११ बैशाख २०८१, मंगलवार

खाइ नसक्नु भो खाने तेल
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  विदेश निर्यात गर्न थालेपछि खाने तेलको मूल्य अचाक्ली बढेको छ। त्यसमा पनि नेपालीको भान्सामा बढी प्रयोग हुने भटमास र सूर्यमुखी तेलको मूल्य छोइ नसक्नु भएको छ।

चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा प्रतिलिटर १४० देखि १६० रुपैयाँसम्म रहेको खाने तेलको मूल्य अहिले २२० देखि २३५ रुपैयाँसम्म पुगेको छ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यका अनुसार हाल भटमासको तेलको खुद्रा मूल्य प्रतिलिटर २२० रुपैयाँ छ भने सूर्यमुखी तेलको खुद्रा मूल्य प्रतिलिटर २३५ रुपैयाँसम्म पुगेको छ। गत मंसिर अन्तिम सातासम्म भटमास तेलको खुद्रा मूल्य प्रतिलिटर १५० रुपैयाँ र सूर्यमुखी तेलको १५५ रुपैयाँ थियो।

केही महिनायता भटमास र सूर्यमुखी तेलको माग विदेशमा बढेपछि त्यसको मार आन्तरिक उपभोक्तालाई परेको जानकारहरु बताउँछन्। बजारमा माग बढेपछि उद्योगीले मूल्य बढाएका छन्। उद्योगबाट विभिन्न तह हुँदै उपभोक्ताको भान्सासम्म आइपुग्दा खाइ नसक्नु भएको छ खाने तेल।

मूल्य बढेको गुनासो आएपछि नियमनकारी निकायले बजार अनुगमन नगरेको पनि होइन। अनुगमनका क्रममा कच्चा पदार्थको मूल्य बढेका कारण खाने तेल महँगिएको निष्कर्ष आएको वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बताउँछ। ‘उद्योगीले त्यही (कच्चा पदार्थको मूल्य बढेको) कारण भने। निर्यात बढ्नु पनि एउटा कारण हुन सक्छ। तर के गर्नु ! हाम्रो कानुनले निर्यात रोक्न मिल्दैन,’ विभागका प्रवक्ता शिवराज सेढाईंले भने।

भन्सार विभागका अनुसार चालू आवको साउनदेखि फागुनसम्म २४ अर्ब १२ करोड ३२ लाख रुपैयाँबराबरको खाने तेल निर्यात भएको छ। यो परिमाण गत आवको सोही अवधिको तुलनामा करिब ३ गुणा बढी हो। गत आवको साउनदेखि फागुनसम्म ७ अर्ब ५५ करोड ८२ लाख रुपैयाँबराबरको खाने तेल निर्यात भएको थियो।
खुद्रा व्यापार संघका अनुसार नेपाली बजारमा सबैभन्दा बढी भटमास तेलको माग छ। निर्यातमा पनि यही तेलको हिस्सा बढी देखिन्छ।

चालू आवको साउनदेखि फागुनसम्म भटमासको तेल २३ अर्ब १२ करोड ६९ लाख रुपैयाँबराबरको निर्यात भएको छ। गत आवको सोही अवधिमा भटमासको तेल ७ अर्ब ५४ करोड ९७ लाखको निर्यात भएको थियो।

आवको पहिलो आठ महिनामा सूर्यमुखी तेल भने ९९ करोड ६३ लाख रुपैयाँको भएको छ। गत आवको सोही अवधिमा ८५ लाख १० हजारको निर्यात भएको थियो।
नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा भारतले ओगट्छ। अन्य देशबाट आयात गर्दा वा निर्यात गर्दा पनि भारतकै माध्यमबाट हुने गरेको छ।

चालू आवको पहिलो आठ महिनामा भटमासको तेल सबैभन्दा बढी भारतमै निर्यात भएको तथ्यांक छ। निर्यात बढेपछि भारतले भटमासको तेलको उत्पत्तिको प्रमाणपत्र अर्थात् ओरिजिन अफ सर्टिफिकेट खोजेको सरकारी अधिकारीहरुले बताएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार भारतले भटमास तेलको ‘ओरिजिन अफ सर्टिफिकेट’ खोजेपछि त्यसबारे छलफल सुरु भएको छ। भारतले भटमास तेलको उत्पादक खोज्दै परराष्ट्र मन्त्रालयमार्फत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेको उनले जानकारी दिए।

यसअघि पनि भारतले ओरिजिन अफ सर्टिफिकेटको कारण देखाउँदै अदुवा र पाम आयलको निर्यात रोकेको थियो। गत वर्ष नेपालबाट अत्यधिक निर्यात हुने वस्तुको सूचीमा पाम आयल परेपछि भारतले यसको आयातमै प्रतिबन्ध लगाएको थियो।

चाखलाग्दो कुरा त के छ भने खाने तेल निर्यात गर्ने नेपाल यसका लागि कच्चा पदार्थ भने आयात गर्छ। उद्योगीहरुले विभिन्न मुलुकबाट भटमास तथा सूर्यमुखी आयात गर्छन् र तेल उत्पादन गरेर निर्यात गर्छन्।

चालू आर्थिक वर्षको आठ महिनामा नेपालले २७ अर्ब रुपैयाँभन्दा बढीको भटमास र सूर्यमुखी आयात गरेको छ। भन्सार विभागका अनुसार यो अवधिमा भटमास तेलको कच्चा पदार्थ २५ अर्ब ४२ करोड ७४ लाखको र सूर्यमुखी तेलको कच्चा पदार्थ २ अर्ब १ करोड ६ लाख रुपैयाँबराबरको आयात भएको छ।

खाने तेलको निर्यातमा आएको अहिलेको उछाललाई वैदेशिक व्यापारका जानकारहरु ‘खहरे खोला’ को संज्ञा दिन्छन्। नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक नरबहादुर थापा भन्छन्– निर्यात बढेको देखेर उत्साहित हुनु पर्दैन। आयात–निर्यातको सन्तुलन मिलाउन स्वदेशमै उत्पादन बढाउनुपर्छ।

 

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech