१५ चैत्र २०८०, बिहीबार

आमाको सम्झना जीवनको अन्धकारमय स्थितिमा गरिने हो
  • स्वामी आनन्द विनोद

आज विशेष दिन हो। आज मातातीर्थ औंसी परेको छ। यसलाई आमाको मुख हेर्ने दिन तथा मातृ सम्मान दिवसका रुपमा पनि मनाइन्छ।

आमा संस्कृतको मातृ भन्ने शब्दबाट आएको हो। मातृको अर्थ पूज्य अथवा पूजनीय हुन्छ। जसलाई हामीले पूजा गर्नुपर्ने हुन्छ। ती मातृ हुन्। तैतरीय उपनिषद्‍मा  गुरुकुल परम्परामा शिक्षा आर्जन गरेर, शिक्षा पूरा गरेर बिदा भएका विद्यार्थीलाई दीक्षान्त भाषण दिँदा गुरुहरूले चार जीवित देउतालाई सधैं सम्मान गर्नुपर्छ भन्नुभएको छ। चार जीवित देउतामा पहिलो आमा, दोस्रो बुवा, तेस्रो आचार्य र चौथो अतिथि हो। तैतरीयले मातृ देवो भवः, पितृ देवो भवः आचार्य देवो भवः र अतिथि देवो भवः भन्नुभएको छ।

आमा पनि जीवित देवी हुन्। छोराछोरीले मातृ–पितृ दुवैलाई सम्मान गर्नुपर्छ। यहाँ हामी व्यवहारमा आमालाई नै बढी सम्मान गर्ने र पिता उपेक्षाको पात्र भएको देख्छौं। त्यसो होइन पिताको पनि उत्तिनै जिम्मेवारी हुन्छ बालबच्चाको हुर्काइमा। आमा र बुवाको मुख हेर्ने दिन दुवै सम्मान दिवस हुन्। यी दुवै औंसीमा पर्छन्।  मातातीर्थ औंसी वैशाख कृष्ण औंसीमा र पिताको मुख हेर्ने दिन भाद्र कृष्ण औंसीमा पर्छ।

‘निर्णय सिन्धु’ मा पितृ औंसीलाई रातको अधिपति भनिएको छ। औंसीको रात अन्धकारको रात, दुःखको रात भनेर पनि प्रतीकात्मक इसाराका रुपमा लिन सकिन्छ। आमाबुवाको सम्झना जीवनको अन्धकारमय स्थितिमा नै गरिने हो। त्यसैले यी दिवसलाई औंसीमा मनाउने गरिएको हो। यो दिनमा सन्तानले उपहार दिने र मातापिताले आशीर्वाद दिने गरिन्छ। आमाबुवा दिवंगत भइसकेका भए सम्बन्धित तीर्थमा जाने चलन छ। आमा नहुनेहरू मातातीर्थमा जान्छन्। पिताको मुख हेर्ने दिनमा बुवा नहुनेहरू गोकर्णमा गएर तर्पण गर्छन्। तीर्थ पनि जान नसक्ने स्थिति भए आफ्नै पुरोहितलाई दानदक्षिणा गर्ने चलन छ।

आमा मातृशक्ति, नारीशक्ति, करुणाका शक्ति हुन्। हामी ‘जननी जन्मभूमिश्च स्वार्गादपि गरीयसी’ भन्छौं। हाम्रो मातृभूमिलाई पनि हामी आमा भन्छौं। त्यो सिर्जनाशक्ति पनि हो। धर्तीलाई माता भन्छौं। आकासलाई पिता भन्छौं। नेपाल आमा भन्छौं। नारी आमा बनेपछि मात्रै पूर्ण हुन्छिन्, जसरी फल दिएपछि मात्र वृक्ष पूर्ण हुन्छ।  हरेक जीवनमा आमाको निकै ठूलो महिमा छ। मातृत्वको गरिमा छ। आमाले आफ्नो स्तनबाट दूधसँगै करुणा पनि प्रदान गरिरहेकी हुन्छिन्।

आधुनिकताले सुकेनास, एचआईभी, अल्जाइमर्सजस्ता रोग ठिक नहुने भनिएको छ। स्तनपान नगराउनुको परिणाम हो यो। अचेल विकास र सभ्यताका नाममा स्तनपान नगराउने परम्परा बढ्दै गएको छ। आमाले जतिसुकै अशक्त, बिरामी हुँदा पनि सन्तानको ख्याल गरिरहेकी हुन्छिन्।

एक पटक एउटा छोराले आमालाई चिर्पटले हानेको थियो। आमाले  ‘यसलाई केही पनि नगर्नू है! यो पनि भएन भने त मलाई चिर्पटले हान्ने मान्छे पनि छैन यो संसारमा’ भन्नुभएको थियो। वैदिक वाङ्‍मयमा पृथ्वीलाई नै माताको रुपमा हेरिएको छ। जन्मदिने आमा र पृथ्वीलाई एउटै रुपमा हेरिएको हुन्छ। यी दुवै सिर्जनाका प्रतीक हुन्। नेपाल हिन्दु सनातन धर्मबाट ओतप्रोत राष्ट्र हो। अहिले केही स्वार्थी तत्त्वले धर्म निरपेक्षताका घोषणा गरेका छन्। यी अन्तरचक्षुविहीनलाई धर्म कहिले निरपेक्ष हुँदैन भन्ने थाहा छैन। धर्म भनेको दया, करुणा र प्रेम हो। धर्म निरपेक्षता भनेको दया, करुणा र प्रेम नहुनु हो। यी तत्वसँग तथष्ट रहनु हो। सम्प्रदाय निरपेक्ष हुन सक्ला। तर, धर्म सधैं सापेक्ष हुन्छ। नबुझेर धर्म नरपेक्ष भनिएको हो।

हिन्दु, धर्म पनि होइन, सम्प्रदाय पनि होइन। यो त जीवनशैलीको नाम हो। त्यसैले नेपालका लागि मातातीर्थ औंसी र बुवाको मुख हेर्ने औंसी मौलिक पर्व हुन्। यी पर्व अरु राष्ट्रमा मनाइँदैन। हाम्रै अनुकरण गरेर ‘फादर्स डे–मदर्स डे’ मनाउने चलन छ। हाम्रो वेद भूमि, देवभूमि नेपालबाटै यो परम्परा सुरु भएको हो। आजको दिनले नारी सम्मानको प्रेरणा दिनुपर्छ। दस धारा दूध चुसाएर मरणोपरान्त हाम्रो चिन्तामा चिन्तित बनिरहने आमा जीवित देवी हुन्। ती जीवित देवीलाई बुढेसकालमा वृद्धाश्रममा पुर्‍याउनु हुँदैन। मातापिताको जीवित हुँदा सेवा नगर्ने तर मरेपछि पिण्ड चढाएर गौदान गरेर केही हुँदैन। आमाबुवाको सेवा जीवित हुँदा नै गर्ने हो। मरेपछि गौदान गर्नु र पिण्ड चढाउनुको तुक छैन।

मैले सुनेअनुसार काभ्रेकी एक जना आमाले जहिले पनि आफ्नो छोरालाई धुलिखेल गएर आउँदा मलाई जेरी ल्याइदेऊ, जेरी खान मन छ भन्नुहुन्थ्यो रे। छोराले कहिले ल्याएनन् रे । आमाको प्राण गएको दिन जेरी बोकेर गएछन्। मरिसकेको आमालाई जेरी खाऊ न आमा भन्दा रहेछन्। मरिसकेको आमालाई जेरी कोच्याउनु भन्दा जिउँदै सेवा गर्नुपर्छ। एक दिन मात्रै आमाबुवाको मुख हेर्ने दिन मनाएर हुँदैन। यो त मातापिता साथमा हुँदा हरपल मनाउनुपर्छ। आमाबुवाको सेवा सधैं गर्नुपर्छ। मरिसकेपछि यो दिन्छु र त्यो दिन्छु भन्नु हास्यास्पद कृत्य हुन्छ।

मृत्युपछि उहाँहरूका नाममा पनि केही गरिदिएको राम्रो हुन्छ। सानोमा हाम्रो तोतेबोली हुन्छ। आमाले बुझ्दै नबुझिने बोलीलाई पनि कहिल्यै झर्को नमान्दै हामीलाई हुर्काउनुभयो। कोखाई कोखाई भन्दै बढाउनुभयो। बिरामी हुँदा रातभर अनिँदो बस्नुभयो। अहिले आमा बूढी हुनुभो भन्दैमा आमाले कान नसुन्दा झर्को मान्नु गलत हो। अरूको लाख, आमाको काख एकै हो। आमा बूढी भएर घुँडा दुखी हिँड्न नसक्दा प्रेमले बोक्न सक्नुपर्छ। आँखा नदेख्दा हामी नै आँखा बन्नुपर्छ। यसले नै आमाप्रतिको खास सम्मान हुन्छ। है न भने औपचारिकतामा सीमित रहन्छ। अस्तु!

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech