३ जेष्ठ २०७९, मंगलवार

ती अनुसन्धानकर्ताको आँखामा ‘दासढुंगा’
  • न्युज मानसराेवर

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामाथि सन् २०१० मा निर्देशक मनोज पण्डितले सिनेमा नै बनाए– ‘दासढुंगा’।  किन यो घटनाको रहस्यलाई सुल्झाइएन? किन यसको अनुसन्धान टुंगिन पाएन? यो सिनेमाले प्रश्न गरेको छ।  यो घटनामाथि बनेको सिनेमामा दासढुंगाको अनुसन्धानकर्ताको भूमिका निर्वाह गर्ने पात्र हुन्, अनुप बराल। nसिनेमाका अनुसन्धानकर्ताको नजरमा के हो त ‘दासढुंगा’ ? यस्तो छ अभिनेता बरालका अनुभूति र दासढुंगा घटनाबारे सुनाएको दृष्टिकोणः 

सन् २००८ तिरै हुनुपर्छ, निर्देशक मनोज पण्डित र निर्माता अपिल विष्ट मलाई भेट्न आएका थिए। उनीहरु दासढुंगा घटनामाथि  सिनेमाभन्दा डकुमेन्ट्री बनाउने तयारीमा थिए। उनीहरुलाई एकजना ‘न्यारेटर’ चाहिएको थियो। त्यही न्यारेटरको खोजी गर्दै उनीहरु मसम्म आएका थिए।

कुरा गर्दै जाँदा उहाँहरुले काम गर्न लागेको विषय मलाई रोचक लाग्यो। संसारमा यस्ता ठूला काण्डमाथि धेरै सिनेमा बनेका छन्। यो विषयमा पनि राम्रोसँग काम गर्ने हो भने डकुमेन्ट्री किन, सिनेमा नै बन्छ नि भनेर मैले सुझाव पनि दिए। उहाँहरु त्यो सम्भावना पनि छ भनेर त्यो दिन निस्किनुभयो।

दासढुंगामाथि त्यतिबेला विभिन्न तर्कहरु, प्रश्नहरु उठिरहेका थिए। यो समाधान भइसकेको घटना पनि थिएन। त्यसकारण यसको कथा कसरी भन्ने, निर्माण टिमबीच अन्योल नै थियो। कतिपय कुराहरु प्रमाणबिना सिधै भन्न सकिने अवस्था पनि थिएन। ‘कन्सपिरेसी थ्योरी’जसरी सिधै भन्न पनि गाह्रो थियो।

मेरो सुझाव के थियो भने समाधान नभइसकेको यो घटनामाथि तर्क–वितर्क दुवै राख्ने अनि दर्शकलाई विचार–विमर्शका बाटो खोजिदिने। त्यही अनुसार स्क्रिप्ट तयार भयो।

जहाँसम्म यो सिनेमामा मैले निर्वाह गरेको पात्र अनुसन्धानदाता (इन्भेस्टिेगटर) किरणको कुरा छ, त्यसबारे पनि मलाई खासै जानकारी थिएन। सुरुदेखि नै यो फिल्मका लागि घटनाबारे रिसर्चको काम किरण पौड्यालले गर्नुभएको थियो।

फिल्ममा बयानका क्रममा अमर लामासँग गरिएका संवादहरुले पनि यो हत्या पनि हो कि भन्नेतिर संकेत गरेजस्तो देखिन्छ। मकहाँ सन्दर्भ सामग्रीका रुपमा त्यो पनि आइपुगेको थियो। एउटा कलाकारले यथार्थवादी चरित्रहरु गर्दाखेरी उसको मुख्य स्रोत भनेको उसको जीवन नै हुन्छ। पात्रको हाउभाउ, बडी ल्याङ्ग्वेज र मनोदशाहरुलाई पक्रने कोसिस हुन्छ। जुन चिजहरु यथार्थ र कल्पनाको आँगनमा ओहोरदोहोर गरिरहेका हुन्छन्, ती पात्रहरुमा काम गर्न साँच्चै गाह्रो हुन्छ। एकातिर सन्दर्भ सामग्री पनि थोरै, अर्कोतिर रियल पात्र पनि भेटेको थिएन, त्यसैले पात्रलाई यथार्थपरक बनाउन ममा चुनौती नै थियो।

म पहिल्यैदेखि जासुसी उपन्यासहरु एकदमै पढ्थेँ। जासुसी उपन्यासमा सामान्यतयाः अनुसन्धानका दुइटा तरिका भेट्थेँ। एउटा तरिका– साधारण, केही पनि थाहा नभएजस्तो गरेर अनुसन्धान गर्ने। अर्को एकदमै बौद्धिक भएर तर्कहरु केही नगरीकन पनि आफ्नो कुराहरु निकाल्न सक्ने। पछि यो पात्र मेरो काँधमा आइपुगेपछि पनि मैले यसमा धेरै अध्ययनहरु गरेँ।

मैले निर्वाह गरेको पात्रलाई पछि गरेर सिजोफेनिक रोग लागेको पनि देखाइएको छ। त्यस्तो रोग लागेको पात्रलाई आफूले एकपटक भोगिसकेको घटना या पात्र, फेरि पनि कल्पनामा भोगिरहने समस्या हुन्छ। एक्लै पनि कल्पनामा उसले ती पात्रहरुसँग संवाद गर्छ। एकपल्ट भेटेका पात्रहरुलाई आफ्नो जीवनको कल्पनामा दोहोर्‍याइ तेहेर्‍याइ देखिरहन्छ। त्यतिबेला पात्रको यो समस्याबारे मैले डाक्टरहरुलाई सोधेर थाहा पाएको थिएँ।

मनमा यो चीजहरुलाई कसरी न्याय दिने भन्ने थियो। त्यसपछि विभिन्न उपन्यासमा जस्तै मैले मेरो क्यारेक्टरलाई छाता बोक्ने, ह्याट लगाउने बनाइदिएँ। त्यसको स्रोतचाहिँ यो मान्छे नेपाल आउनुभन्दा अगाडि आयरल्यान्डमा ट्रेनिङ गर्न गएको थियो। त्यहाँ उसको गुरुहरुले ह्याट लगाएको देख्यो। त्यहीकारण उसले पनि ह्याट लगाउँछ।

फिल्ममा किरण भन्ने पात्र बिरामी पनि छ। जो मान्छे देशकै सबैभन्दा भयानक घटनाको अनुसन्धान गर्छु भनेर हिँडेको हुन्छ, त्यो मान्छेलाई स्वभाविक रुपमा धेरै धम्कीहरु आउँछन्। धम्कीहरु आएपछि पक्कै उसले असुरक्षा महसुस गर्छ। असुरक्षित महसुस गर्दैगर्दा ‘म कतिबेला मारिने हो’ भन्ने भयले त्यो मान्छे मानसिक रुपमा बिरामी पनि हुँँदै जाने हुनसक्छ। त्यस्तो मान्छे मैले मेरो यथार्थ जीवनमा पनि धेरै देखेको छु। त्यही भएर ती पात्रलाई मैले किरणसँग कनेक्ट गरेँ। त्यहीभएर त्यो पात्रले लगाउने छाता र टोपी लगाउनुको मनोवैज्ञानिक कारण उभित्रको डर पनि हुनसक्छ। किनभने छाता–टोपी त घामपानी छेक्नलाई बोकिने साधन पनि त हुन्।

अनि रमाइलोचाहिँ के थियो भने फिल्म सुटिङका क्रममा कतिपय रियल पात्रहरुसँग गएर पनि गफ गरियो। नारायणघाटमा गएर त्यहाँका पसलेहरुसँग गरिएको कुराकानी अझै ताजा छ। नारायणी नदीको किनारमा शव भेटिएको भनिएको ठाउँ। अनि त्यहाँ पुग्दा शव गोहीले खाएको कुरा। त्यो नभेटिएको शव अझै पनि मेरा आँखामा झल्झली नाच्छन्।

सुटिङका क्रममा निर्देशकले भनेअनुसार त्यो किरण भन्ने अनुसन्धानदाता यथार्थमै पनि छ। तर, मैलेचाहिँ भेट्न पाइनँ। मलाई अहिले पनि थाहा छैन, मैले निर्वाह गरेको रियल पात्र कहाँ छ? सुरक्षित अवतरण गराउनकै लागि होला, फिल्मको अन्त्यमा पनि त्यो पात्र एक्कासी गायब हुन्छ।

यो फिल्ममा काम गर्दाताकाका धेरै अविस्मरणीय क्षणहरु छन्। तर, छाता भाँच्चिएको एउटा दृश्य म सधैँ सम्झिरहन्छु। फिल्मभित्र हस्पिटलको एक दृश्यमा मेरो छाता एक्कासि भाँच्चिन्छ। खासमा त्यो छाता भाँच्चिनु हुन्थेन। छाता भाँच्चिएपछि ममा अन्योल सिर्जना भएको थियो। तर, सुटिङताका कसैले पनि ‘कट’ भनेनन्। त्यसपछि मैले पनि आफूलाई रोकिनँ। परिस्थिति फरक भए पनि म निरन्तर बगिरहेँ। तैपनि सिनेमामा त्यसलाई हेर्दा मैले अस्वाभाविक पाइनँ। पात्रको दिग्भ्रम त्यतिबेला झन् स्वभाविक र मुखरित भएर आएको रहेछ। कहिले कहिले योजना बनाएर गरिएका कामभन्दा ‘अन दि स्पट’ अस्वभाविक ढंगले घटिदिने घटनाहरु पनि स्वभाविक भएर आइदिँदा रहेछन्।

यो फिल्ममा कमजोरी होलान्, मेरो आफ्नै काममा पनि होलान्, तैपनि मेरो सिनेमा करिअरमा यसले विशेष अर्थ राख्छ। यही फिल्ममा काम गरेपछि हो, फिल्म क्षेत्रले मलाई एक्टरका रुपमा स्वीकार गरेको। सहरमा ‘नयाँ एक्टर आएछ’ भनेर त्यसपछि धेरैले मलाई कामको अफर गरे। अर्को कुरा, देशले विशेष दृष्टिबाट हेरिरहेको एउटा घटनामाथि बनेको फिल्ममा काम गर्न पाउनु जो कोही सर्जकका लागि सौभाग्यकै विषय हो, यो मेरो लागि पनि त्यस्तै भयो।

मेरो विचारमा मदन भण्डारी छिटो लोकप्रिय हुनुभएको नेता हुनुहुन्थ्यो। उहाँको बहुदलिय जनवादको सिद्धान्त साह्रै उपयोगी थियो। साउथ एसियामै उहाँको प्रभाव र पकड बलियो थियो। साउथ एसियामा कम्युनिस्टहरु विकास देखेर बाहिर धेरै मान्छेहरुलाई अप्ठेरो लागिरहेको हुनसक्छ।

सिनेमामा मैले यो घटनाको अनुसन्धानदाताको भूमिका निर्वाह गरेको आज एक दशकभन्दा बढी भइसकेको छ। तैपनि आजसम्म यो रहस्यको पर्दा खुल्न सकेको छैन। तर मलाई सधैँ उहाँको निधन एउटा दुर्घटनामात्रै हो जस्तो लाग्दैन। पक्कै त्यतिबेला केही चलखेल भएको हुनुपर्छ भन्ने लागिरहन्छ।

हाम्रो देशको राजनीति हेर्दाखेरी पनि यहाँ षड्यन्त्र गरेर पदबाट हटाउनेजस्ता क्रियाकलापहरु धेरैपल्ट भएकै छन्। हामी सबैले भोगेको र देखेकै कुरा हो। अमर लामाले दिएको बयानमा पनि त्यतिबेला पार्टीभित्रै मान्छेहरु उनीसँग असन्तुष्टि थिए भन्ने कुरा आएको छ। यद्यपि त्यो प्रमाणित विषय भएन।

मदन–आश्रित दुर्घटनामा जसरी गाडी खसेको छ, जसरी चालकमात्रै बाँचेको छ, ती सबै केलाउँदाखेरी धेरै शंका गर्ने ठाउँहरु देखिन्छन्। पक्कै पनि केही न केही षड्यन्त्र भएजस्तो देखिन्छ।

त्यो घटनाको सत्यतथ्य पत्ता लगाउन सक्ने अन्तिम पात्र त अमर लामा नै थिए। तर, उनी नै मारिएपछि यो घटना झन् रहस्यको अनन्त गर्तमा खसेको छ। र, अब यसलाई पत्ता लगाउने दायित्व राज्यको नै हो।  नेपाल लाइभ

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech