१३ बैशाख २०८१, बिहीबार

अस्पतालभित्रै २० रुपैयाँमा खाना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  होटल सञ्चालकमै कोरोना संक्रमण भएपछि नेपालगन्जस्थित भेरी अस्पताल परिसरका प्रायः होटल अहिले बन्द छन् । केही होटल सञ्चालकमा संक्रमणपछि अरूले पनि त्रासकै कारण बन्द गरेका हुन् ।

जिल्लामा निषेधाज्ञा लागू भएपछि बाहिरका पनि सबै होटल बन्द छन् । यस्तोमा यहाँस्थित सुन्दरकाण्ड मित्र मण्डलले अस्पतालभित्रै २० रुपैयाँमा खानाको व्यवस्था गरेको छ । यसले बिरामी र कुरुवालाई ठूलो राहत मिलेको छ ।

पहिले बिरामी लिएर आएकालाई खानाका लागि बाहिर जानुपर्ने बाध्यता थियो । त्यो पनि भनेको बेलामा पाइन्छ भन्ने टुंगो थिएन । मित्र मण्डलले अस्पताल परिसरमै सस्तोमा खाना खुवाउन थालेपछि धेरै सहज भएको बिरामी कुरुवाहरूले बताएका छन् । ‘खाना खानका लागि पनि कुनै होटल खुला छैनन्,’ सुर्खेतका कमल रेग्मीले भने, ‘बिरामीलाई उपचारसँगै खानाको जोहो गर्न पनि मुस्किल थियो ।’

अहिले उनीजस्तै कुरुवालाई अस्पताल परिसरमा भएको खानाको व्यवस्थाले सहज मात्र होइन, समय पनि बचत भएको छ । ‘बिरामीलाई एक्लै छोडेर जाँदा मन त्यसै आत्तिन्छ,’ दाङका सन्तोष वलीले भने, ‘यहाँ त पाँच मिनेटमा खाना खाएर फर्किन सक्छौं ।’

मित्र मण्डलका सञ्चालक विजय गुप्ताले दैनिक दुई सय जनाभन्दा बढीले खाना खाइरहेको बताए । ‘यो त हामीले गत वर्षदेखि नै सुरु गरेका हौं,’ उनले थपे, ‘पैसा ठूलो कुरा होइन, संकटका बेला मनकारीहरूबाट सहयोग जुटाएर सेवा गरेका छौं ।’

भेरी अस्पताल यस क्षेत्रको रेफरल सेन्टरका रूपमा विकास भएको छ । बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, सल्यान, रोल्पा र रुकुमबाट समेत संक्रमित बिरामी भेरीमै आइपुग्छन् । मित्र मण्डललाई सस्तोमा खाना खुवाउन नेपालगन्ज उपमहानगरपालिकाले केही आर्थिक सहयोग गरेको छ । सञ्चालक गुप्ताले मासिक ५० हजार रुपैयाँ दिने गरेका छन् । ‘हामीले बिरामी र कुरुवालाई खानाका लागि समस्या नहोस् भनेर व्यवस्थापन गरेका हौं । अहिले कोरोनाका बेला थप सहयोग पुगेको छ,’ उनले भने, ‘सहयोगदाता खोज्ने कुरा भएन । मानवताका नाताले आफूले गर्ने सहयोग गरेका हौं ।’

उनका अनुसार खाना खान कुपनको व्यवस्था गरिएको छ । मित्र मण्डलले अस्पताल परिसरमै पकाएर खुवाउने गरेको छ । खाना पकाउन, दिन, भाँडा बाझ्न र सरसफाइका लागि ७ जना सहयोगी राखिएको छ । भाँडा तातोपानीले धुने गरिएको छ ।

खाना खाएर गएपछि सेवाग्राही बसेका प्रत्येक कुर्सी र टेबललाई सेनिटाइज गरिँदै आइएको छ । ‘एउटा मान्छेको काम नै कुर्सी अनि टेबल सेनिटाइज गर्ने हुन्छ,’ मण्डलका अर्का सदस्य जितेन्द्र सिंहले भने, ‘त्यसैले काम गर्ने मान्छेको मनोबल बढेको छ । यस्तो अवस्थामा काम गर्ने मान्छे पाउन सजिलो छैन ।’

मित्र मण्डलले यसअघि बिहान मात्र खाना खुवाउने गरेको थियो । तर निषेधाज्ञासँगै बिरामीलाई साँझको खानाका लागि सास्ती भएपछि बिहीबारदेखि दुवै सत्रमा खान खुवाउन थालेको सिंहले बताए । ‘बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खाना खुवाउँछौं । अस्पतालको अनुरोधमा साँझको खाना ६ बजेदेखि ८ बजेसम्म हुन्छ,’ सिंहले भने, ‘नजिकका मान्छेले घरबाट खाना मगाऊलान् तर बाहिरका मान्छेका लागि खुवाउनका लागि यो सेवा सुरु गरेका हौं ।’ साँझको खानाको शुल्क भने ८० रुपैयाँ तोकिएको छ ।  इकान्तिपुर

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech