गरेका सबै सहुलियतहरु तुरुन्त प्रदान गर्नुपर्ने समेत सुझाव दिएका छन्।नेपाल लाइभ बाट

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech