७ बैशाख २०८१, शुक्रबार

कर्णालीमा हामफालेका चार जनाको शव भेटियो
  • न्युज मानसराेवर

सुर्खेत– कर्णाली नदीमा हामफालेका दैलेखका ५ जनामध्ये थप २ जनाको शव भेटिएको छ।

आज दिउँसो १२ बजेतिर आमा सुकी र उनका छोरा ललितको शव कर्णाली नदीमा भेटिएको घटनास्थलमै रहेका वडा नं. ३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए।

घरेलु हिंसाकै कारण आठबीस नगरपालिका–३ निमायलका एकै घरका ५ जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ ।

कर्णालीमा हामफालेका ५ जनामध्ये ३५ वर्षीया आमा सुनिता (सुकी) बडुवाल, छोरीहरु १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षे छोरा ललितको शव कर्णाली नदीमा भेटिएको हो । कल्पना र सरिताको शव सोमबार नै भेटिएको थियो। ७ वर्षीया छोरी रजनी भने अझै बेपत्ता छन्।

बेपत्ताको स्थानीय, प्रहरी र जनप्रतिनिधिहरुले खोजी गरिरहेका छन्। घरेलु हिंसाकै कारण ४ छोराछोरीसहित आमा सुकीले आत्महत्या गरेको प्रहरीको आशंका छ। यद्यपी घटनाको वास्तविकता खुल्न सकेको छैन ।

आत्महत्या गर्न बाध्य पारेको आरोपमा सुकीका श्रीमान् मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे विस्तृत अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको छ।

 

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech