१६ चैत्र २०८०, शुक्रबार

पेट्रोलको मूल्य ६ वर्षयताकै उच्च, निगमलाई पाक्षिक घाटा एक अर्ब ५४ करोड
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालमा पेट्रोलको मूल्य ६ वर्षयताकै उच्च पुगेको छ। नेपाल आयल निगमले गत सोमबार पेट्रोलको मूल्य बढाई प्रतिलिटर ११६ रुपैयाँ कायम गरेको थियो।

२०७१ पुस ४ गते निगमले पेट्रोलको मूल्य ११६ रुपैयाँ प्रतिलिटरका दरले कायम गरेको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेको मूल्य बढाइरहेको छ।

डिजेलको मूल्य प्रतिलिटर ९९ सय रुपैयाँ कायम गरिएको छ। यो साढे २ वर्षयताको उच्च हो। यसअघि २०७५ असोज १ मा डिजेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ थियो।

तीन वर्षमा बिक्री उस्तै

पेट्रोलियम बिक्री भने विगत तीन वर्षयताको उस्तै छ। निगमको तथ्यांकअनुसार आव २०७५/०७६ को माघमा पेट्रोल ४३ हजार १३१ किलोलिटर र डिजेल १ लाख ३४ हजार ८० किलोलिटर बिक्री भएको छ।

फागुनमा पेट्रोल ४६ हजार ९०३ किलोलिटर र डिजेल १ लाख ४९ हजार ६५६ किलोलिटर बिक्री भएको थियो।

आव २०७६/०७७ को माघमा पेट्रोल ४७ हजार २९३ किलोलिटर र डिजेल १ लाख ३८ हजार ११ किलोलिटर बिक्री भएको थियो।

सोही वर्ष फागुनमा पेट्रोल ५३ हजार ७६९ किलोलिटर र डिजेल १ लाख ५२ हजार ४८७ किलोलिटर बिक्री भएको निगमको तथ्यांक छ।

चालू आव २०७७/०७८ माघमा पेट्रोल ५० हजार ७४४ किलोलिटर र डिजेल १ लाख ४४ हजार ८७३ किलोलिटर बिक्री भएको छ। फागुन १५ सम्म पेट्रोल २८ हजार ४७६ किलोलिटर र डिजेल ९२ हजार ६३८ किलोलिटर बिक्री भएको छ।

पेट्रोल–डिजेलको बिक्री बढेको देखिए पनि वार्षिक १० देखि १५ प्रतिशतका दरले खपत बढिरहेको निगमको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

पाक्षिक घाटा एक अर्ब ५४ करोड 

नेपाल आयल निगमले पछिल्लो समय भारतको तुलनामा नेपालमा  पेट्रोल डिजेल सस्तो भएका कारण भारततर्फ तस्कारी (अपचलन) भइरहेको दाबी गर्दै आएको छ।

भारतको रक्सौल डिपोको तुलनामा नेपालको तराई क्षेत्रमा पेट्रोल प्रतिलिटर ३६ रुपैयाँ र डिजेल ४२ रुपैयाँ सस्तो छ।

पेट्रोल–डिजेललगायतका वस्तुमा निगमले घाटा बेहोरिरहेको दाबी गरेको छ। बिक्री जति बढ्यो त्यति नै बढी घाटा बढ्छ।
सोमबार कायम मूल्यसूचीअनुसार निगमले पाक्षिक एक अर्ब ५४ करोड घाटा बेहोरिरहेको छ।

अपचलन बढेका कारण बिक्री बढ्दा घाटा झन् बढ्ने भन्दै निगमले ७ फागुनमा अपचलन रोक्न मातहतका डिपो तथा कार्यालयलाई निर्देशन दिएको थियो।

निर्देशनमा जर्किन, ड्रममा पेट्रोल डिजेल बिक्री नगर्न र ठूला सवारीका ट्यांकीमा एक पटकमा सय लिटर मात्रै डिजेल उपलब्ध गराउन भनिएको छ।

तस्करी बढेकै हो त?

निगमको भैरहवा डिपोबाट गत माघदेखि फागुन १७ सम्म ८ हजार ५ सय ४४ किलोलिटर पेट्रोल र ३९ हजार ८९९ किलोलिटर डिजेल बिक्री भएको छ।

उक्त बिक्री गत वर्षको सोही अवधिको तुलनामा बढी हो। गत वर्षको सोही अवधिमा सो डिपोबाट पेट्रोल सात हजार ४३८ किलोलिटर र डिजेल २९ हजार ६६३ किलोलिटर बिक्री भएको तथ्यांक छ।

‘पोहोरको भन्दा बिक्री बढेको छ’, भैरहवा डिपो प्रमुख प्रलयंकर आचार्य भन्छन्, ‘केन्द्रको निर्देशनपछि हामीले बिक्रीमा पनि नियन्त्रण गरेका छौं। सीमा नाकाको पेट्रोल पम्पभन्दा नेपालको पम्पमा सामान्य बिक्री बढेको देखिन्छ।’

व्यवसायीहरू भैरहवाबाट तस्करी नभएको दाबी गर्छन्।  पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वकोषाध्यक्ष एकलख अहमद तस्करी नभएको दाबी गर्छन्।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपाने पनि सामान्य बिक्री बढे पनि तस्करी नभएको बताउँछन्।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech