२७ श्रावण २०७९, शुक्रबार

कति अटेरी भएका मानिस !
  • न्युज मानसराेवर

एक महिनायता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो समय कोरोना संक्रमणमा विश्वभर नै उचारचढाव देखिएको छ। अहिले अस्पतालमा भर्ना हुनेमध्ये ९० प्रतिशतलाई अक्सिजन चाहिएको रिपोर्ट आइरहेको छ। सिकिस्त बिरामी हुने मानिसको संख्या बढेको छ। युवा र बालबालिकामा ठूलो संख्यामा संक्रमण फैलिएको छ।

तर मानिसहरु अस्पतालको भयावह अवस्थाबारे जानकार हुँदाहुँदै पनि निस्फिक्री बाहिर हिँडिरहेका छन्। परीक्षणको ३० प्रतिशत कोरोना संक्रमण पुष्टि हुनु आफैंमा अशुभ संकेत हो।

अहिलेको अवस्था राम्रो संकेत होइन। यसअघिको संक्रमणको समयमा उच्च संक्रमण दर पुग्नको लागि करिब ६ महिना लागेको थियो। तर अहिले एक महिनाको अवधिमै पहिलाको उच्च संक्रमण पुग्दाको अवस्था देखिएको छ। पहिलो चरणमा असोज–कात्तिकमा उच्च विन्दुमा पुगेको कोरोनाको अवस्था र अहिलेको एक महिनाको अवस्था उस्तै देखिएको छ।

आम मानिसले कोरोनालाई सामान्य रुपमा लिनु, राजनीतिक गतिविधि, नयाँ भेरियन्टको तिव्रता, सिमा नाकामा लापरबाही लगायतका कारण कोरोना फैलिरहेको छ।

समाजमा अहिले ३ प्रकारका मानिस छन्। एक, पहिलो चरणका कोरोना संक्रमित जो आइसोलेसनमा पुगे वा जसको आफन्त कोरोनाबाट ग्रसित बने, वा आफन्तको मृत्यु भयो। उनीहरुले कोरोनालाई कमजोर ठानेका छैनन्। उनीहरुको संख्या ४–५ प्रतिशत जतिण्मात्रै छ। उनीहरुको आवाज त्यति सुनिएको छैन। तर उनीहरु निकै सचेत छन्।

दोस्रो, आफूलाई बौद्धिक वर्ग मान्ने। उनीहरु यसलाई इग्नोर गरिरहेका छन्। यो कोरोना केही होइन, सबै हावा कुरा हुन् भन्ने एउटा जमात छ। जसले गर्दा कोरोना संक्रमण फैलाउन निकै सहयोग गरेको छ।

तेस्रो, जसलाई कोरोना लागेर पनि उनीहरु सामान्य भए। तातोपानी खाएर निको भए। उनीहरुले कोरोनालाई केही होइन भनेका छन्। जसलाई कोरोना लागेर पनि थाहा भएन वा कोरोना लागेन। त्यो वर्गले झनै कोरोनालाई सामान्य नै बनाए। कोरोना हावा गफ हो, चिकित्सकले ठूलो बनाएका हुन् भन्ने एउटा समूह छ। यो समूह ठूलो छ, जसले कोरोना संक्रमण फैलाउन निकै सहयोग गरेको छ। जसलाई परेको छ त्यसलाई त गाह्रो परेको छ। जसले जसरी कोरोनालाई भोगे, त्यसरी नै सोचेका छन्।

अस्पतालमा काम गर्दै हामीले देखेका छौं– दिनहुँ अस्पतालमा आउने एम्बुलेन्स, बिरामीको अवस्था र आफन्तको चित्कार। शव वाहन अस्पताल आउँदा देखिने दृष्य हेर्न पनि गाह्रो लाग्छ। यो अवस्था देख्दादेख्दै मानिसहरु लापरबाही किन गर्छन्, थाहा छैन। बाहिर नदेखिएको मात्रै हो, निजी अस्पतालका बेड पनि भरिएका छन्। चिकित्सकहरु निकै थकित भइसकेका छन्।

हामीले जति बुझाए पनि नबुझ्ने त शिक्षित र्ग नै हुन्। उनीहरु अस्पताल आएर चार घण्टामात्रै बसे पनि अवस्था सहजै बुझ्न सक्छन्। नत्र यतिकै कोरोनालाई बुझाउन सहज हुँदैन। यस्ता मानिसले कोरोना फैलाउन सहयोग गरेका छा्।

आफूलाई नपरी नचेत्ने समाज रहेछ हाम्रो। जो फुर्सदमा छन्, उनीहरु नै कोरोना केही होइन भन्दै अफवाह फैलाइरहेका छन्। उनीहरु नै सामाजिक सञ्जालमा कोरोनाको बारेमा नकरात्मक कुरा गरिरहेका छन्।

हामीले कोरोनासम्बन्धी लेखेका समाचारमा पनि पोजेटिभ भन्दा नेगेटिभ प्रतिक्रिया बढी आउँछ। आफै नदेखेसम्म, नभोगेसम्म नमान्नु हाम्रो स्वाभाव पनि हो। तर यो स्वाभाव परिवर्तन गर्नु जरुरी छ। कोरोना केही हैन, हावा हो भन्ने मान्छेले अस्पताल पुगेर हेरोस्, त्यहाँ दैनिक कसरी मृत्यु भइरहेको छ, अस्पतालमा दैनिक आउने शव वाहान र एम्बुलेन्सले कसलाई बोकिरहेको छ, आईसीयूको गेटमा चिच्याउँदै रुने को हुन् !

यही अवस्था रहेमा अबको केही दिनमै निकै भयावह अवस्था हुनेवाला छ। त्यो अवस्था कल्पना गर्न पनि गाह्रो छ। तर, हामीले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, मास्क लगाउने, दूरी कायम गर्ने, हात धुनेलगायत क्रियाकलापलाई निरन्तरता दिएमा यो अवस्था नआउन सक्छ। दुःखको कुराचाहिँ आम मानिसले जानेर पनि व्यवहारमा यी कुरा लागू गर्दैनन्। अटेरी छन् मान्छे।

सिक्वेन्सिङ आवश्यक छ

कोरोनाको उतारचढावले निरन्तरता पाइरहेको छ। नेपालमा मैले झन्डै दुई दशक निरन्तर संक्रामक रोगहरुलाई नजिकबाट होर्दा हाल कोरोनाका गुण अन्यभन्दा फरक देखिएको छ। कोरोनाको सुरुवाती समयमा ज्वरो आउने, खोकी लाग्ने, स्वासप्रस्वासमा समस्या देखिएको थियो।

९९ प्रतिशत संक्रमितमा कुनै लक्षण देखिएको थिएन। मैले त्यतिबेला त्यो अवस्थालाई ‘साइलेन्ट कोरोना’ उपनाम दिएको थिएँ। यसले संक्रमण भित्रभित्रै फैलाउँछ भनेको थिएँ। परिणाम अहिले देखिएको छ। त्यतिबेला म एक्लैले बोलेको कुरालाई त्यति ध्यान दिइएन।

लामो समयपछि (पहिलो लकडाउनपछि) मात्र संक्रमितमा लक्षणहरु धेरै देखिन सुरु भयो। अचानक लक्षणसहितको कोरोना संक्रमित देखिँदा भाइरसको स्वरुपमा परिवर्तन भएको आशंका मैले गरेको थिएँ। जिन सिक्वेन्सिङको आवश्यकताबारे जानकारी पनि गराएको थिएँ। तर हालसम्म पनि नेपालमा हुन सकेको छैन।

झन्डै चार महिनाअगाडि नेपालमा यूके भेरियन्टको कोरोना भाइरस प्रवेश भएको पाइए पनि हालसम्म समुदायमा यसको प्रभावको बारेमा अधिकारिक जानकारी छैन। पीसीआरमा एस जिन नेगेटिभ देखिने क्रम बढेकोले यूके भेरियन्ट व्यापक फैलिरहेको अनुमान गरिएको छ। तर यसको निर्क्योल जिन सिक्वेन्सिङ गरेपछि मात्र गर्न सकिन्छ।

हाल कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने उमेर समूहमा पनि परिवर्तन आएको देखिन्छ। सिकिस्त हुने बिरामीको संख्या पनि बढ्दो छ। जति भर्ना हुने संख्या बढ्छ, जति धेरैलाई आईसियु, भेन्टिलेटरको आवश्यकता पर्छ, त्यति नै मृत्युको संख्या पनि धेरै हुन्छ।

यूके भेरियन्ट बालबालिकामा आक्रामक देखिएको भए पनि मृत्युदर भने बढी नहुने अनुसन्धानहरुले देखाएका छन्। नेपालमा संक्रमित बालबालिकामा कस्तो नतिजा आउँछ भन्ने हेर्नै बाँकी छ।

गत वर्ष कोरोनाबाट हामीले के सिक्यौं ? दोस्रो लहरमा आइपुग्दा ती रणनीति प्रभावकारी भए कि भएनन् ? कसरी अगाडि बढ्ने अब ?  सोच्न ढिला भइसकेको छ। सोच्ने होइन, काम गर्ने समय हो अब त। यो बेला हामीले रोक्न सकेनौं भने अबको केही दिनमै भयावह अवस्था आउँछ। अब कोरोना नियन्त्रणको लािग सबै उपायहरु लागू गर्ने समय हो। अप्रत्याशित चुनौतीहरु सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले आम नागरिकले पनि आफ्नो कर्तव्य भुल्नु हुँदैन।(शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. पुन )

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech