८ बैशाख २०८१, शनिबार

गल्ती सच्याउने प्रण गरौं : नयाँ वर्ष
  • न्युज मानसराेवर

बाँके बैजनाथ । हामीले अपनाउँदै आएको विक्रम संवत्‌को एउटा सौन्दर्य के भने ऋतुहरूमा श्रेष्ठ मानिने वसन्तयामको ठीक बीचमा नयाँ वर्ष सुरु हुन्छ । कोभिड–१९ विश्वव्याधिका कारण पोहोरजस्तै यसपालि पनि उल्लासको माहोल कम भए पनि नयाँ वर्षको यो दिन हामी नेपालीका लागि नवीन संकल्प गर्ने शुभ अवसर भने पक्कै हो ।

जसरी, अहिले पुराना पात झरेका बोटबिरुवाहरूले नयाँ पालुवा हालेर प्रकृतिको सुन्दरता बढाएका छन्, त्यसैगरी हामी पनि विगतका गल्तीहरू सच्याउँदै नयाँ प्रणका साथ अघि बढ्नुपर्नेछ । अनि देश र जनतालाई उँभो लगाउनुपर्नेछ । नयाँ क्यालेन्डरको पहिलो पाना पल्टाइएको आजको अवसरमा यस्तो प्रतिबद्धता सरकार र नागरिक दुवैले गर्नुपरेको छ ।

सर्वप्रथम त, हामीले कोभिडको वर्तमान संकटसितै मुकाबिला गर्नुपर्छ । अघिल्लो नयाँ वर्ष २०७७ लाई स्वागत गर्दै–नगर्दै विश्वले महामारीको जुन संकट झेलिरहेको थियो, आज पनि त्यो अवस्था कायमै छ । हामी यो समस्याबाट प्रत्यक्ष प्रताडित छौं । २०७७ सुरु हुँदासम्म मुलुकमा कोभिडबाट मानवीय क्षति भइसकेको थिएन, तर यसबीचमा ३ हजारभन्दा बढीको ज्यान गएको छ । बीचमा सुस्ताएको संक्रमण दर फेरि बढिरहेको छ । नेपालसित खुला सीमा भएको भारतमा त यो दर तीव्र रूपमै अकासिरहेको छ, जुन हाम्रा लागि चिन्ताको विषय हो । पछिल्लो समय मुलुकमा ज्यान जानेको संख्या पनि पुनः बढिरहेको अवस्थामा सरकारले संक्रमणसित जुध्न चुस्त कार्ययोजना बनाउनुपर्छ । यसका निम्ति हिजो ‘क्वारेन्टिन’ व्यवस्थापनदेखि ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्मका कार्यहरूमा जे–जे कमजोरी देखिए, तिनलाई सुधार्ने तत्परता सरकारी संयन्त्रहरूमा चाहिएको छ ।

संक्रमण बढ्दै गएर दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्ने प्रक्षेपण त स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नै सुनाइसकेका छन् । अस्पतालका सघन उपचार कक्षमा अहिल्यै चाप बढ्न थालिसकेको छ । गत वर्ष पूर्वाधारमा केही सुधार भए पनि ती पर्याप्त छैनन् भन्ने तथ्य यसअघि संक्रमण उच्च बिन्दुमा पुगेका बेला देखिएको भयावह अवस्थाले नै पुष्टि गरिसकेको छ । त्यसैले अबका दिनमा यो पक्षमा सुधार गर्नुपर्नेछ । जसरी हुन्छ, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले युद्धस्तरमा काम गर्नुपर्नेछ । संक्रमणको जोखिममा रहेकाको पहिचान र परीक्षणदेखि संक्रमितको उपचारलगायतका कार्यमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिहरूलाई स्रोत–साधनले सम्पन्न तुल्याई तिनको मनोबल उच्च राख्ने कार्यमा सरकार सफल हुनुपर्नेछ । कोभिडविरुद्धको खोप अभियानलाई पनि तीव्र बनाउनुपर्नेछ । अहिले देखिएको जोखिमको ज्वरोलाई तल ओराल्ने भनेकै सरकारको इच्छाशक्ति र व्यवस्थापन कौशलको औषधिले नै हो ।

जारी महामारीले सरकारलाई मात्र होइन, कति पाठ नागरिकलाई पनि सिकाएको छ । खासगरी, यतिबेला सबैजना महाव्याधिपछिको ‘न्यु नर्मल’ मा अभ्यस्त हुनुपर्ने हो । तर, यसबीचमा के देखियो भने हामी जानी–नजानी ‘वल्ड नर्मल’ मै फर्कन खोज्यौं । सारा विश्वलाई आक्रान्त तुल्याएको रोगलाई पनि खेलाँची ठान्यौं । न मास्क लगायौं, नयाँ समय–समयमा हात धोयौं, न त एकअर्कामा व्यक्तिगत दूरी नै कायम राख्यौं । मुख्यतः राजनीतिक दलहरूले नै बाटो बिराए । विभिन्न जुलुस र सभा–समारोहका नाममा जनस्वास्थ्यका मापदण्डहरूको धज्जी उडाए । त्यसैको परिणामस्वरूप, एकपल्ट निकै ओर्लिसकेको संक्रमण दरको पारो फेरि माथि चढेको हो । यो आम बानीलाई अबका दिनमा बदल्ने र स्वास्थ्य मापदण्ड पालना गर्ने प्रण पनि आज गर्नैपर्छ ।

सबै कुरालाई ठीकठाक राख्न तथा व्यवस्थापकीय कौशल देखाउन राजनीतिक नेतृत्वसित इच्छाशक्ति र कार्यक्षमता दुवै हुनुपर्छ । विडम्बना भन्नुपर्छ, यसबीचमा राजनीतिक नेतृत्वको मूल ध्यान सत्ताभन्दा बाहिर देखिएन । जनताको पीरमर्का बुझ्नभन्दा पनि सरकार आफ्नै कुर्सीको पेचकिला कस्न नै उद्यत रह्यो । यही कारण, सजिलै व्यवस्थापन गर्न सकिने कतिपय कुरामा पनि हामी नराम्ररी चुक्यौं । अरू त के कुरा, राज्य सञ्चालनको मूलआधार संविधानमाथि नै स्वयम् सरकारबाट प्रहार भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिदिए । भलै, सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएकाले देश थप दुर्घटनामा जानबाट जोगियो । त्यस्तै, यसबीचमा संसद्लाई पनि राम्ररी चल्न दिइएन । संसद्को अघिल्लो अधिवेशनलाई पूरा चल्न नदिएर हठात् अन्त्य गरिदिएको सरकारले जारी हिउँदे सत्रलाई पनि प्रभावकारी बनाउन चाहेको छैन । र, यी सबैप्रति प्रमुख प्रतिपक्षी कांग्रेसलगायतलाई समेत खासै जिम्मेवारीबोध भएको पाइँदैन । कतिपय प्रसंगमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि विवादास्पद रह्यो । त्यसैले अबका दिनमा सत्ता र प्रतिपक्ष दुवैमा राज्यका अंगहरूलाई सक्रिय र प्रभावकारी ढंगले चलाउने चेतना पलाउन पनि जरुरी छ ।

यसका अतिरिक्त, कोरोनाका कारण संकटमा धकेलिएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नेतर्फ सरकारले पाइला चाल्नुपर्नेछ । नियमित रोजगारी नभएका तथा स्वरोजगार हुन नसकेकाहरूको समस्यालाई कुनै न कुनै रूपमा समाधान गर्नुपर्नेछ । रोजगारी सिर्जनालाई बजेट र नीतिमा मात्र सीमित नराखी व्यवहारमै उतानुपर्नेछ । वैदेशिक रोजगारीबाट फर्किएकाको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेछ । खासगरी, गत वर्षजस्तो ऋणपान गर्दा पनि जीविका चल्न गाह्रो भएर पुनः ‘भारतिनु’ पर्ने अवस्थाको अन्त्य गर्नुपर्नेछ । यस्तो दुरवस्थालाई घटाउँदै लानका निम्ति आजैबाट पाइला चाल्नुपर्नेछ ।

सरकारले दीर्घकालीन कामको प्राथमिकीकरण पनि गर्नुर्पर्नेछ । शासन संयन्त्र तथा राज्य–संस्थाका भ्वाङहरूलाई महामारीले छ्याङ्गै देखाइदिसकेको छ । आजका दिन नीति–निर्माता तथा निर्णयकर्ताहरूले तिनै भ्वाङहरू टाल्ने र नयाँ प्वाल पर्न नदिने वाचा गर्नुपर्छ । अबको सरकारी प्राथमिकता व्यावहारिक रूपमै कृषि, स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनमा हुनुपर्नेछ । कृषिको स्तरोन्नति गरी खाद्यान्नको परनिर्भरता अन्त्य गर्नेतर्फ पाइला चाल्नुपर्नेछ, रैथाने खाद्य संस्कृतिको जगेर्ना गर्नुपर्नेछ । सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणालीलाई मजबुद बनाउनुपर्नेछ । महामारीका समयमा वैकल्पिक माध्यमबाट पठनपाठनमा सबैको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अघि सार्नुपर्नेछ । मुख्य सवाल, शासन संयन्त्रमा बस्नेहरूले ‘मित्रमण्डली’ हरूको लक्ष्मणरेखा पार गरेर आम नागरिकबारे सोच्नैपर्छ । समग्रमा हामी सबैले हिजो भएका गल्तीहरूबाट पाठ सिकेर नेपाल र नेपालीको समुन्नतिका लागि कदम अघि बढाउनुपर्नेछ । यही कर्तव्यबोध तथा समय चेतनाका लागि, सबैलाई नयाँ वर्ष २०७८ को शुभकामना !

  • १ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech