४ बैशाख २०८१, मंगलवार

कछुवा जोगाउने कल्ले?
  • केशव राना

खरायो र कछुवाको कथा तपाईंहामी धेरैले सुनेका छौं। जहाँ सुस्त हिँड्ने जीव कछुवा र छिटो कुद्ने खरायोबीच दौड प्रतिस्पर्धा हुन्छ। कछुवालाई जितिहाल्छु भन्ने घमण्डका कारण लक्ष्यमा नपुग्दै एकछिन आराम गर्छु भन्दा खरायो भुसुक्क निदाउँछ। उता कछुवा लगातारको हिँडाइले पहिले लक्ष्यमा पुग्छ र जित्छ।

यो प्रेरणादायी कथा सार्वकालिक छ। मानिसले धैर्यपूर्वक निरन्तर अगाडि बढ्न प्रेरणा लिने कछुवा भने बिर्सन थालेको छ। उल्टै कुनै काममा ढिलाइ भयो भने ‘कस्तो कछुवा गतिमा!’ भन्ने गरिन्छ। तर यसो भन्ने धेरैलाई कछुवाको गतिबारे थाहा नहुन सक्छ।

बिस्तारै हिँड्ने कछुवाले मानिस र प्रकृतिका लागि पनि उपयोगी काम गर्छ भन्नेचाहिँ अझ थोरैलाई मात्र थाहा हुन सक्छ। जसरी गिद्धलाई थलको कुचीकारका रूपमा लिइन्छ, त्यसरी नै कछुवा पनि जलको कुचीकार हो। यसले जलीय पारिस्थिकीय प्रणाली सन्तुलनमा राख्न सहयोग गर्ने जीव वैज्ञानिकहरु बताउँछन्। कछुवाले गड्यौंला, चिप्लेकीरा, गंगटालगायत खाएर तिनीहरूको संख्या व्यवस्थापनमा सहयोग गर्छ।

‘कछुवाले बिरामी, सडेगलेका जीवजन्तु, लार्भालगायत खाएर पानीलाई स्वच्छ बनाइराख्न मद्दत गर्छ,’ ग्रिनहुड नेपालकी अध्ययनकर्ता तथा ग्लोबल युथ बायोडाइभरसिटी नेटवर्क (जीवाईबीएन) नेपालकी कोअर्डिनेटर अस्मिता श्रेष्ठ भन्छिन्। जमिनमा बस्ने कछुवाले बनाउने दुलोमा ३ सय ५० प्रजातिका अन्य जीव बस्छन्। आगलागी हुँदा त्यस्ता प्रजातिले आश्रय लिन पाउँछन्।

कतिपय बिरुवा फैलाउन कछुवा सहयोगी हुने वातावरण अध्ययन तथा संरक्षण केन्द्रका अध्येता चन्द्रमणि अर्याल बताउँछन्। ‘कतिपय बिरुवाका दाना कछुवाले खाएर डाइजेस्ट गर्छ,’ उनी भन्छन्, ‘विभिन्न ठाउँमा गएर दिसा गर्दा बिरुवा फैलन मद्दत गर्छ।’ त्यसैले कछुवा जोगाउनु भनेको वनजंगल, सिमसार र नदीनाला जोगाउनुसरह हो।

तर संरक्षणमा चासो नदिँदा उभयचर प्रजातिको कछुवा लोप हुने अवस्थामा पुगेको छ। बाघ, हात्ती, गैंडालगायत ठूला जनावरलाई प्राथमिकतामा राखेर अध्ययनअनुसन्धान र संरक्षणका कार्यक्रम लागू गरिएका छन्। सरकारी मात्र होइन, दाता पनि ठूला जनावरको संरक्षणमा सघाउन तयार हुन्छन्।  कछुवा संरक्षणमा कतैबाट पनि चासो नदेखाइँदा यो जीव संकटापन्न अवस्थामा पुगेको छ।

संकटमा कछुवा

नेपालमा १६ प्रजाति र दुई उपप्रजातिका कछुवा पाइन्छन्। कछुवा उद्धार तथा संरक्षण केन्द्रका प्रतिनिधि तपिलप्रकाश राईले कछुवा संकटापन्न अवस्थामा रहेको बताए। दुई वर्षअघि गरिएको एक अध्ययनले नेपालमा पाइने कछुवा प्रजातिमध्ये ६० प्रतिशत लोपोन्मुख अवस्थामा रहेको देखाएको थियो।

‘कछुवा लोप हुने अवस्थामा छ,’ राईले भने, ‘नेपालमा पाइने ७५ प्रतिशत कछुवा लोप हुने खतरामा छन्।’

बढ्दो चोरीसिकारी, मानवीय अतिक्रमण, पानीको स्रोत र वासस्थान व्यवस्थापन नहुँदा कछुवा संकटमा पर्न थालेको वातावरण अध्ययन तथा संरक्षण केन्द्रका अध्येयता एवम् पद्मकन्या क्याम्पसका उपप्राध्यापक अर्याल बताउँछन्।

‘मानिसमा कछुवा जोगाउनुपर्छ भन्ने सचेतनाको कमी छ,’ अर्यालले भने, ‘देख्यो कि खाइदिहाल्छन्। तराईका पोखरीमा माछापालनका लागि ठेक्का दिइएको हुन्छ। त्यस्तो बेला जालमा परेका कछुवा मानिसले बिक्री गर्छन् वा खान्छन्। यसैले पनि कछुवा संरक्षण थप चुनौती थपिएको छ।’

चीन र भियतनाममा कछुवाको ठूलो बजार छ। नेपाललाई ट्रान्जिट बनाएर भारतबाट समेत चोरी सिकार हुने गरेको सरोकारवालाहरुको भनाइ छ।

जीवाईबीएन नेपालकी कोअर्डिनेटर श्रेष्ठ पनि चोरी सिकार बढेका कारण कछुवा संकटमा परेको बताउँछिन्। ‘कोसीटप्पुमा ठूलो मात्रामा कछुवा बेचबिखन भएको पाइएको थियो,’ उनले भनिन्, ‘कछुवा भेट्यो कि मारिहाल्ने, नरम खबटावालाको चाहिँ मासु खाने गरिन्छ।’

मानवीय अतिक्रमण र जलवायु परिवर्तनका कारण सिमसार, पोखरी, खोलानाला सुक्दै गएकाले कछुवाको वासस्थान संकटमा पर्दै गएको संरक्षणकर्मी बताउँछन्।

अन्धविश्वासका कारण पनि कछुवा संकटमा परेको छ। ‘कतिपयले घरपालुवा जनावरजस्तै ‘गुडलक’ का लागि पाल्दा रहेछन्,’ श्रेष्ठले भनिन्, ‘कछुवाका खबटा गोठमा राख्दा गाईबस्तुलाई रोग लाग्दैन भन्ने अन्धविश्वास छ।’

कछुवाको चोरी सिकार तथा अन्य अवैध काम भए कानुनी कारबाही हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी हरिभद्र आचार्य बताउँछन्। ‘कछुवाको मासु खाने, घरमा पाल्नेलगायत सुन्नमा आएको छ,’ उनले भने, ‘अवैध काम भएको पाइए कारबाही हुन्छ।’

भएन अध्ययन

संरक्षणको अभिन्न अंग अनुसन्धान हो। वन्यजन्तुका बारेमा पनि अनुसन्धान बिना संरक्षणका योजना बनाउन गाह्रो हुन्छ। अरू अनुसन्धानभन्दा प्राणीको अनुसन्धान वासस्थानमै गएर गर्नुपर्छ। उनीहरूको गतिविधि नियाल्नुपर्ने भएकाले समय, लगाव र लगानी आवश्यक हुन्छ।

सन् १९९५ मा प्रा. करणबहादुर शाहको नेतृत्वमा र पाँच वर्षपछि सन् २००० मा कालुराम खुम्बुको नेतृत्वमा नेपालका कछुवाको अध्ययन भएको थियो। २००८–०९ मा तराईका १ सय २० ठाउँका पोखरी, खोला, सिमसारमा उभयचरसम्बन्धी अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्यालको समूहले अध्ययन गरेपछि बृहत् अध्ययन भएको छैन।

कछुवाका क्षेत्रमा अद्यावधिक अनुसन्धान हुन नसक्दा संरक्षण पनि हुन सकेको छैन। नेपालमा लाम्चे, ध्वाँसे कण्ठे पाते, तीनपाटे पहाडी, बाहुने खोले, पहेंलो भुँडे धुरीलगायत १६ प्रजातिका कछुवा पाइन्छन्। तीमध्ये २ वटा उपप्रजाति छन्।

अनुसन्धानकर्ता अर्याल नेपालमा कछुवाको पछिल्लो अवस्था के छ भन्न नसकिने बताउँछन्। ‘१६ प्रजातिका कछुवा कहाँ कति छन्? तिनको वितरण र संख्या के छ भन्ने यकिन तथ्यांक छैन’, उनी भन्छन्।

कछुवा अध्ययन विश्वविद्यालयका शोध लेखन र अध्ययनमा सीमित रहेको विज्ञहरुको भनाइ छ। त्यसो त विश्वविद्यालयका पाठ्यक्रममा समावेश भए पनि अध्ययन सामग्री नहुँदा विद्यार्थी अलमलमा पर्ने गरेका छन्।

उपप्रध्यापक चन्द्रमणि अर्याल पाठ्यक्रममा असाध्यै सीमित पाठ्य विषय समेटिएको बताउँछन्। ‘सानोमा कछुवा र खरायोको कथा पढ्यौं त्यही हो,’ उनी भन्छन्, ‘सञ्चारमाध्यममा पनि कछुवाका समाचार आउँदैनन्। त्यस कारण समुदायस्तरमा सचेतना फैलाउन सकिएको छैन।’

कछुवा संरक्षण कार्यसूचीको प्राथमिकतामा नपरेकाले यसबारे अनुसन्धान हुन नसकेको संरक्षणकर्मी बताउँछन्। किताबमा पढे पनि धेरैलाई कछुवाबारे थाहा छैन। उनी भन्छन्, ‘कछुवा संरक्षणसम्बन्धी कुनै सामग्री नै छैन।’ अर्को कुरा अन्य वन्यजन्तुजस्तो गणना गर्न गाह्रो छ। यस्तै कछुवाले पारिस्थिकीय प्रणालीमा पार्ने महत्त्वबारे धेरै मानिस बेखबर छन्।

नाम मात्रैको संरक्षण प्रयास 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिस्ट तथा सूचना अधिकारी हरिभद्र आचार्य कछुवाकै लागि केन्द्रित भएर कार्यक्रम नबनेको स्वीकार्छन्। ‘यद्यपि संरक्षणका केही काम भने भएका छन्,’ आचार्य भन्छन्, ‘चितवनको कसरामा कछुवा प्रजनन केन्द्र जस्तो प्रारुपको सेवा केन्द्र बनाइएको छ।’

विभागले संरक्षित क्षेत्रमा संयोजन गर्ने व्यवस्थापन योजनामा पारिस्थितिकीय प्रणाली, वासस्थान व्यवस्थापनलगायत कार्यक्रममा कछुवालाई पनि समेटिने उनी बताउँछन्। अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्याल भने कछुवा संरक्षणमा सरकारी प्रयास अत्यन्तै न्यून रहेको बताउँछन्।

उनी भन्छन्, ‘ठूला जनावर जोगाउन ठूलो क्षेत्र संरक्षित गरिने हुँदा साना प्राणी पनि जोगिन्छन् भन्ने सरकारी तर्क छ तर संरक्षित क्षेत्रबाहिरका कछुवा प्रजाति जोखिममा छन्।’ नेपालको तराई क्षेत्रमा मात्रै पाइने कछुवामा धेरैको ध्यान गएको छैन।

जोगाउने कसरी?

कछुवा उद्धार तथा संरक्षण केन्द्र क्लब झापाका संयोजक सविन अधिकारीले कछुवा जोगाउन जनचेतना आवश्यक रहेको बताउँछन्।

‘घाँस काट्न जाँदा वा माछा मार्न जाँदा भेटियो भने कसैले खाने र कसैले पाल्ने गरेको पाइन्छ,’ उनले भने, ‘कतिपय रेस्टुरेन्टहरूले कछुवाको मासु पनि बेच्ने गरेको पाइन्छ।’ धेरैलाई कछुवा छोप्न हुँदैन, यसको मासु खानु वा बेचबिखन गर्नु दण्डनीय हुन्छ भन्ने जानकारी छैन।

कोसीटप्पु क्षेत्रमा बेचबिखनको अवस्था अध्ययन गरेकी अस्मिता श्रेष्ठले कछुवा संरक्षणका लागि पहिले विस्तृत अध्ययन हुनुपर्ने बताइन्। ‘कछुवाको बासस्थान नजिक बस्नेहरूलाई के कस्तो कछुवा हो, यसको महत्त्व के हुन्छ भन्ने थाहा छैन,’ उनले भनिन्, ‘एकजना माझी कछुवा लिएर कोसीटप्पु आरक्षको कार्यालयअगाडि बेच्न बस्नुभएको रहेछ। कछुवाको बिक्रीवितरण गर्नहुँदैन भनेर थाहा भएको भए किन बस्नुहुन्थ्यो होला र?’

जीवको संरक्षण समुदायको जीवनयापनसँग जोड्न सकियो भने मात्रै सम्भव हुने उपप्रध्यापक अर्यालको भनाइ छ। त्यस्तै पोखरी, सिमसारहरू ठेक्कामा दिने चलनको पनि नियमन हुनुपर्ने उनी बताउँछन् ।

कछुवा उद्धार तथा संरक्षण केन्द्र प्रतिनिधि राईले भने धार्मिक विश्वाससँग  जोडेर पनि कछुवाको संरक्षण गर्न सकिने औंल्याउँछन्। ‘हिन्दू धर्ममा कछुवालाई विष्णु भगवानको अवतारका रूपमा हेरिन्छ,’ उनी भन्छन्, ‘कछुवाको मासु खान हुँदैन भनेर पनि सचेत गराउन सकिन्छ।’

देशका विभिन्न ठाउँमा कछुवा उद्धार तथा संरक्षण केन्द्रहरू बनाउनुपर्ने उनको भनाइ छ।

संरक्षणमा युवा चासो 

पछिल्लो समय युवाहरू कछुवा संरक्षणमा चासो राख्न थालेका छन्। कछुवा संरक्षणका लागि झापामा टर्टल क्लब गठन गरिएको छ।

कतै कछुवा भेटिएको, मासु खान लागेको वा पालेको खबर पाए उनीहरूले उद्धार गर्ने गरेका छन्। ती कछुवाहरू कछुवा उद्धार तथा संरक्षण केन्द्रमा लैजाने गरेको क्लबका कार्यक्रम संयोजक सविन अधिकारी बताउँछन्।

केन्द्रमा अहिले ८ प्रजातिका कछुवा छन्। एउटा विदेशमा पाइने रातो काने कछुवा पनि राखिएको छ।

अधिकारीका अनुसार हाल ३० वटा कछुवा प्रत्यक्ष निगरानीमा राखिएको छ। करिब १ सय ५० जति कछुवा नजिकका तालतलैयामा छाडिएको छ। क्लबका १५ सदस्य कछुवा संरक्षणमा प्रत्यक्ष खटिएको उनको भनाइ छ।

‘सबैजनाले स्वयंसेवी हुनुहुन्छ,’ उनले भने, ‘अनलाइन माध्यमबाट पनि विभिन्न जिल्लाका ७५ जना विद्यार्थी सदस्यका रूपमा जोडिनुभएको छ।’

जीवाईबीएन नेपालका युवाहरू पनि कछुवा संरक्षणमा जोडिएका छन् । तराईका विभिन्न जिल्लामा समुदायस्तरमा कछुवा संरक्षणसम्बन्धी जानकारी दिएको जीवाईबीएन नेपालकी क्याम्पेन तथा एड्भोकेसी कोर्डिनेटर श्रेष्ठले जानकारी दिइन्। साथै बेलाबेलामा हाजिरीजबाफ प्रतियोगिता र सडक नाटकहरू प्रदर्शन गर्ने गरिएको उनी बताउँछिन् ।

कछुवाको इतिहास

कछुवाको उत्पत्ति डाइनोसरको उत्पत्ति हुनुभन्दा धेरैअघि अर्थात् झन्डै २० करोड वर्षअघि भएको मानिन्छ। त्यसबेलादेखि नै यिनीहरू विशेष प्रकारका खबटा भएकाले बाहिरबाट ढाकिएका ढालझैं हुन्थे अथवा बाक्लो प्रकारका छालाले ढाकिएका हुन्थे। साथै यसको भित्री भाग मुन्तिरको कडा आवरणले ढाकिएको हुन्थ्यो।

कुनै प्रजाति कति ठूला हुन्थे भने जसको खाली खबटाभित्र मान्छे सिङ्गै अटाउन सक्थे। यस्ता भीमकाय कछुवाहरूलाई कोलोसोकेलिज अट्लास भनिन्थ्यो।

साथै यो अर्काे भयङ्कर ठूलो राम्फोसुकस क्रासिडेन्स नामक गोहीसँगै करिब एक करोड वर्षअघिसम्म प्राचीन गंगा नदीको फराकिलो बेंसी क्षेत्रमा बस्दथ्यो भनेर आर्को नेपालले आफ्नो पुस्तकमा उल्लेख गरेको छ। समय क्रममा डाइनोसर लोप भए तर कछुवाले भने आफ्नो प्रजाति बचाउँदै ल्याएको छ। हाल  विश्वका विभिन्न ठाउँमा करिब ३५६ प्रजातिका कछुवाहरू पाइन्छन्। नेपाल समय बाट

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech