१५ चैत्र २०८०, बिहीबार

युगले मागेको त्यो आन्दोलनको नयाँ रूप

पदम गाैतम

  • न्युज मानसराेवर

डेढ वर्षदेखि विश्व समस्या बनेको कोरोना महामारीको दोस्रो लहरले देशलाई गाँज्दै गरेको समयमा राज्यले खासै महत्त्व नदिएको एउटा समाचार सार्वजनिक भयो। यद्यपि सामान्य लाग्ने यो समाचारमा मूलधारका केही मिडियाको आवाज चिन्तित खालको थियो।

समाचार थियो– परासी जिल्लाको रामग्राममा दुई दिनमा करिब ७० वटा गिद्ध मारिए। रामग्राम नगरपालिका–४ का वडाध्यक्ष मदन यादवले भनेअनुसार स्थानीयवासीले विष खुवाएर १० वटा कुकुर मारेका थिए। सोही सिनो खाएर गिद्ध मरेका हुन्। त्यसरी मारिएका गिद्ध ‘ह्वाइट–रम्पेड भल्चर’ प्रजातिको भएको नेपाल पन्छी संरक्षण संघद्वारा सञ्चालित गिद्ध संरक्षण संघका पदाधिकारीले बताएका छन्। यो नेपालमा पाइनेमध्ये अति संकटमा रहेको प्रजातिको गिद्ध हो।

हरेक वर्ष मकवानपुर र पश्चिमका विभिन्न जिल्लामा घारका घार माहुरी मारिन्छन्। अन्य जिल्लाबाट चराउन ल्याएको रिसमा घर छेउछाउ विष राखिदिने काम स्थानीय जनताले गरेको समाचार पढिँदै आएको छ। तर, यो अपराधमा संलग्नलाई अहिलेसम्म कारबाही गरिएको पाइँदैन। यति मात्र हैन, केही महिनाअघि जिम्मेवार सरकारी अधिकारीले नै आरक्षित वन क्षेत्रमा माहुरी चराएको भन्दै माहुरीका घार जलाउने आदेश दिएका थिए।

यो मर्माहत बनाउने समाचार मात्र आयो तर यस अपराधमा संलग्न मान्छेलाई कारबाही गर्ने विषयको फलोअपचाहिँ नेपाली मिडियामा आएको देखिएन। समाचारसँगै विदेशी मिडियामा जस्तो माहुरीले फल र फूललाई पुर्‍याउने योगदान र माहुरीका अन्य ‘स्टोरी’ पनि पढ्न पाइएन। लाग्छ, नेपाली मिडिया मानव पक्षको अभियानलाई भन्दा राजनीतिलाई ‘कभरेज’ गरेर अग्रगमन चाहन्छ। नेपाली मिडिया राजधानीमा तिनै प्रतिगमन र अग्रगमनका मुद्दामा व्यस्त भएकाले नै यस  विषयलाई ओझेलमा पारिएको हुन सक्छ।

झट्ट हेर्दा माहुरी र गिद्ध सानो किरा र ठूलो चरा हुन्। माहुरीले मह बनाउँछ। उसप्रति आम मान्छेको सहानुभूति जान्छ। मह उत्पादन गर्ने मात्र नभएर माहुरी फलफूलका लागि सबैभन्दा बढी आवश्यक किरा हो। गिद्धले सिनो खान्छ। त्यसैले मानिसका लागि गिद्ध मर्नु र मारिनु सामान्य हो। प्राकृतिक रूपले नै गिद्धले मरेको मासु खान्छ, धर्ती सफा राख्छ। उसले मानव जातिले पचाउन नसक्ने कतिपय ब्याक्टेरिया र रोग सिनो खाइदिएर पचाउँछ, हामीसमक्ष आइपुग्न दिँदैन।

अहिलेसम्म प्रमाणित र घातक रोग रेबिजलाई गिद्धले मान्छेसम्म आइपुग्न नदिएको र गिद्धको संख्या घटेपछि कुकुर र अन्य जनावरमार्फत जंगली जनावरको मासुबाट सर्ने रोग मान्छेलाई लागेको भेटिन्छ। विडम्बना! जुन ठाउँमा विष खुवाएको सिनो खाएर गिद्ध मारिए, त्यसको थोरै पर केही युवा गिद्ध रेस्टुरेन्ट खोलेर त्यसको बचाउमा निकै अघिदेखि सक्रिय थिए। एकातिर संरक्षणमा त्यही जिल्ला र क्षेत्रका युवा अनि अर्कोतिर वातावरणका विषयमा चिन्ता गर्नेलाई स्तब्ध बनाउँदै गिद्ध मार्ने लापरबाही।

करोडौं वर्षदेखि धर्तीमा एउटा प्रणाली विकसित भएको छ। यो धर्तीको एउटा चक्र, एउटा नियम र एउटा सन्तुलन छ। प्रकृतिले अर्बौं वर्ष लगाएर बनाएको त्यो नियम र सन्तुलनले नै आज ब्रह्माण्डमा मान्छे प्रमाणित रूपमा एक मात्र विकसित प्राणी बनेको छ। तर, पछिल्ला गतिविधि हेर्दा मान्छेले आफू मात्र बाँच्न खोजेको देखिन्छ। शिक्षा र विकासको मोडल त्यही दिशामा उन्मुख छ। आधुनिकता र वर्तमान समाजले दिने शिक्षाको परिभाषाअनुसार धर्तीका हरेक ठाउँ मान्छेका लागि जग्गाका प्लट हुन् र हरेक जनावर मर्नलायक। त्यसैले मान्छेले भेटेसम्मका सबै जनावर र रुखबिरुवालाई आहारा बनाउने, नसकेका र नमिलेका ठाउँमा तिनका स्थान नष्ट गर्ने र कृत्रिमता सिर्जना गरी नष्ट गर्ने काम गरिरहेको छ।

फलतः अघिल्लो शताब्दीमा मात्र मानव जीवन र प्रकृतिको चक्रलाई सन्तुलनमा राख्न भूमिका खेल्ने पाँच सयभन्दा बढी प्रजातिका जनावर र त्यति नै बोटबिरुवाका प्रजाति लोप भएका छन्। विगत दुई दशकको मानवीय गतिविधि हेर्ने हो भने अघिल्लो शताब्दीभन्दा बढी मानवीय गतिविधि यो अवधिमा नै भइसकेका छन्। प्रकृतिमाथिको क्षति कम गर्न सक्ने ठाउँमा पनि आजको मान्छे चिन्तित छैन। यी सबै व्यवहारको प्रत्युत्पादक परिणाम हामीलाई प्रकृतिले बेलाबेला दिइरहेको छ। यसको पछिल्लो प्रमाणस्वरूप अस्ट्रेलियाको जंगलमा आगलागीपछि देखा परेका नयाँ प्रजातिका माकुरालाई लिन सकिन्छ।

केही महिनाअघि सार्वजनिक एक अध्ययन प्रतिवेदनअनुसार गत वर्षको भयानक आगलागीपछि त्यहाँको पर्यावरणीय असन्तुलनले धेरै विषालु माकुराका जाति जन्माएको छ। अस्ट्रेलियाको आगलागी मानवीय गतिविधिका कारण भए पनि, नभए पनि पर्यावरण कति संवेदनशील हुन्छ भन्ने कुराको एउटा गतिलो पाठ हो यो।

विशाल ब्रह्माण्डमा मानव जाति विभिन्न संयोगले मात्र अहिलेको अवस्थामा आइपुगेको हो। सामान्य कुरा हेर्दा मात्र पनि एउटा ठूलो आधुनिक व्यापारिक भवन जत्रो आकारको कुनै वस्तु पृथ्वीमा ठोक्किन पुग्यो भने त्यसले मानव जातिको लगभग विनाश गर्ने क्षमता राख्छ। पूरै नष्ट नभए पनि त्यसपछिको मानव जीवन अहिलेभन्दा सयौं वर्ष पछाडि धकेलिन पुग्छ।

धर्तीको ब्रह्माण्डीय मात्र हैन, पर्यावरणीय सन्तुलन पनि निकै संवेदनशील छ। पर्यावरणको चक्र वा सन्तुलन कायम राख्ने बोटबिरुवा र जनावर धमाधम मारिँदै छन्। त्यसको असर हाम्रै जीवनमा परिरहेको छ। मान्छे अझ आधुनिकताको दौडमा दौडिरहेछ। खेतमा पानीका मुहान् सुकेर उब्जनी छैन, पानीका पुराना स्रोत भेट्न मुस्किल छ। नदीबाट त्यहाँका प्राकृतिक साधनको नृशंस दोहन गरिएको छ, धर्तीका हरेक भाग कोतरिएको छ। हरेक वस्तु कृत्रिम छन् र आफ्नो वरपरका विषयमा मान्छेको जानकारी निकै कमजोर बन्दै गएको छ।

मान्छे आधुनिकताले यति मातेको छ कि नयाँ पुस्ताको शिक्षित जमात गाईलाई दूध आउने खानेकुरा के हो भनेर बुझ्न बाआमासँग सिक्दैन, गुगल गरेर हेर्छ। हाम्रो समाज र राज्यले दिएको यो शिक्षाले अन्त्यमा निम्त्याउने संकट मात्र हो। जीवनसँग जोडिएको शिक्षा नपाएको मान्छेले जंगल पार गर्न सजिलै सक्ला तर जंगलका विषयमा सामान्य ज्ञानचाहिँ राख्दैन। एकातिर प्रकृतिमाथिको हमलाले मान्छेले नसोचेका समस्या भोग्दै छ भने अर्कोतिर मानव जातिले हज्जारौं वर्ष लगाएर पुर्खाले सिकेको ज्ञान र मानवीय उपलब्धि फेरि कहिल्यै नसम्झने गरी बिर्सिरहेको छ।

तीन वर्षअघि दिवंगत महान् वैज्ञानिक स्टेफेन हकिङले पटकपटक मानव जातिको भविष्य संकटमा परिसकेको चेतावनी दिएका थिए। उनले ब्रह्माण्डमा तैरिँदै उडिरहेका क्षुद्रग्रह, हालका आर्टिफिसियल इन्टेलिजेन्स् र अन्य मानवीय गतिविधिका कारण यो संकट आएको व्याख्या गरेका थिए। उनको व्याख्या मान्ने हो भने पछिल्ला दुईवटा चिजको कारकतत्त्व मान्छे नै हो। तर, उनले मान्छेले विकासको मोडल फेर्न सुझावचाहिँ दिएनन्। किनभने अबका मान्छेले यो कुरा सुन्दैनन् र अहिलेको व्यवस्थासँग त्यो सुनेर बस्ने फुर्सद छैन भन्ने ज्ञान उनलाई राम्रैसँग थियो होला।

वर्तमान विश्वव्यवस्थाको यही चरित्र बुझेर हुनुपर्छ खरबपति एलन मस्क मानव जातिको अस्तित्व जोगाउन मंगल ग्रहको सतहमा बसाइँ सर्ने योजना बनाइरहेका छन्। उनीजस्ता विश्व बुझेका मान्छेले पृथ्वीमै अब मान्छे बस्न असम्भव रहेको निष्कर्षमा पुग्नु सामान्य विषय होला। तर, त्यससँगै अहिलेका विकासमा मोडल परिवर्तन गर्दै यही पृथ्वी नै सुन्दर बनाउने योजनामा उनले किन आह्वान गरेनन्? यसको पछाडि वर्तमान विश्वव्यवस्था र विकासको शैली फेर्न नसकिने उनको निष्कर्ष हुनुपर्छ।

पर्यावरणसँगै जोडिएको तर ओझेलमा परेको मानव जातिको अवस्था नै बदलिदिने एउटा प्रयासको घटना यहाँनेर स्मरण गनुपर्ने हुन्छ। एक दशकअघि अमेरिकाको न्युयोर्कबाट एउटा आन्दोलन सुरु भयो। न्युयोर्कको एउटा सानो गल्लीबाट आर्थिक केन्द्र बनेको वाल स्ट्रिट भन्ने ठाउँबाट सुरु भएको यो अनौठो आन्दोलनले केही दिनमै विश्वको ध्यान आफूतिर खिच्यो। ‘वाल स्ट्रिट कब्जा गरौं’ नामको यो आन्दोलनमा सहभागी हजारौं व्यक्तिले अमेरिकी समाजमा आम्दानीमा बढ्दै गरेको असमान वितरणप्रति आफ्नो असहमति जनाए।

बढ्दो बेरोजगारीविरुद्ध आरम्भ भएको यो आन्दोलन केही दिनपछि नै वर्तमान विश्वको मूल समस्यामा केन्द्रित हुन पुग्यो। अर्थात् आन्दोलन विश्वव्यवस्था पुँजीवादविरुद्ध खडा भयो। अमेरिकाजस्तो लामो समयदेखि पृथ्वीमा दादागिरी देखाउँदै मानव सभ्यताको पाठ सिकाउने देशमा यो अभियान सुरु हुनु आफैंमा अनौठो र रोचक विषय थियो। वर्तमान विश्व नायक मान्ने अमेरिकामा ‘करिब एक प्रतिशत मान्छेसँग देशको नब्बे प्रतिशतभन्दा बढी सम्पत्ति र स्रोत हुनु न्यायोचित नभएको’ भन्दै सुरु भएको आन्दोलनलाई अमेरिकी मिडिया, प्रशासन र राजनीतिज्ञहरुले आवारा युवाको क्षणिक विरोधका रुपमा मात्र हेरे।

तर, नारा सही छ भने हरेक आन्दोलन र अभियानले जनताको ध्यान आफूतिर तानेरै छोड्छ। असफल नै सही तर आन्दोलनमा सामेल नभई सडकबाट हेर्ने अन्य बेरोजगारका मुखमा पनि चाँडै त्यो तथ्यांक झुण्डिन पुग्यो। त्यो थियो– एकका विरुद्ध ९९ अर्थात् एक प्रतिशत धनीविरुद्ध उनान्सय प्रतिशत गरिब। केही दिनपछि यो आन्दोलन अन्य अमेरिकी सहरमा पनि फैलिएपछि बल्ल यस विषयलाई अमेरिकी प्रशासन र मिडियाले गम्भीरताका साथ लिए। सरकारले अनेक तिकडम लगाएर दमन गर्‍यो। आन्दोलनले वर्तमान विश्वव्यवस्थाका विषयमा एउटा साधारण लाग्ने गम्भीर नारा स्थापित गर्‍यो। राजनीतिक र सैद्धान्तिक ‘जार्गन’ ले विगतमा बनाएका भन्दा फरक भाष्य स्थापित गर्दै अब आन्दोलन हेर्न गएकाहरुले पनि भन्न थाले, ‘निश्चित वर्ग र समुदायले लाभको निजीकरण र घाटाको सामाजिकीकरण गरिरहेको छ।’

विश्व व्यवस्थाको ठेकेदार सम्झिने मूलधारका अमेरिकी मिडियाले पनि बिस्तारै आन्दोलनमा उठाइएका विषयमा रिपोर्ट छाप्न थाले। मूलधारका मिडियाको सबैभन्दा अर्थपूर्ण समाचार थियो, ‘अमेरिकामा चार सयभन्दा कम परिवारको स्वामित्वमा देशको पचास प्रतिशतभन्दा बढी सम्पत्ति छ।’ यो विषय अब मूलधारबाहेकका मञ्चमा निकै जोडले उठ्न थाल्यो।

मूलधारका राजनीतिक पार्टी, मिडिया र बौद्धिक समुदायले तत्कालीन व्यवस्थाको चक्रव्यूहका कारण अभियानमा साथ दिन नसके पनि मुद्दा स्थापित गराइदिए। आन्दोलनकारीहरुले त्यसभन्दा धेरै अपेक्षा पनि गरेका थिएनन्। उनीहरु प्रस्ट थिए, यो व्यवस्था रहेसम्म हामीलाई कसैले सहयोग गर्दैनन्। त्यसैले उनीहरूले सडकमै तिनको लाचारीविरुद्ध पनि नारा पनि तय गरेका थिए। तत्कालीन उपलब्धिका हिसाबले मात्र हेर्ने हो भने त्यो आन्दोलन त्यत्तिकै सकियो।

तर, वर्तमान व्यवस्थाका विषयमा चर्चा गर्दा भविष्यमा पनि उल्लेख गर्नैपर्ने महत्त्व बोकेको त्यो आन्दोलनको आरम्भको पृष्ठभूमि अझै रोचक छ। आन्दोलनको गर्भसँग एक प्राध्यापकले विद्यार्थीलाई पढाउँदा भनेको एउटा विषय जोडिन्छ। अस्ट्रेलियन नेसनल युनिभर्सिटीका माइक्रो बायोलोजीका प्राध्यापक फ्र्यांक फेनरले पुँजीवादी व्यवस्था, कथित विकासको होडबाजी र बढ्दो जनसंख्याका कारण आगामी एक शताब्दीमै मानव जातिका लागि पृथ्वी बस्न अयोग्य हुने भविष्यवाणी गरिदिए। वैज्ञानिक हकिङकै शैलीको यो भविष्यवाणी उनले सन् २०१० मा आफ्नो मृत्युअघि गरेका थिए। चेतावनीका ढंगले उनले दिएको अभिव्यक्तिले नै आन्दोलनको भ्रूणको काम गरेको थियो।

उनका विद्यार्थीले प्रस्टसँग बुझे–पर्यावरणको रिमोट कन्ट्रोल अहिलेको व्यवस्था हो, त्यसको तिकडम हो। अर्थात्, अहिलेको राजनीतिक व्यवस्थासँग विकासको पछिल्लो मोडेल जोडिन्छ र त्यससँग पर्यावरणको मुद्दा जोडिएको छ। राजनीतिक व्यवस्था परिवर्तन नगरी पर्यावरणको मुद्दा सम्बोधन गर्न सकिँदैन। कोरोना भाइरसको आयुसँगै प्रजाति पनि बढ्दै गएको यो कष्टकर अवस्थाको कारक तत्त्वमा पर्यावरण विनाश रहेको, नरहेको भोलि वैज्ञानिक अध्ययनले बताउँछन् नै। तर, एक्लै बाँच्ने र धर्ती विनाश गरेरै छाड्ने प्रवृत्तिमा रोक नलागे मानव जाति नै लोप हुने सम्भावना बढ्दो छ।

यो समयमा मानव जातिको रक्षा गर्न प्राध्यापक फ्र्यांकका चेलाको जस्तै समस्याको चुरो बुझ्ने विश्वजमात चाहिएको छ। जसले मानव जातिका पक्षमा एउटा अभियान थाल्न सकोस्। के धर्तीभरका मान्छे बचाउने त्यस्तो आन्दोलन फेरि सुरु होला त? नेपाल समय

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech