कोभिड–१९ महामारीले केही समुदाय, मुलुक र क्षेत्रलाई अन्यभन्दा धेरै ठूलो असर पारेको छ नै साथै हाम्रो भाग्य एकापसमा जेलिएको छ भन्ने पनि यसले स्मरण गराएको छ । भविष्यमा महामारीको सम्भावना बोकेका अन्य धेरै रोग, जीवाणु हुनेछन्, तर तिनले यस्तो विनाशकारी अवस्था सिर्जना गराउँछन् कि गराउँदैनन् भन्ने कुरा पूर्ण रूपमा हामीमा नै निर्भर रहनेछ ।
जेनेभा–विश्व स्वास्थ्य संगठन महानिर्देशकको कोभिड–१९ सम्बन्धी विशेष दूतहरू को रूपमा हामीले यो महामारीले उत्पन्न गराएको गहिरो पीडाको प्रत्यक्ष अनुभव गरेका छौं । विशेषगरी गरिब समुदायहरूमा यो पीडा अति नै गहिरो छ । यो गहिरो पीडा हाम्रो आँखाको अगाडि नै बढिरहेको छ र यसको अन्त्य हुने छाँटकाट कतै देखिँदैन ।
हाम्रो अनुभवमा एउटा सङ्क्रामक रोगको प्रतिकार्यमा पहिलो प्राथमिकता भनेको जीवन बचाउनु र वर्तमान एवम् भावी पुस्ताहरूको स्वास्थ्य तथा हितको रक्षा गर्नु हो । सोही समयमा यो कोभिड–१९ ले गराएको विशाल सामाजिक तथा आर्थिक क्षतिबाट हामी धेरै नै चिन्तित हुँदै आइरहेका छौं। कोरोनाभाइरसको निरन्तर खतराबीचमा पनि संसारभरका मानिसहरूले आफ्नो जीविकोपार्जन जोगाउन संघर्ष गरिरहेका छन् र यस्तो परिस्थितिले यो महामारी एउटा स्वास्थ्य आपतकालभन्दा पनि बढी रहेको स्पष्ट भएको छ । यो विश्वभरका सम्पूर्ण सामाजको एउटा सङ्कट बनेको छ ।
यस सन्दर्भमा हाम्रो एउटा सबभन्दा ठूलो डर भनेको दशकौंको सुधारपछि भावी पुस्ताहरूको सम्भावनाहरू अचानक खस्केको छ । केही क्षेत्रहरूले त विगत २० वर्षमा हासिल गरेका उपलब्धिहरू ठप्प रहँदै पछाडि फर्केको अनुभव गरिरहेका छन् । उच्चतर रोजगारी, विस्तारित अत्यावश्यक सेवाहरू र उन्नत शिक्षा (विशेषगरी बालिकाहरूको शिक्षा) जस्ता उपलब्धिहरू जोखिममा छन् । पूर्वाधारमा भएका विकासहरू, खानेपानी तथा सरसफाइ, रोग नियन्त्रण, राजनीतिक स्थायित्व र शासकीय संयन्त्रहरूको अवस्था पनि यस्तै रहेको छ ।
सन् २०३० सम्म पूरा गर्ने गरी तय गरिएका दिगो विकास लक्ष्यहरूको मार्गमा अन्तर्राष्ट्रिय समुदायको गतिशीलता हराउनुले निकै ठूलो मूल्य चुकाउनेछ र यसमध्ये धेरैजसो अति जोखिममा रहेका वर्गले नै चुकाउनेछन् । खोपको उपलब्धतालाई नै विचार गरौं । अभूतपूर्व विश्वव्यापी वैज्ञानिक सहकार्यबाट अन्तर्राष्ट्रिय समुदायले प्रविधिको साझेदारीलाई सहजीकरण गर्न कोभिड–१९ नियन्त्रण साधनमा पहुँचलाई गतिशील बनाउने संयन्त्र कोभिड–१९ टूल एक्सलेरेटर (एसीटी) र संसारभर खोपहरू समतामूलक र दक्षतापूर्वक प्रवाह गर्न कोभिड–१९ खोपमा विश्व पहुँच बनाउने संयन्त्र कोभ्याक्स फेसिलिटी को निर्माण गर्यो ।
तर विश्वभर खोपका करोडौं मात्राहरू लगाइएको भए पनि खोपको वितरणमा गहिरो असमानताहरू रहेका छन् । उच्च आय भएका मुलुकहरूमा खोपको आपूर्ति औसतमा हरेक चारमध्ये एकलाई प्रदान गर्न सकिने गरी पर्याप्त रहेका छन् भने न्यून आय भएका मुलुकहरूमा यो आंकडा एक जनाले पाउने अवस्था पुगेको छ । यो बिन्दुमा के भन्न सकिन्छ भने यी नयाँ प्रविधिहरू सबैमा उपलब्ध हुने अवस्था सिर्जना नहुँदासम्म कोही पनि सुरक्षित रहने छैन । हामी जति ढिलो गर्छौं, यस भाइरसको खतरनाक नयाँ प्रजातिहरू (भेरिएन्टहरू) उत्पत्ति हुने जोखिम त्यत्ति नै धेरै रहन्छ ।
कोभिड–१९ गराउने सार्स–कोरोनाभाइरस–२ नै मानव जातिले सामना गर्ने अन्तिम संक्रामक रोग पक्कै पनि होइन । तर यति धेरै मूल्य चुकाउने अवस्था उत्पन्न गर्ने सम्भवत यौ नै अन्तिम रोग बन्छ होला । यसपछि आउने महामारी रोकथाम गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा हामी सबैमा नै निर्भर गर्दछ । विश्व स्वास्थ्य संगठनको कानूनी ढाँचाको रूपमा रहेको र रोगाणुहरूको सीमापार फैलावट र अन्य स्वास्थ्य आपतकालका अवस्थाका लागि कसरी तयारी र सम्बोधन गर्ने भन्ने कुराहरू उल्लेख गरिएका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू कार्यान्वयन गर्ने कुरामा सबै मुलुकहरूको प्रतिबद्धतामा नै सफलता निर्भर रहनेछ ।
विद्यमान उपायहरू पूर्ण रूपमा पालना गर्नुको साथसाथै विश्व नेताहरूले थप ६ वटा चरणहरू अवलम्बन गर्नुपर्छ । पहिलो, अर्को सम्भावित विश्व महामारीलाई सकेसम्म छिटो पहिचान गर्न सक्ने गरी विश्वव्यापी पूर्वतयारीमा हामीले नाटकीय ढङ्गले लगानी बढाउनुपर्छ । केले राम्रोसँग काम गर्छ भन्ने सम्बन्धमा अहिले प्रशस्त प्रमाणहरू उपलब्ध छन् र अत्यावश्यक प्रणालीहरू कसरी क्रियाशील हुनुपर्छ र सबैतिर त्यसलाई क्रियाशील गराउने भन्नेसम्बन्धी निकै दुःखले आर्जेका अनुभवहरू हामीसँग छन् । सबै मुलकहरूले दू्रत गतिमा सान्दर्भिक जानकारीहरू बाँड्ने र ती जानकारीहरूको विश्वसनीयता सुनिश्चित गर्ने कुरामा प्रतिबद्धता जनाउनुपर्छ ।
दोस्रो, मानवबाट जनावरहरू र वातावरणमा रोगाणुहरू सर्नबाट रोकथाम गर्न हामीले धेरै काम गर्नुपर्छ । यसको अर्थ सीमापार हुने फैलावटको जोखिमको अनुमान गर्दै “एक स्वास्थ्य” मानसिकता राख्नुपर्छ जसले जैविक अन्तरनिर्भरता प्रतिको सचेतना र नाजुक पारिस्थितिकीय प्रणालीहरूको रक्षा गर्ने हाम्रो साझा दायित्वहरूलाई प्रतिविम्बित गर्दछ ।
तेस्रो, सतर्क रहने घण्टी बजेपछि सबै मुलुकहरू दू्रत रूपमा प्रतिकार्यमा लाग्नेछन् भन्ने कुराको हामीले सुनिश्चित गर्नुपर्ने हुन्छ । यसको लागि स्थानीय, राष्ट्रिय र क्षेत्रीय स्वास्थ्य प्रणालीहरूमा तत्काल अझ धेरै लगानी गर्नुपर्ने देखिन्छ । विशेषगरी यो लगानी दू्रत पहिचान र प्रतिकार्य गर्ने कुरामा क्षमता नभएका वा कम भएका स्वास्थ्य प्रणालीहरूमा तुरुन्त बढाउनुपर्ने हुन्छ ।
चौथो, सरकारी अधिकारीहरूले रचनात्मक अन्तर्राष्ट्रिय सहकार्यमा प्रतिबद्धता जनाउँदै र त्यसमा सहभागी हुँदै मार्गदर्शक नेतृत्व देखाउनुपर्ने हुन्छ । यो नहुँदा विश्व सँधै जोखिममा नै रहनेछ । विश्व स्वास्थ्य संगठनको दूतहरूको रूपमा, विश्व महामारीमा पूर्वतयारीसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सन्धिको लागि विभिन्न २६ मुलुक र सरकारका प्रमुखहरू, युरोपियन काउन्सिलका अध्यक्ष र विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अधानोम गेब्रेयेसुसबाट गरिएको आह्वनबाट हामी उत्साहित छौँ । यस प्रयासले सरकारहरूबीच उच्चस्तरीय समन्वयको लागि एउटा ठोस आधार प्रदान गर्नेछ । आदर्श रूपमा, यो अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको पूरकको रूपमा तर्जुमा गरिएको एउटा नयाँ अनुबन्धको रूपमा देखा पर्नेछ र यसको आवश्यक पर्ने सबै राष्ट्रिय प्रणालीहरूमा तत्काल सुधारको गतिलाई प्रेरित गर्नेछ ।
पाँचौं, स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न खोप, निदान र उपचार पद्धति विकास गर्न र सोको प्रवाह गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई हामीले जोडतोडले अघि बढाउनै पर्छ । यसको अर्थ, कोभिड–१९ टुल एक्सलेरेटर पहुँच (एसीटी–ए) जस्ता पहलकदमीहरूलाई मजबुत बनाउँदै अत्यावश्यक स्वास्थ्य प्रविधिहरू आवश्यक पर्ने वर्गहरूका लागि ती प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्ने एउटा स्थायी अग्रगामी संयन्त्रको स्थापना गर्नुपर्छ ।
अन्तमा, सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो सङ्कटको प्रतिकार्य प्रयासलाई फरक ढंगले तत्काल पुनर्संगठित गर्नुपर्ने आवश्यकता छ । सबैले समता तथा निष्पक्षताको जगमा निर्माण भएको, वर्तमान विश्व महामारी सकेसम्म चाँडो अन्त्य गर्ने एकल सोच लक्ष्यबाट प्रेरित र ऐक्यबद्धता, विज्ञान एवम् समाधानको विश्व स्वास्थ्य संगठनको मन्त्र अनुरूपको एकल र समन्वयात्मक रणनीतिमा सहयोग गर्ने पुनः प्रतिबद्धता जनाउनुपर्छ ।
कोभिड–१९ को लागि विशेष दूतहरूको रूपमा हामीले मुलुक र समुदायहरूलाई उनीहरूले सामना गरेको यस वर्तमान सङ्कटमा गर्ने सहयोगलाई निरन्तरता दिनेछौँ । हाल हामीले सकेसम्म सम्भावित क्षतिको रोकथाम र न्यूनीकरण गर्ने हो र यसको लागि सही जनस्वास्थ्य नीतिहरू कार्यान्वयन गर्न र क्षमताको कमी रहेका ठाउँमा क्षमता विकास गर्न सबै मुलकहरूले आफ्नो क्षेत्रभित्र र अन्य मुलुकहरूसँग मिलेर ठोस कदम बढाउनुपर्छ । यी प्रयासहरूलाई दिगो बनाउन जरुरी हुनेछ, किनकि भाइरसको वर्तमान प्रजाति र भावी उपप्रजातिविरुद्धको खोपहरू सबैमा पुग्न महिनौं वा अझ भनौं वर्षौं पनि लाग्न सक्नेछ ।
अर्को प्रकोपको फैलावटको रोकथाम, सोको तयारी र व्यवस्थापनमा मद्दत गर्न सबैले आफ्नो पक्षबाट सक्दो भूमिका खेल्न हामी सबैमा अपील गर्दछौँ । यसभन्दा पनि मुख्य कुरा, साझा हितको लागि कार्य गर्न आवश्यक पर्ने ऐक्यबद्धता निर्माण गर्न आजका विश्व नेतृत्व वर्गलाई हामी आह्वान गर्दछौँ । विश्व नेतृत्वहरूले आज गर्ने निर्णयले अहिलेका र भावी पुस्ताका सबैको हितमा प्रभाव पार्नेछ ।
यो लेख प्रोजेक्ट सिण्डिकेटबाट अनुवाद गरिएको हो ।