२६ बैशाख २०८१, बुधबार

२०७७ का पुस्तक : महामारीको अनुभूतिदेखि संघीयताको चिरफारसम्म
  • न्युज मानसराेवर

कोरोना महामारीका कारण वर्ष २०७७ साहित्यिक पुस्तकको बजार पनि उर्वर बन्न सकेन। सिर्जनाचाहिँ रोकिएन। विगतमा जस्तै यस वर्ष पनि संस्मरण, आख्यान, निबन्ध र फुटकर कविताका कृति प्रकाशित भए।

अर्थराजनीतिसँग सम्बन्धित केही पुस्तक पनि बजारमा नआएका होइनन्। तर पाठकको मन छुने कृति भने थोरै मात्र लेखिए। उम्दा खालका पुस्तक थोरै मात्र प्रकाशित भए। पुस्तक प्रकाशनमा विगतमा जस्तै संघीय राजधानीसँग पहुँच हुनेको वर्चस्व रह्यो। वर्ष २०७७ मा कस्ताकस्ता कृति प्रकाशित भए त? प्रस्तुत  छ केही पुस्तकको सामान्य परिचय :

विकास विसंगतिमाथिको आत्मसमीक्षा : एक ज्यान दुई जुनी

देवेन्द्रराज पाण्डे ९८१० निजामती सेवामा सचिवको पदसम्म पुगेर ४० वर्षको उमेरमै अवकाश हुने ‘भाग्यमानी’ हुन्।सरकारी जागिर छोडेर पञ्चायतको कट्टर आलोचक बनेका पाण्डेले ४६ सालको राजनीतिक परिवर्तनपछि केही समय अर्थ मन्त्रालयको नेतृत्व सम्हाले। उनै पाण्डेको आत्मसमीक्षात्मक कृति ‘एक ज्यान दुई जुनी’ पनि यसै वर्ष प्रकाशित भयो।

‘जीवनको उत्तरार्धमा आइपुग्दा आफ्नो विगतबारे आत्मसमीक्षा गर्न मन लाग्यो, एकपल्ट आफैलाई खोतल्न मन लाग्यो। यसै क्रममा पुस्तक तयार भएको हो,’ पाण्डेले भनेका छन्।

आफ्नो आठ दशकको जिन्दगी चालीस–चालीस वर्षमा विभाजित भएको बताउने पाण्डेको पुस्तकको शीर्षक नै ‘एक ज्यान दुई जुनी’ छ।

१८–१९ वर्षको उमेरमा शाखा अधिकृतबाट जागिर सुरु गरेर ४० वर्षमा सचिवबाट अवकाश पाएका पाण्डेको जीवनी रोचक तथा पठनीय छ। पुस्तकमा पाण्डेको बाल्यकाल र परिवारका कुरा छन्। तिनले नयाँ पुस्तालाई समकालीन समाजको एउटा कालखण्डको चिनारी दिनेछ।

पुस्तकमा केही विषय नौला पनि छन्। उनले आफूलाई असफल कर्मचारी बताएका छन् किनभने जागिर खाएर पेन्सन नपकाउने कर्मचारी कसरी सफल हुन्छ त ? तर निजामती सेवामा प्रवेश गरेर छोटो समयमा सचिव भई अवकाश पाउनु असफलचाहिँ होइन। पुस्तकमा यी विषयको पृष्ठभूमिमा कर्मचारी प्रशासन र नेपालको सामाजिक इतिहास प्रस्तुत भएको छ।

राजनीति, विकास, राजा, पछिका नेताहरू, गणतन्त्र जस्ता विषयबारे पनि पाण्डेले विश्लेषण गरेका छन्। विकासका निम्ति नभइनहुने उपयुक्त राजनीतिक व्यवस्था, प्रणाली, संस्थागत संरचना निर्माण होस् भन्ने ध्येयमा पाण्डे व्यक्तिगत तथा संस्थागत रुपमा लागे। उनको जीवनका यिनै भोगाइ पुस्तकमा लिपिबद्ध छन्। जसलाई उनले आत्मवृत्तान्त होइन, आत्मसमीक्षा भनेका छन्।

प्रयोगात्मक उपासना काव्य :  प्रिय मौनता

साहित्यकार नेत्र एटमको ‘प्रिय मौनता’ उपासना कविताको सङ्कलन हो। ‘प्रिय मौनता’ मा पाँच खण्डमा फरकफरक विषयका कविता संकलित छन्।

प्रणयका प्यासन खण्डमा प्रेमको विषयले महत्त्व पाएका कविता छन् भने प्रमुदित प्रकृति खण्डमा चाहिँ प्रकृतिसित सम्बन्धित कविता छन्। अभीप्साको उद्बोधन खण्डमा राजनीतिक, लैंगिक आदि आलोचनात्मक विषयका कविता छन्। स्मृतिको क्याराभान खण्डमा चाहिँ नोस्टाल्जियालाई विषय बनाइएको छ।

उपासनाको आलोचक खण्डमा बौद्धिक र दार्शनिक कविता छन्। जीवनलाई एउटै बाटोमा हिँडेर रित्तिएको अनुभूत हुन थालेको पाठकलाई कविताले आन्तरिक ऊर्जा दिन सक्ने कविको दाबी छ।

नारी आत्मसम्मान र आत्मनिर्णयको कथा : फिलिङ्गो

समसामयिक लेख, कथा र निबन्ध लेखनमा सक्रिय प्रभा बरालको फिलिङ्गो पहिलो उपन्यास हो। प्रस्तुत उपन्यास महिलाको आत्मसम्मान र आत्मनिर्णयको विषयमा आधारित छ।

वैवाहिक सूत्रमा आबद्ध भएपछि पुरुषले समझदारी र समानताका नैतिक पर्खाल किन निर्धक्कसँग नाघ्छ? उसलाई यो छुट कसले दियो? त्यही पर्खाल महिलाले नाघ्दा ऊमाथि किन बाइफाले र अझै निकृष्ट शब्दको ट्याग भिराइन्छ? महिलाले सधैं अन्याय, अत्याचार, विभेद, दमन र हिंसा सहिरहनुपर्ने हो? सदीयौंदेखिको विभेदलाई महिलाले प्रश्न गर्न पाउने कि नपाउने? यिनै गम्भीर र सामयिक प्रश्नहरूको उत्तर फिलिङ्गोमा खोजिएको छ।

उपन्यासको परिवेश जापान र नेपाल रहेको छ। दुवै देशका विभिन्न सांस्कृतिक सन्दर्भ उपन्यासमा पाउन सकिन्छ। यस्तै उपन्यासले सत्ता र शक्ति संघर्षको कुरालाई प्रतिनिधित्व गरेको छ– जुन पितृसत्तासँग नारीले गर्नुपरेको संघर्षमा आधारित छ।

महाभारतको उत्खनन् : विवर्तन

दुई दशकदेखि प्राध्यापनमा आबद्ध टेकनाथ दहालको पहिलो उपन्यास हो ‘विवर्तन’। ‘विवर्तन’ शब्द वेदान्त दर्शन र भर्तृहरिको शब्द दर्शनमा पनि एउटा विशिष्ट अर्थमा व्यक्त भएको छ। वेदान्तले चराचर जगत्लाई अनिर्वचनीय ब्रह्मको विवर्त मान्छ भने भर्तृहरि शब्दब्रह्म नै अर्थ रूपमा विवर्तन भएको मान्यता राख्छन्।

विवर्तनको अर्थ हुन्छ– भिन्न स्वरूपमा परिवर्तन हुनु अर्थात् दूध दहीमा परिवर्तन भएजस्तै। दूधबाट दही बन्छ तर एउटै गोरस भए पनि दूध र दहीमा अन्तर छ। त्यसैको लाक्षणिक अर्थमा उपन्यासको कथा बुनिएको हो।

उपन्यास महाभारतको कथामा आधारित छ। जैविक रूपले पाण्डव पाण्डुका छोरा नभए पनि महाभारतप्रति आस्था भएका तमाम पाठक पाण्डवलाई पाण्डुकै नामबाट चिन्छन्। ‘विवर्तन’ मा महाभारतमा व्यासले वर्णन गर्न नभ्याएका कतिपय ससाना सन्दर्भ परिकल्पना गरिएको छ। यसमा नारीको सहनशीलताको वर्णन मात्र छैन, पुरुषको त्यागको पनि उत्तिकै चर्चा छ। उपन्यासमा ग्रामीण भेगमा प्रचलित लोकविश्वासले पर्याप्त स्थान पाएको छ।

स्वदेशी तथा विदेशी नेपालीको भोगाइ : मुन्नी

पोस्तक श्रेष्ठको पहिलो कृति हो ‘मुन्नी’ कथासंग्रह। यसमा नेपालदेखि अमेरिकासम्मका नेपालीको जीवन भोगाइका विविध विषयमा आधारित कथा संकलित छन्।

‘मुन्नी’ कथासंग्रहको विषयवस्तुमा विविधता छ। कथा र पात्रमा विविधता छ। धेरैजसो कथामा प्रेम मूल विषयवस्तु भए पनि समाजका विभिन्न पक्ष समेटिएका छन्— द्वन्द्व, छुवाछुत, महिला विभेद, मनोविज्ञान आदि। ती कथा स्वदेश र विदेशमा बस्ने नेपालीका विभिन्न जीवन भोगाइसँग सम्बन्धित छन्।

केही कथा विशुद्ध नेपाली भूमिकै छन्। केही कथाका पात्र नेपाल–अमेरिका ओहोरदोहोर गरिरहन्छन् र कथा पनि यी दुई देशबीच उडिरहन्छन्। एकाध कथा पूर्ण अमेरिकी पृष्ठभूमिका छन्। तर पात्र सबै नेपाली मूलकै छन्।

छोरीलाई संसार चिनाउने :  अमोहा

एक दशकदेखि जापानमा रहेका क्लिनिकल मनोविद् विजय ज्ञवालीको निबन्धसंग्रह हो, ‘अमोहा’। छोरीलाई सम्बोधन गरी लेखिएको यो पुस्तकले पिताको मनोभावनाको पनि प्रतिनिधित्व गरेको छ। छोरीलाई संसारसित परिचित गराउन बुवाले लेखेका पत्र यो पुस्तकको मूल विषय हो।

पुस्तकमा दैनिक जीवनका ससाना प्रसंग समावेश छन्। यसमा रहेका ५१ वटा शीर्षकभित्र जीवनका सबै रङ पाइन्छन्।

छोरीले जीवनमा स्वतन्त्र, खुसीपूर्ण र स्पष्ट जीवन बिताओस् भन्ने बुवाको चाहना पुस्तकमा झल्किएको छ। पिता बनेको पुरुषको मिश्रित अनुभूति छ।

पुरुष मन धेरै चर्चा नहुने विषयवस्तु हो। एउटा पुरुष जब पितामा रुपान्तर हुन्छ त्यसबेलाको मनोविज्ञान पुस्तकमा पढ्न पाइन्छ।

नारी यौन स्वतन्त्रताको आवाज : उठ तिलोत्तमा

साहित्यकार शशी थापा पण्डितकोे ‘उठ तिलोत्तमा’  ७७ सालमै प्रकाशित कथासंग्रह हो। संग्रहमा नेपाली समाज, परिवेश र सांस्कृतिक विषयमा आधारित कथा छन्। यी कथाले यसअघि सुनिँदै पढिँदै आएका मिथकको चुरोसम्म पुगेर केही नयाँ कुरा दिन खोजेका छन्।

अधिकांश सन्दर्भ नारीको यौनजीवनसँग सम्बन्धित छन्। वैदिक कालीन समाजका नारी र आजको नारी, त्यस बेलाको स्वतन्त्रता अझ यौनलाई हेर्ने दृष्टि र आजको परिवेशले यसमा स्थान पाएको छ। नियोग प्रथा र आजको समाजलाई तुलनात्मक रुपले उठान गर्नु कथाकारको अर्को विशेषता हो। केही विषयवस्तु कोरोनाकालका पनि छन्।

केही कथा मिथकीय र पौराणिक सन्दर्भका छन्। केही कथाले नारी स्वतन्त्रताका पक्षमा वकालत गरेका छन्। त्यसमा पनि यौन स्वतन्त्रतालाई विशेष महत्त्व दिइएको छ।

डोल्पाली भुइँमान्छेको कथा : कोग्ले

सामाजिक अभियन्ता प्रेमबहादुर बोहरा यो वर्ष साहित्यकारका रुपमा उदाए। उनको पहिलो संस्मरणात्मक कृति हो ‘कोग्ले’।

कोग्ले आत्मसंस्मरणात्मक पुस्तक हो। डोल्पाली समाजमा जन्मिएको एउटा युवकले भोगेको समाज, त्यो समाजभन्दा बाहिरको अनुमान, सहरी जीवनशैली र डोल्पाभन्दा बाहिरको दृष्टिकोण यसमा छ।

कृतिभित्र बाल्यकालका रमाइला किस्सा, स्कुल पढ्नका लागि गर्नुपरेको संघर्ष, एसएलसीपछि सहरमा रुमल्लिएको क्षण मात्र होइन, सहरबाट हेर्दा देखिएको कर्णालीको चित्र पनि छ।

बाल्यकालमा नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनी देखेको सपनाको दस्तावेज पनि हो, कोग्ले।

पुस्तकमा लेखकको पुस्ताको डोल्पाको दृष्टिकोण प्रभावकारी रुपमा प्रस्तुत गरिएको छ। अरुले भोगेका कथा पनि आएका छन्।

कोरोना कहरको संस्मरण : लकडाउन

सागर गैरेको ‘लकडाउन’ मूलतः संस्मरणात्मक निबन्ध संग्रह हो। यसमा ४१ वटा निबन्ध संग्रहित छन्। अधिकांश निबन्ध स्मृतिमा आधारित छन् भने केही समकालीन विषयवस्तुमा लेखिएका छन्।

महामारीका कारण जीवनको गति नै एकाएक खलबलिन पुग्यो। एकैनासको दिनचर्या खल्लो भयो । तनावपूर्ण र बोझिलो समय काट्न साह्रै कठिन भइरहेका बेला लेखक गैरेले बाल्यकालका साथी सम्झिए, स्कुल र शिक्षकलाई सम्झिए। गोठाले जीवन र घाँसदाउरा गरेका जंगल सम्झिए।

ती परिवेशमा बितेको बाल्यकाल, बुवाआमा र दिदीभाइसँग बिताएको समय सम्झिए। तिनै विषयवस्तु ‘लकडाउन’ कृतिमा समेटिएका छन्।

सीमा पीडाको कथा : सिमाना

वर्ष २०७७ प्रकाशित अर्को कृति हो, महानन्द ढकालको मुक्तक संग्रह सिमाना। ‘सिमाना’ मा देशको सिमानाकै कुरा छन्। राष्ट्रियताका कुरा छन्। स्वाभिमानका कुरा छन्।

त्यति मात्रै होइन, हरेक कुरामा सीमा हुन्छ। सीमा पार गर्नेप्रति सचेत हुन आग्रह गरिएका कुरा छन्।

प्रेमिल विषयवस्तुदेखि देश खान खोज्नेप्रति आक्रोश पोखेका कुरा पनि यसमा छन्। सबैलाई उपयुक्त हुने विषवस्तु छन् ‘सिमाना’ मा।

कृतिले सीमा समस्यालाई पनि राम्ररी उजागर गरेको छ। लेखक आफू पनि सीमा जोडिएको जिल्लाको बासिन्दा भएकाले आफ्नै अनुभव कृतिमा समेटेका छन्। सीमामै पुगेर विमोचन गरिएको यो कृति सीमाकै लागि लेखिएको लेखकको दाबी छ।

मानवीय मूल्यमा पुगेको चोट : फुलाङ्गे 

दार्जिलिङमा जन्मिएका लेखनाथ छेत्री कालेबुङमा बसेर पत्रकारिता र अनुवादमा सक्रिय छन्। यस वर्ष उनको उपन्यास ‘फुलाङ्गे’ प्रकाशित भएको छ।

भारत स्वतन्त्र भएको दशकतिर नेपालका कतिपय क्षेत्रमा विधवा बिहे असामाजिक मानिन्थ्यो। विधवासँग बिहे गरिसकेपछि सामाजिक लाञ्छनाबाट बच्न भारत पसेको एक दम्पती जसको पछिल्लो पुस्ताको दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनको भुमरीमा परेको अुनभव फुलाङ्गेमा उतारिएको छ।

सुवास घिसिङको अगुवाइमा दार्जिलिङले लडेको त्यस हिंसात्मक आन्दोलनको बृहत् स्वरूप अथवा डिस्कोर्स खोज्नेहरूका लागि त यस उपन्यासमा निराशाबाहेक केही पनि हात लाग्दैन।

मूलधारमा विचारधाराहीन आन्दोलन चलिरहेका बेला तल्लो तहको सामाजिक मनोविज्ञानमा यसले कस्तो किसिमको असर छोड्छ, उपन्यासका साधारण चरित्रमार्फत त्यसलाई अध्ययन गर्ने कोसिस गरिएको छ। समग्रमा फुलाङ्गे सामान्य चरित्रको तहबाट आन्दोलनलाई हेर्ने एउटा झ्याल हो।

संघर्षको नकारात्मक पक्षका अध्ययनले हामीलाई सकारात्मक बाटोतिर जान प्रेरित गर्छ। फुलाङ्गे त्यही संघर्षको नयाँ स्वरूपको खोजी हो।

माटोको माया, प्रकृतिचित्रण र वर्गीय पीडाको गीत : मानसोच्छलन

साहित्यकार हरिशरण ढुङ्गानाको यस वर्ष ‘मानसोच्छलन’ कवितासंग्रह प्रकाशित भयो। संग्रहमा संकलित कविताले मनभित्र तरंगित भावावेगको सँगालोलाई उतारेका छज् । कविता हाडे ओखरभित्रको गुदीजस्तै कोमल छन्।

अधिकांश कवितामा विकृति र विसंगतिबाट मुक्त समाजको परिकल्पना गरिएको छ।

यसमा स्वदेशी माटोको माया, प्रकृतिचित्रण, निम्न वर्गीयले भाग्नुपरेका पीडाको अभिव्यक्ति पाइन्छ। त्यसैले विषयगत विविधतामा रचिएका कविताको संग्रह हो ‘मानसोच्छलन’।

केही कवितामा परमुखापेक्षी नेपाली संस्कृतिप्रति व्यंग्य गरिएको छ। त्यसैले यो समकालीन समाजको बुलन्द आवाजलाई काव्यिक रुप दिइएको कृति हो।

ज्ञानसंकथन र साहित्येतिहास : मार्क्सवाद र साहित्येतिहास दर्शन

साहित्यको इतिहास विषयक चिन्तनमा संलग्न डा। बालाकृष्ण अधिकारीले यस वर्ष ‘मार्क्सवाद र साहित्येतिहास दर्शन’ कृति प्रकाशित गरे।

साहित्यको इतिहास कसरी लेख्ने, साहित्यको इतिहासका अन्तर्वस्तु र रूपको संयोजन कसरी गर्ने तथा साहित्येतिहासको विश्लेषण कुनकुन आधारमा केकसरी गर्ने भन्ने सन्दर्भ यसमा उठाइएको छ।

विषयवस्तुका दृष्टिले यो अहिलेसम्म लेखिएका साहित्येतिहास दर्शनसम्बद्ध कृतिभन्दा नितान्त नयाँ र भिन्न छ। पुस्तकमा मार्क्सवादी ज्ञानसंकथनका आधारमा साहित्येतिहाससम्बन्धी अधिरचनालाई सृष्टि, विकास, विस्तार/फैलावटको विकासवादी नियमका सापेक्षमा वैचारिक, सैद्धान्तिक र पद्धतिगत स्वरूप प्रदान गरिएको छ।

प्यास र भोक जगाउने : कथाहरूको बाकस

उत्प्रेरणात्मक लेखक तुलसी निरौलाको कृति हो कथाहरूको बाकस। यसमा १११ वटा शिक्षामूलक कथा छन्। यी कथा जीवन, शिक्षा, सफलताजस्ता विषयमा केन्द्रित छन्। यो कृति प्रश्न, कथा र समाधानका आधारमा केही सिर्जनशीलता थपेर रचना गरिएको हो।

प्रत्येक मानिस ईश्वरको एक अवतार हो। त्यो अवतारको आफ्नै कथा हुन्छ। त्यस्ता कथा वेद, पुराण, रामायण, महाभारतमा परिणत हुन्छन्। तिनै कथा सुन्ने–सुनाउने एक कोसिस हो प्रस्तुत पुस्तक। साथै, यसमा जीवनका सबै आयामलाई समेट्न कोसिस गर्दै कथाका माध्यमबाट सही सोच र चेतनाको विस्तार गर्न खोजिएको छ।

पत्रकारको बकपत्र : मोसो 

सूर्यप्रकाश कँडेलको पहिलो साहित्यिक कृति ‘मोसो’ यसै वर्ष बजारमा आयो। ‘मोसो’ उपन्यासको नायक पत्रकार हो। तर ऊ कुबाटोमा हिँडेको छ। उसले पत्रकारिता आचारसंहिता उल्लंघन गरेको छ।

यसबाहेक महिला हिंसा, ज्येष्ठ नागरिकको व्यथा, युद्धको पीडा पनि उपकथाका रुपमा आएका छन्। यिनै कथा र उपकथा अनुरुपका चरित्र उपन्यासभित्र छन्।

‘मोसो’ भित्र पत्रकारिता क्षेत्रको खराब पक्षलाई उजागर गरिएको छ। यसको मुख्य सन्देश श्रमजीवी पत्रकार इमानदार भई काम गरेर परिवार पाल्न सक्ने हैसियतमा पुग्नुपर्छ भन्ने हो। साथै, पत्रकारिताभित्र देखापरेका विकृति हटाउने पहल आवश्यक छ भन्ने पनि हो।

ऐतिहासिक तर्कको खण्डन : नेपाल विद्या

‘नेपाल विद्या’ अनुसन्धानमूलक कृति हो। लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन गर्दा नेपालबारे थुप्रै तथ्य फेला परेको दाबी छ, अनुसन्धानकर्ता केदार वाशिष्ठ (भट्टराई) को।

प्राचीन कालदेखिको नेपाल काठमाडौं उपत्यका कि त्यसबाहिरको भूक्षेत्र पनि हो? नेपाल जातीय हो कि भौगोलिक नाम हो? किरात र लिच्छविका अध्ययन क्षेत्र कस्ता छन्? नेपालका बासिन्दा र तिनले बोल्ने भाषा कसरी र कहिलेदेखि नेपाली नै हो? यी र यस्ता थुप्रै प्रश्नको जवाफ पाइन्छ ‘नेपाल विद्यामा।’

वाशिष्ठको कृति नेपाल विद्या आफैंमा एउटा विधा हो। यसलाई नेपालबारे समग्र विषय क्षेत्रको अध्ययन, अध्यापन र अनुसन्धानको विधा मानिएको छ। यसमा देशीय विद्या अध्ययन परम्पराअनुरूप नेपालको अध्ययन गरिएको छ। समग्रमा यो राष्ट्रियताको केन्द्रमा रहेर खोज तथा सत्यापन गर्ने विधा हो।

कृतिले बुद्ध, लुम्बिनी र कपिलवस्तु जस्ता हाम्रा विभूति र सम्पदामाथि भएको अन्तर्राष्ट्रिय राजनीतिको पर्दा उघारेको छ। यस्तै कृतिमा नेपालका भाषाको ऐतिहासिक खोजी, नेपाली भाषाबारे विदेशी अध्ययनले धकेलेको अनावश्यक राजनीति र नेपाली विद्वत्वर्गको कमजोरी उजागर गरिएको छ।

बेलायती अध्येताले खस, गोर्खा, पर्वते भाषा जस्ता नाम दिएको तर नेपाली नामचाहिँ पृथ्वीनारायण शाहको एकीकरणपछि मात्र लादिएको भन्ने अन्ध अध्ययन परम्परालाई यो अध्ययनले सच्याएको छ।

विश्व यात्राको स्वाद : देशदेशावर

यसै वर्ष गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा व्यवसायी जीवा लामिछानेको कृति ‘देश देशावर’ सार्वजनिक भयो। १३० भन्दा बढी देश भ्रमण गरिसकेका उनको पुस्तकमा ती मुलुकका संस्कार, संस्कृति र प्रगति पढ्न पाइन्छ।

देश देशावर’ मार्फत लामिछानेले घुमेका २० ठाउँका अनुभव साटेका छन्। त्यसमा पनि पर्यटकीय क्षेत्रको वर्णन बढी छ। यो कृति पढ्दा विश्वका केही महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रमाइलो यात्रा गरेको अनुभूति हुन्छ।

कृतिमा सकेसम्म आफू घुमेको ठाउँलाई चिनाउन त्यहाँको भूगोल, संस्कृति, राजनीतिक सामाजिक इतिहास, सामाजिक मनोविज्ञान र पछिल्लो आर्थिक प्रगतिलाई पनि समेटिएको छ।

प्रेम गर्ने र मोक्ष चाहनेको कथा : मोक्षभूमि  

वर्ष २०७७ मा राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालको उपन्यास मोक्षभूमि प्रकाशित भयो। स्तम्भ लेखनमा नाम कमाइसकेका दाहाललाई प्रस्तुत उपन्यासले थप चिनाएको छ। यसमा पुरानो समयमा उभिएर बुनेको कथा समावेश छ। कथा सुन्ने र सुनाउने मान्छे भने यही समयका हुन्।

‘मोक्षभूमि’ ले हाम्रो सभ्यताको एउटा कालखण्डको सत्ता र सपनाको कुरा प्रस्तुत गरेको छ। त्यसैले यो स्वतन्त्रता चाहनेको र प्रेम गर्नेको र मोक्षको कथा हो।  ‘मोक्षभूमि’ पौराणिक र सनातन कथामा आधारित भने होइन। यसमा मान्छेको सम्पूर्ण स्वतन्त्रता र गौरवको खोजी गरिएको छ।

त्यसैले याे जीवनको स्वतन्त्रता, सपना र सत्ताको खोजी गर्ने दासहरुको कथा हाे। यसले हाम्रो सभ्यताको एउटा खास कालखण्डको कुरा गरेको छ। यसमा प्रेम, यौन, संघर्ष र मोक्षको साधना छ।

संकटको दस्ताबेज : कोभिड–१९ का कथाहरू 

आख्यानकार निर्मलकुमार थापाको सम्पादनमा ‘कोभिड–१९ कथाहरू’ प्रकाशित भयो।  पुस्तकमा नेपाललगायत भारत, अस्ट्रेलिया, क्यानडा, जर्मनी, अमेरिका, बेलायतमा रहेका २६ नेपाली लेखकरसाहित्यकारको कोभिड–१९ बारेको भोगाइ संगृहीत छ।

कोरोना कालमा अमेरिका, युरोप, एसिया जहाँसुकैका मानिसको मनोदशा साझा थियो। मानवीय अनुभूति समान थियो। यही पृष्ठभूमिका भोगाइ पुस्तकमा आएको छ।

कोभिड–१९ का कथा कुनै विधा विशेषमा केन्द्रित छैनन्। समग्रमा यो विश्व महामारीको कथा हो। कृतिमा चर्चित कथाकार महेशविक्रम शाह, कुमार नगरकोटी, निर्मल थापा, रोशन शेरचन, किशन थापा अधिर, गोविन्द गिरी प्रेरणाका रचना पनि समावेश छन्।

सामाजिक यथार्थको चिरफार : महाप्रलय

सुदूरपश्चिम र कर्णालीको आञ्चलिक लोकसंस्कृतिलाई विशेष महत्त्व दिएर आख्यान सिर्जना गर्न रुचाउने गगनसिंह थापाको उपन्यास हो महाप्रलय।

प्रस्तुत आख्यानमा सबैभन्दा ठूलो ज्ञान हो। ज्ञानपछि मात्र विज्ञानको जन्म हुन्छ। विज्ञान र अध्यात्मको समन्वय भएर मानव समाज र सभ्यता अघि बढ्छ भन्ने सन्देश दिइएको छ। यस्तै ज्ञानमाथि विज्ञानले आक्रमण गर्दा कसरी विश्वको महाप्रलय हुन्छ भन्ने विषय कृतिमा उठान गरिएको छ।

महाप्रलयमा सामाजिक बिम्ब र धरातलको रूपरेखा स्पष्ट रुपमा कोर्ने प्रयास छ। समाजमा भएका अत्याचार, सामाजिक व्यवस्थाको दुर्गतिबारे बुझ्न पनि यो कृति उपयुक्त छ।

यसको लेखनमा सुदूरपश्चिम र कर्णालीको सामाजिक जीवन प्रतिबिम्बित छन्। मानव सभ्यताको पुनरुत्थानको प्रसंग समावेश भएको यो समाज केन्द्रित कृति हो।

विसंगतिमाझ मानवीय मूल्यको खोजी : जीवनको पाठशाला

गद्य र पद्य दुवै ढाँचामा कविता लेख्ने राधा कोइरालाको ‘जीवनको पाठशाला’ कविता संग्रह यसै वर्ष प्रकाशित भएको हो।
‘जीवनको पाठशाला’ मा गद्य र पद्य गरी दुई खण्ड छन्। यी कविता सामाजिक विसंगति, मानवीय मूल्यको खोजी, लैंगिक विभेद, राष्ट्रियताजस्ता विषयमा केन्द्रित छन्।

विकेन्द्रीकरण र संघीयताको चिरफार : संघीयताको अर्थ–राजनीति

इटालीको पादोभा विश्वविद्यालयबाट संघीयता र स्थानीय विकासमा उच्च शिक्षा हासिल गरेका विनोद न्यौपानेले यस वर्ष ‘संघीयताको अर्थ–राजनीति’ पुस्तक प्रकाशित गरे ।

नेपालमा संघीयता आउनासाथ केके न हुन्छ भनेर हौवा पिटियो, मिडियाले पनि त्यसलाई साथ दियो। कार्यान्वयन तहमा आएपछि नेताहरू नै हच्किए। किनभने हाम्रो आधारभूमि संघीयता धान्ने अवस्थाको बनिसकेको थिएन।  किन यस्तो भयो भन्ने विषयलाई सैद्धान्तिक र व्यावहारिक रुपमा पुस्तकमा विश्लेषण गरिएको छ।

संघीयता कानुनी विषय मात्र हो भन्ने बुझाइ छ। यसमा राजनीतिक संघीयता, प्रशासनिक संघीयता र आर्थिक संघीयता मूल रूपमा जोडिएका हुन्छन्। यिनका पनि अनेक हाँगाबिँगा छन्।

पुस्तकमा संघीयता कसरी आयो ? कार्यान्वयनमा केकस्ता कमजोरी भइरहेका छन् ? र, अब १० वर्षपछि कता जाने भन्ने विश्लेषण छ। लैंगिकता र जनजातिसँग सम्बन्धित विषयमा पनि सत्यतथ्य उजागर गरिएको छ।

पुस्तकमा संघीयता र विकेन्द्रीकरणका विषयमा जल्दाबल्दा नवउदारवादीहरू डेभिड हार्भे, साइमन स्प्रिंगर, डोनी रोड्रिगजस्ता विद्वान्का निष्कर्षलाई आधार बनाइएको छ। त्यसैले यो पुस्तक ऐतिहासिक, मानवीय, आर्थिक, सामाजिक दृष्टिकोणबाट नेपाली भूगोलको तस्बिर हो।

आत्मवर्णनबिनाको संस्मरण : स्मृतिकथामा सत्त्व

आख्यानकार तथा सम्पादक अर्चना थापाको सम्पादनमा प्रकाशित  ‘स्मृतिकथामा सत्त्व’ एकदम फरक कृति हो। यसमा समेटिएका स्मृतिमा पद, पुरस्कार जितेको महिमागान, ‘सेलिब्रिटी’ का अनुभव र आत्मवर्णन छैन।

‘स्मृतिकथामा सत्त्व’ मा नारीहरूका अनुभूतिसँगै पुरुष हुनुका अनुभव एवम् फरक लैंगिक र यौनिक परिचयका अनुभव, पारिवारिक, सामाजिक र सांस्कृतिक अंकुशहरू, अपेक्षाहरू, विसंगति र तीप्रतिको आक्रोश, व्यक्तिगत संघर्ष र सामाजिक न्यायका विषय समेटिएका छन्।

व्यक्तिगत अनुभवमा समेटिएर आए पनि यी सामाजिक र राजनीतिक विषय भएकाले पठनीय छन्।

कान्छा महारानीको कथाव्यथा 

साहित्य प्राध्यापनमा संलग्न सगुना शाहले शीवा शाहको अंग्रेजी उपन्यास ‘द अदर क्विन’ लाई नेपालीमा अनुवाद गरेकी छन्। उक्त कृति ‘कान्छा महारानी’ शीर्षकमा प्रकाशित भएको छ।

यो उपन्यास पढिसक्दा कुनै पनि महिलाले कान्छा महारानीको चरित्र र आफूमा रहेको आन्तरिक द्वन्द्व, जलन, ईर्ष्या मात्र नभई महिलामा हुने सहनशीलता, शक्ति अनि आँटको अनुभव गर्न सक्नेछन्। त्यस्तै श्री ५ राजेन्द्रका दोस्रो पुत्र माहिला साहेबज्यू उपेन्द्रवीर विक्रम शाह तन्त्रसाधनामा पोख्त थिए।

उनले १०४ वर्षीय राणा शासनको सुरुआत नै नहोस् भनेर विशेष प्रयास गरेका थिए। तर उनलाई इतिहासले कहिले स्मरण गरेन। माहिला साहेबज्यूको सन्तान भएको नाताले पनि यो महत्त्वपूर्ण हुन पुगेको छ। तत्कालीन दरबारलाई चिनाउने यो गहन कृति हो।

नेपाली अर्थ–संसारको चित्र : कबाल्स एन्ड कार्टेल्स 

‘कबाल्स एन्ड कार्टेल्स’ राजीव उपाध्यायको नेपालको अर्थराजनीतिसँग सम्बन्धित पुस्तक हो।  कृतिमा हाम्रो पुस्ताले विभिन्न कालखण्डमा अनुभव गरेका विषय  नयाँ ढंगमा प्रस्तुत गरिएको छ। विकास–निर्माणलगायत हरेक क्षेत्रमा किन पछाडि पर्‍याैं भन्ने सन्दर्भ पुस्तकमा प्रस्तुत भएको छ।

अहिलेको समाजको आर्थिकलगायत बहुआयमिक पक्षबारे जानकारी लिन पनि पुस्तक उत्तिकै उपयोगी छ।
मुलुकमा छोटो–छोटो समयमा ठूला ठूला परिवर्तन भए पनि नागरिकको जीवनस्तरमा तात्त्विक फरक आएन। नेपालले अझै संस्थागत विकास र सुशासन पाउन सकेन। नेपालले मुलुकका लागि आवश्यक आधारभूत कुरा अझै जुटाउन सकेको छैन। यी सब विषय पछाडिका कारणलाई उपाध्यायले आफ्नो पुस्तकमा उधिनेका छन्।

अर्थशास्त्री प्याकुरेलको जीवन कथा : आफैंलाई खोज्दा…

कोराना महामारीका बीच वरिष्ठ अर्थशास्त्री विश्वम्भर प्याकुरेलको ‘आफैंलाई खोज्दा केही छोपिएका केही उघारिएका’ संस्मरणात्मक कृति प्रकाशित भयो।

पुस्तकमा विदेशी विश्वविद्यालयमा पढ्दाका अविस्मरणीय क्षण, साहित्य, प्राध्यापन, अर्थशास्त्र र कूटनीतिक क्षेत्रमा कार्यरत रहँदाका प्रेरणदायी कुरा आएका छन् ।

४५ वर्षसम्म शिक्षण पेसामा बिताएका उनले मुलुकको माथिल्लो तहमा विज्ञका रूपमा रहेर धेरै काम गरे। ती समयका महत्त्वपूर्ण प्रसंग पुस्तकमा छन्। मुलुकले चिनेका सेलिब्रटीहरू नारायण गोपाल, हरिभक्त कटुवाल, अम्बर गुरुङ, गोपाल योन्जनसँगको उनको ज्यादै निकटको सम्बन्ध थियो। उनीहरूका रुचि, आनाबानी तथा उनीहरूसँग बिताएका क्षण पनि पुस्तकमा छन्।

स्वपहिचानको कथा : डुमेरो

सरला गौतम सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारका रुपमा परिचित छन्। गौतमको पहिलो साहित्यिक कृति प्रकाशित डुमेरो यस वर्ष प्रकाशित भएको छ।

बदलिएको सामाजिक आर्थिक संरचनामा एउटा मनिस आफू र आफ्नो सपना खोज्न हिँड्छ। चाहे महिला होस् वा पुरुष, चुनौतीका अनेकौं पहाडमा ऊ निरन्तर अघि बढ्न खोज्छ। यही स्वपहिचानको खोजी हो, डुमेरो।

क्रान्ति र प्रतिक्रान्ति : राजनीतिले भोगेको नियति र भौगोलिक/सामरिक कारण 

क्रान्ति र प्रतिक्रान्ति रमेशनाथ पाण्डेको कृति हो। वर्ष २०७७ मा प्रकाशित यो कृति मुलुकको राजनीति इतिहाससँग सम्बन्धित छ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रका लागि भएको राजनीतिक आन्दोलनदेखि अहिलेसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक सामरिक कारण र आउन सक्ने परिणामसमेत समावेश गरेका छन्।

यस्तै इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविष्यबारे विस्तृत चर्चा छ। कूटनीति र राजनीतिले निम्त्याएका क्रान्ति र प्रतिक्रान्तिको चक्रव्यूह पनि चलिरहेको छ। यसबाट मुलुक बिलखबन्दमा परेको छ, इतिहास गरिब हुँदै गएको छ।

हुँदाहुँदा अब त यसले भूगोललाई पनि गाँजेर गरिब बनाउन थालेको निष्कर्ष पाण्डेको छ।  कृतिमा सुन्दरीजल सैनिक जेलबाट बीपी काेइरालाले पाण्डेलाई लेखेका  चिठी  कालजयी छन्। नेपाल समय बाट 

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech