१३ बैशाख २०८१, बिहीबार

मैले सम्झने त्यो २००७ साल
  • न्युज मानसराेवर

मेरो पिताजी बहादुरसिंह ब्रिटिश इण्डिया आर्मीमा हुनुहुन्थ्यो। फौजी पिताजीको जताजता सरुवा हुन्थ्यो, हामी उतैउतै पुग्थ्यौं। त्यहीक्रममा मैट्रिक पास गरेपछि मैले गोरखपुरमा आइएस्सी पढें।

त्यसबेला बेला भारत भर्खरै बेलायतबाट स्वतन्त्र भएको थियो। नेपालमा पनि राणा शासन फाल्नुपर्छ, प्रजातन्त्र ल्याउनुपर्छ भन्ने आन्दोलन शुरु भएको थियो। बीपी कोइराला लगायतका नेताहरू भारतका पटना, गोरखपुर, दिल्ली डुलिहिँड्थे। डाक्टर केआई सिंह त केही महिना हाम्रै घरमा बसेका थिए। पिताजी आर्मीमा कप्तान हुनुहुन्थ्यो, कांग्रेसका नेताहरु कहिलेकाहीँ उहाँसँग खर्चपर्च पनि माग्थे। उनीहरु के गर्छन् भन्ने कुराको मलाई मतलब हुन्थेन। तर, राणा शासन हटाउनुपर्छ, देशमा प्रजातन्त्र ल्याउनुपर्छ भन्ने सुन्दा चाहिँ खुबै चाख लाग्थ्यो।

गोरखपुरको फौजी क्यान्टोनमेन्टमा मेरा पिताजीलाई भेट्न आइरहने बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, डा केआई सिंह, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मा लगायतले राणा शासनविरोधी कुरा गर्थे, प्रजातन्त्र आगमनपछिका सुनौला दिनहरूबारे पनि चर्चा गर्थे। ‘प्रजातन्त्र आगमनपछि सुरक्षाफौजको नेतृत्व तपाईंजस्ता व्यक्तिले नै गर्ने हो’ भनेर पिताजीलाई भन्थे। यी सबै देखेकाले म पनि नजानिँदो ढंगले यता तानिएँ। भारतमा रहेको नेपाली विद्यार्थीको एउटा छुट्टै संगठनमा आवद्ध भएँ। भारतमा चर्किएको ब्रिटिशविरोधी ‘भारत छोडो’ आन्दोनलमा सरिक हुँदा केही दिन मैले जेलको अनुभव पनि संगालें।

भारत स्वतन्त्र भएपछि भारत प्रवासमा रहेका नेपालीमा राणाविरोधी आन्दोलनप्रति उत्साह थियो। तर, लामो समय शान्तिपूर्ण आन्दोलन चले पनि व्यवस्था परिवर्तनको कुनै छनक नदेखिएपछि नेपाली कांग्रेसले थप रणनीति बनाउन २००७ साल असोज १० र ११ गते भारतको बैरगनियामा सम्मेलन आयोजना गर्‍यो। त्यो सम्मेलनले नै राणाविरुद्ध सशस्त्र संघर्ष घोषणा गरेको थियो। आ–आफ्नो ठाउँमा मुक्ति सेना निर्माण गर्ने र हातहतियार जम्मा गरेर आन्दोलन अघि बढाउने निर्णय त्यही सम्मेलनले गरेको थियो। म पनि त्यो सम्मेलनमा सहभागी थिएँ। र, ‘डु अर डाई’ अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने संकल्प गरेर फर्केका थियौं।

अनि म कांग्रेसको मुक्ति सेनामा आबद्ध भएँ।

त्यहाँबाट फर्केर घर आएको थिएँ, बाजेले बेलायतबाट ल्याएर घरमा राखेको दुईनाले बाह्रबोर बन्दुक र टोटा लिएर म त्यही रात झ्यालबाट भागेर भैरहवाको मुक्ति सेनाको क्याम्पमा पुगेँ। म जस्ता धेरैजना बन्दुक लिएर त्यहाँ पुगेका रहेछन्। काशीप्रसाद श्रीवास्तव, रामवरण शर्मा, डा केआई सिंहलगायत क्याम्पका हर्ताकर्ता थिए। तर, प्रायः भरुवा बन्दुक, ती पनि चराचुरुंगी मार्न प्रयोग गरिने किसिमका मात्र भएकाले त्यसबाट राणा शासनविरुद्ध लड्न सम्भव थिएन।

त्यही भएर पल्टने परिवारको भएको नेताले मुक्ति सेना संगठित गर्ने र काम बाँडफाँट गर्नेक्रममा मलाई भारत गएर हातहतियार जुटाउने र ती हतियार चलाउन सक्ने व्यक्ति खोजेर ल्याउने जिम्मा दिइयो। त्यसक्रममा काठमाडौंका देवेन्द्र शाह, कपिलवस्तुका विष्णुबहादुर क्षत्री र देहरादुनकी कमला गुरुङसमेत भएर हामी गोर्खालीहरुको उल्लेख्य बसोबास रहेका विभिन्न क्षेत्रमा पुग्यौं। हातहतियार, गोलाबारुद जम्मा गर्‍याैं, तिनलाई चलाउन जान्ने मान्छे पनि लिएर फर्कियौं। त्यसो गर्न पिताजीको सम्बन्धले ठूलो सहयोग गरेको थियो।

बैरगनिया सम्मेलपछि एउटा मोर्चाको नेतृत्व गर्ने जिम्मा नेपाली कांग्रेसका गोपाल शमशेर जबरा (जो पछि नेपाल प्रहरीको आइजीपी पनि बने) लाई दिइएको थियो। डा. केआई सिंह र मैले त्यसको विरोध गरेका थियौं। तर, मातृकाप्रसाद कोइराला, डीबी राई र दानबहादुर लगायतले तत्कालीन अवस्थामा झगडा होइन, मिलेर क्रान्ति सफल पार्नुपर्छ भनी स्थिति साम्य पारेका थिए।

हामी आन्दोलन अघि बढाउँदै थियौं। आधुनिक हतियार र गोलीगठ्ठाले मुक्ति सेनामा उर्जा थपिएको थियो। पश्चिम नेपालका सदरमुकाम मुक्ति सेनाले कब्जा गर्दै थियो, सशस्त्र आन्दोलन अघि बढ्दै थियो। तर, त्यति नै बेला राजनीतिक तहमा दिल्ली सम्झौता भयो। यो दुर्भाग्यपूर्ण निर्णय थियो, हामी मुक्ति सेनाका जवानहरुलाई मझधारमा ल्याएर अलपत्र पार्ने। किनभने त्यो सम्झौताले राणा शासक मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्ने निर्णय गरेको थियो।
000
दिल्लीमा राजा, भारत र नेपाली कांग्रेसबीच भएको त्रिपक्षीय सम्झौतालाई हामीले धोका भएको ठहर गर्‍याैं। र, राणाशाही पूर्ण रूपमा निर्मूल नभएसम्म सशस्त्र आन्दोलन जारी राख्ने उद्घोषसहित डा केआई सिंहको नेतृत्वमा हाम्रो मोर्चाले संघर्ष जारी राख्ने निर्णय गर्‍यो। त्यसपछि २००७ साल फागुन ९ गते बिहान तीन बजेतिर भैरहवाको कदमहवामा रहेको हाम्रो क्याम्पमा भीषण आक्रमण भयो।

हामीले राणाशाही मुर्दावाद, भारत मुर्दावाद भन्दै नारा लगाएका थियौं। मुक्ति सेनाको पश्चिमी मोर्चा सम्हालेका केआई सिंहले प्रजातन्त्र अझै नआएको र सशस्त्र संघर्ष जारी राख्ने निर्णय सुनाएका थिए।

मुक्ति सेनाको नामोनिशान मेट्नेगरी आक्रमण भएको रहेछ। त्यसका लागि भारतीय फौजलाई नेपाल प्रवेश गराइएको थियो। मलाई लाग्छ, भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिको सुरुआत त्यहीँबाट भएको हो। त्यसअघि नै भारतमा राजा त्रिभुवनलाई शरण दिइएको थियो। दिल्ली सम्झौतामा नेपाली भूमिमा कुनै प्रकारको आक्रमण, दंगाफसाद भएमा भारतीय फौजले सहयोग गर्ने समझदारी बनेको रहेछ। त्यहीकारण पनि मराठा पल्टन झिकाएर हामीमाथि आक्रमण गरिएको थियो। भारतीय सेनामा मराठा रेजिमेन्ट अरूभन्दा आक्रामक र बहादुर हुन्छन्। हामीलाई दबाउन सरकारले उनीहरूलाई नै बोलायो। उनीहरुले हाम्रो शिविरमा चारैतिरबाट घेरेर मोर्टार (वम) हानेपछि हामीले बाध्य भएर आत्मसमर्पण गर्नुपर्‍यो।

त्यो आक्रमणमा हाम्रा ९ जना साथीले शहादत प्राप्त गरे। झण्डै ३५० मुक्ति सेनाका सदस्यलाई हत्कडी लगाएर, डोरीले बाँधेर नेपाली सेनाको जिम्मा लगाइयो। कुनै आतंककारी वा अपराधीलाई गर्नेजस्तो व्यवहार हामीमाथि गरियो। ती नौजना को थिए भन्ने पहिचान आजसम्म हुनसकेको छैन। सरकारले पनि त्यसबारे खोजविन गरेन, नेपाली कांग्रेसले पनि गरेन।

नेपाली सेनाको जिम्मा लगाइएपछि हामी करिब तीन महीना जेलमा बस्यौं। विद्यार्थीलाई रिहा गर्ने सरकारी निर्णय भएसँगै हामी जेलमुक्त भएका थियौं। जेलमा रहेका पढ्न चाहने विद्यार्थीलाई रिहा गरिने भएपछि त्यसरी रिहा हुने ३२ जनामा म पनि परें। जेलबाट छुटेर गोरखपुर पुगें। पहिले बन्दुक चोरेर हिँडेको थिएँ। जेलबाट छुटेर आएपछि पिताजीले ‘क्रान्ति खत्तम भो नि’ भनेर जिस्काउनुभो।

प्रत्येक वर्ष फागुन ७ गते आउँछ। म तिनै दिन सम्झन्छु।

(२००७ सालको संघर्षमा नेपाली कांग्रेसको मुक्ति सेनामा रहेका र पछि नेपाल प्रहरीको महानिरीक्षक बनेका बरालसँगको वार्तामा आधारित)

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech