१६ चैत्र २०८०, शुक्रबार

कोरोनालाई बेवास्ता नगरौं
  • न्युज मानसराेवर

नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको कोरोना भाइरस संक्रमण दर फेरि उकालिन थालेको छ । संक्रमित संख्या झिनो रूपमै बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्छ । समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न ।

खासगरी, पछिल्लो समय भारतमा जुन रूपमा संक्रमितहरूको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामी झक्झकिनुपर्छ । गत वर्ष हामीकहाँ केही भएको छैन र हुँदैन होला भन्दाभन्दै संक्रमण फैलिन पुगेको तथ्य यहाँ हेक्का राख्नुपर्छ । त्यसैले, नागरिकदेखि सरकारसम्म सबैले कोरोनाको दोस्रो लहर फैलिन नदिन स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नु–गराउनु अत्यावश्यक छ ।

मुलुकमा कात्तिक तेस्रो सातादेखि दैनिक संक्रमितको संख्या निरन्तर घट्दो क्रममा थियो । पछिल्लो समय त यो क्रम सयभन्दा तल ओर्लिएको थियो । कुनै बेला ४० हजार नाघिसकेको संक्रिय संक्रमितको संख्या पनि हजारभन्दा तल आइसकेको थियो । त्यस्तै कुनै बेला दैनिक ४० जनाभन्दा बढीको मृत्यु हुने गरेकामा पछिल्ला दिन यस्तो संख्या एकल अंकमा झरिसकेको थियो, कुनै दिन त शून्य नै हुन्थ्यो । एक हिसाबले सरकार र नागरिक दुवै निश्चिन्तजस्ता देखिन थालिसकेका थिए, सायद यही नै भूल भयो । अचानक फेरि संक्रमितको संख्या बढ्न थालेको छ । चैत ३ यता दैनिक संक्रमितको संख्या पुनः सयभन्दा माथि चढ्न थालेको छ । शुक्रबार त १२५ जना नयाँ संक्रमित थपिए । ठीक एक साताअघिको तुलनामा यो संख्या अढाई गुणाले बढी हो । अस्पतालमा गम्भीर बिरामी पनि थपिएको बताइएको छ ।

पछिल्लो तथ्यांकलाई खतराको घण्टीका रूपमा किन बुझ्नुपर्छ भने, छिमेकी भारतका कतिपय राज्यमा एक समय तल झरिसकेको संक्रमण दर फेरि बढेर महामारीले भयावहकै रूप लिइसकेको छ । कुनै बेला लाखको हाराहारीमा दैनिक नयाँ संक्रमित थपिने भारतमा माघ अन्तिमतिर यस्तो संख्या करिब १० हजारमा झरिसकेको थियो । त्यसपश्चात् भने बढ्दै गएर पछिल्लो समय त्यहाँ दैनिक ४० हजार जति संक्रमित भैरहेका छन् । सवा लाख जतिमा झरिसकेको सक्रिय संक्रमितको संख्या अहिले फेरि तीन लाखतर्फ उकालो लागिसकेको छ । संक्रमणकै कारण कतिपय क्षेत्रमा पुनः ‘लकडाउन’, रेस्टुरेन्ट–सिनेमा बन्द, रात्रिकालीन कर्फ्युजस्ता उपाय अपनाउन थालिएका छन् । मास्क नलगाउँदा र व्यक्तिगत दूरी कायम नराख्दा यस्तो अवस्था निम्तिएको विज्ञहरूले बताएका छन् । नेपालमा पनि यस्तो अवस्था आउन नदिनेतर्फ सम्बन्धित सबै सचेत रहनुपर्छ । र, भारतबाट नेपाल आउनेका हकमा स्वास्थ्य मापदण्ड पालनालाई पनि कडाइका साथ लागू गराउनुपर्छ ।

हामी अहिल्यै धेरै अत्तालिहाल्न आवश्यक नहोला, तैपनि सतर्क भने रहनुपर्छ । किनभने, सहर–बजारको भीडभाडदेखि राजनीतिक दलहरूको सभा–समारोहसम्ममा मानिसहरू स्वास्थ्य सावधानीबिनै जसरी निर्धक्क सहभागी भैरहेका छन्, त्यसलाई हेर्दा हामी कोरोना भाइरससँगसँगै जिइरहेका छौं या एउटा विशाल विश्वव्याधिका बीच ‘न्युनर्मल’ तर्फ उन्मुख छौं भन्ने लाग्दैन । यस्ता गतिविधिहरूले हामी जानीनजानी पुनः ‘वल्डनर्मल’ तर्फै फर्किरहेका छौं कि भन्ने भान हुन्छ । समय–समयमा हात धुने वा ‘स्यानिटाइजर’ को प्रयोग गर्ने प्रचलन मात्रै घटेको होइन, मास्क नलगाउने क्रम पनि बढेको देखिन्छ । यसबाट कतै हामी आफैंले महामारीलाई पुनर्निमन्त्रणा दिइरहेका त छैनौं भन्ने प्रश्न उठ्छ । तसर्थ, कोरोनाले बदलिदिएको हाम्रो आनीबानीलाई सम्पूर्ण विश्व सामान्य अवस्थामा नफर्किउन्जेल अविच्छिन्न राखिराख्न आवश्यक छ । हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहितको नयाँ अवस्थासित जति धेरै अभ्यस्त हुन्छौं, त्यति नै नयाँ संक्रमण चक्र सुरु हुने सम्भावना पनि कम हुन्छ ।

त्यस्तै, सरकारले सुस्ताएको खोप अभियानलाई गति दिन पनि उत्तिकै आवश्यक छ, ताकि संक्रमणको दोस्रो लहर सुरु भैहालेमा जोखिममा रहेका समूहहरू प्रभावित हुन नपाउन् । त्यसो त, खोप लगाउँदैमा सम्पूर्ण रूपमा सुरक्षित हुन सकिँदैन भन्ने तथ्य पनि सम्बन्धित सबैले मनन गर्नुपर्छ । अनि, खोप लगाएका वा नलगाएका सबैले मास्क लगाउने, समय–समयका हात धुने या ‘स्यानिटाइजर’ प्रयोग गर्ने र व्यक्तिगत दूरी कायम राख्ने विषयलाई गुरु मन्त्रै मानेर ख्याल गरिरहनुपर्छ । हाम्रो आफ्नै लापरबाही संक्रमण फैलिने कारक बन्नु हुँदैन ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech