२ जेष्ठ २०७९, सोमबार

यसरी सुरु भयो व्यावसायिक कुखुरापालन
  • कृषिविज्ञ शिवबहादुर नेपाली

मैले २०१५ साल असारदेखि २०५२ सम्म झन्डै चार दशक नेपालको कृषि क्षेत्रमा काम गरें। बागबानीविद्‍देखि कृषि विभाग तथा कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकसम्म हुने सौभाग्य पाएँ।

कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाएर २०१५ सालमा पुना कृषि कलेज, पुना विश्वविद्यालयबाट बिएस्सी गरेको हुँ। छात्रवृत्ति पाएर कलेजमा पढ्ने हामी सात जना थियौं। पढाइ सकेपछि फर्किएर हामी काममा लाग्यौं। हामीभन्दा अघिल्लो ब्याचका १०–११ जना र हाम्रो समूहका ११ जना कृषिमा स्नातक भएर देशको कृषि प्रशासन संलग्न भएका थियौं। देशमा त्यति बेला कृषि विशेषज्ञको उच्च माग थियो।

नेपालमा कृषि र ग्राम गरी दुई विभाग थिए। ग्राम विभागमा काम गर्दा म व्यावसायिक कृषि पालनतर्फ केन्द्रित भएँ। डोकाले छोपेर र सानो खोर बनाएर कुखुरा पाल्ने चलन थियो। हामीकहाँ कुखुरा पाल्ने प्रविधिको ज्ञान र पूर्वाधार केही थिएन।

हरिबहादुर केसी अमेरिकी सहयोग निकाय यूएसओएमअन्तर्गतको कृषि विज्ञका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँकै अग्रसरतामा कुखुरा पालन अघि बढाउन नेपालमा अमेरिकाबाट रोड आइल्यान्ड रेड प्रजातिको  कुखुरा ल्याइएको थियो। यस्तो कुखुरा र अण्डाको रङ खैरो हुन्छ।

रोड आइल्यान्ड रेड जातको कुखुरा पालन गर्न थालेको केही समयपछि अलि सानो जातको ‘ह्वाइट लङ हर्न’ कुखुरा ल्याइयो। त्यसपछि ब्याबकक प्रजातिको कुखुरा भित्र्याइए। तर सबै जात फस्टाउन सकेनन्।

अमेरिकी वैज्ञानिक भारतमा हरेक नागरिकलाई दैनिक एउटा अण्डा पुग्ने हिसाबले दिनको दुईवटासम्म अण्डा पार्ने कुखुराको विकासमा लागेका थिए। त्यति बेला उनीहरू पनि सफल हुन सकेका थिएनन्।

नेपालमा रोड आइल्यान्ड रेडको ‘स्टक ब्रिड’ ल्याएर पाल्न थालियो। हामीले त्यो जातको कुखुराको चल्ला कोरल्न स्थानीय नेपाली कुखुरा प्रयोग गर्‍यौं। तर चल्ला कोरल्न निकै समय लाग्दो रहेछ। यही बेला हरिबहादुर केसीले मट्टीतेलको टिनबाट ओथारो दिने इन्क्युबेटरको विकास गर्नुभयो।

इन्क्युबेटर बिस्तारै सफल भयो। चल्ला वितरण कार्यक्रम पनि विस्तार गर्दै गयौं। कुखुरापालन सफल पार्न हामीलाई कुखुराको दाना आवश्यक थियो। दाना कहाँबाट ल्याउने, कसरी बनाउने भन्ने विषयमा हाम्रो चासो बढ्न थाल्यो।

पशुपालन शाखाको प्रमुख हुनुहुन्थ्यो, जानकीप्रसाद प्रधान। उहाँले आफ्नै कार्यालयमा कार्यरत रत्नमानजीलाई दाना बनाउन सिकाउनुभयो।

रत्नमानजीको काठमाडौंको वटुमा सिरकडस्नाको पसल थियो। हामीले उहाँकै घरको भुइँतलामा कुखुराको दाना उत्पादन गर्न थाल्यौं। दानाको मात्रा मिलाउन जानकीप्रसादले सिकाउनुभयो। त्यो काममा म पनि संलग्न भएँ। दानामा मिसाइने पदार्थ साबेलले घोलघाल पारिन्थ्यो। अनि दाना तयार हुन्थ्यो। बजारमा माग थिएन। आवश्यक ठाउँमा जसोतसो पुर्‍याइन्थ्यो।

रत्नमानजीले दाना उत्पादनलाई नै निरन्तरता दिनुभयो। उहाँको रत्न फिड त अहिले देशकै अग्रणी उद्योगका रूपमा सञ्चालित छ।

सरकारी स्तरमा भने हेटौंडामा दाना उत्पादन कारखाना सञ्चालनमा आयो। पछिपछि त अन्य दाना उद्योग पनि सञ्चालनमा आउन थाले।

पूर्वी नेपालको इलाममा भारतबाट चल्ला ल्याएर कुखुरा पालन प्रवर्द्धन हुन थाल्यो । २०१६ सालतिर कालिङपोङबाट सुन्तला जातका बिरुवा तथा कलकत्ताबाट चल्ला र बंगुर ल्याएर इलाममा वितरण गरेका थियौं। कलकत्ताबाट कुखुराका चल्ला र बंगुर रेलमा हालेर दार्जलिङको घुम पहाडसम्म ल्याउँथ्यौं। त्यहाँबाट इलाममा ट्रकमा ल्याउँथ्यौं। यस कार्यमा म आफैं खटिएको थिएँ।

एक पटक हाम्रो टोली काठमाडाैंबाट हवाईजहाजमा जुम्लासम्म गयो। जुम्ला बागवानी केन्द्रका कर्मचारीको सहयोगमा दुई भरियाको व्यवस्था गर्‍यौं। मान्मासम्म बागवानीका कर्मचारीले सहयोग गरेका थिए।

बाटोमा एक ठाउँमा कुखुरा पालेको रहेछ। त्यहाँ केही अण्डा किन्यौं। अण्डा फुट्ला भनेर बडो जतनसँग बाल्टिनमा हालेर बागवानीका कर्मचारीलाई बोक्न दिएका थियौं। मान्मा पुगेर हेर्दा त बाल्टिनमा एउटा पनि अण्डा रहेनछ। अण्डा खोइ भनेर सोध्दा ती भरियाले बाल्टिन ढलेर सबै अण्डा फुटेको बताए।

पछि के थाहा पायौं भने जुम्लातिर खसले अण्डा खान त के छुन पनि नहुने रहेछ। हामीले किनेको अण्डालाई ती भरियाले फ्याँकिदिएको अनुमान गर्‍यौंं। १५ सालतिर जागिर सुरु गर्दा कुखुराको अण्डा खान कि त जन्मदिन आउनुपर्थ्याे कि त दसैंतिहार आउनुपर्थ्याे।

अचेल दिनको दुईवटा कुखुराको अण्डा सर्वसुलभ भएको छ। नेपाल अण्डामा आत्मनिर्भर भएको छ। कुखुरा पालन पनि व्यावसायिक बनेको छ।

कुखुरापालनकै सन्दर्भमा एउटा रमाइलो प्रसंग छ। म सन् १९७२ मा इजरायलमा आयोजित एफएओको तालिममा सहभागी भएको थिएँ।

त्यहाँको एउटा कुखुरापालन सहकारीले कुखुराको चल्ला बाँड्ने, दाना पुर्‍याउने, उत्पादित अण्डा संकलन गर्ने गर्दो रहेछ। अण्डा बेच्ने र त्यसको आम्दानीबाट चल्ला र दानाको मूल्य कटाएर बाँकी रकम कुखुरापालकलाई दिने जिम्मेवारी सहकारी थियो।

एकपटक सहकारीले चल्ला बाँड्यो, दाना दियो तर अण्डा पार्ने समयमा कुखुराले अण्डा दिएन। खोजतलास गर्दा दानामा चाहिने तत्त्व नै नहालिएको पत्ता लगायो। यसले गर्दा कुखुरापालक किसानलाई घाटा भएछ। तर त्यो घाटाजति सबै सहकारीले नै बेहोरेको थियो।

नेपालमा यस्तो व्यवस्थाको परिकल्पना गर्न गाह्रो छ। तर पनि नेपालमा कुखुरा पालन फस्टाएकै छ। कुखुरा पालनको कुरा गर्दा हरिबहादुर केसी, मेघविक्रम शाह, पर्लजंग राणा, जानकीप्रसाद प्रधान, रत्नमानजीहरूको योगदानलाई बिर्सन हुँदैन।

(२०१५ सालदेखि २०५२ सम्म नेपालको कृषि क्षेत्रमा कार्यरत कृषिविज्ञ शिवबहादुर नेपाली प्रधानसँग महेश्वर आचार्यले गरेको कुराकानीमा आधारित।) नेपाल लाइभ  

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech