१२ बैशाख २०८१, बुधबार

असारदेखि नयाँ शैक्षिक सत्र
  • न्युज मानसराेवर

काठमाडौँ — शिक्षा मन्त्रालयले असार १ गतेदेखि विद्यार्थी भर्ना थालेर वैकल्पिक माध्यमबाटै शैक्षिक सत्र अघि बढाउन सर्कुलर गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित मन्त्रालयस्तरीय बैठकले असारबाट नयाँ शैक्षिक सत्र थाल्ने निष्कर्ष निकालेको हो ।

गत वर्ष कोरोनाले पठनपाठन प्रभावित भएका कारण जेठ मसान्तसम्म शैक्षिक सत्र लम्ब्याउने निर्णय यसअघि नै भइसकेको थियो । विद्यार्थी मूल्यांकन, शैक्षिक सत्र र सिकाइ निरन्तरताका विषयमा संघीय मामिला मन्त्रालयमार्फत सर्कुलर गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले जानकारी दिए ।

शिक्षा मन्त्रालयले संघीय मन्त्रालयमार्फत स्थानीय तह र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयलाई सर्कुलर गरेको हो । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र विद्यालयहरूलाई निर्देशनअनुसार शैक्षिक गतिविधि अघि बढाउन निर्देशन दिइएको छ । कक्षा ८ को स्थानीय तहस्तरीय परीक्षा आन्तरिक मूल्यांकन र उपयुक्त वैकल्पिक विधिबाट सञ्चालन गर्न आग्रह गरिएको छ । कतिपय स्थानीय तहले सोही आधारमा विद्यार्थी मूल्यांकन गर्दै आएका छन् ।

कक्षा ८, १० र १२ बाहेकको परीक्षा निरन्तर विद्यार्थी मूल्यांकन, वैकल्पिक विधि र पाठ्यक्रम समायोजन ढाँचा २०७७ को व्यवस्थाअनुसार गर्न सूचित गरिएको छ । कक्षा १० को नतिजा राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकनका आधारमा प्रकाशित गर्ने तय भइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा पनि छिटै निर्णय हुने बोर्डले जनाएको छ । मन्त्रालयका उपसचिव बिदुर गिरीले जारी गरेको सूचनामा असार १ देखि विद्यार्थीको भर्ना अभिलेख कायम राख्न निर्देशन दिइएको छ । विद्यालयले आफ्ना सेवा क्षेत्रका बालबालिका र अभिभावकसँग टेलिफोन वा अनलाइनलगायत वैकल्पिक विधिबाट सम्पर्क गर्नुपर्ने उल्लेख छ ।

विद्यालय परिवर्तन गर्न चाहने बालबालिकालाई स्थानान्तरणको प्रमाणपत्र दिनसमेत निर्देशन दिएको छ । गत वर्ष निजी विद्यालयका करिब २ लाख विद्यार्थी सामुदायिक विद्यालयमा स्थानान्तरण भएको अनुमान छ । अभिभावकहरू लकडाउन र निषेधाज्ञाका कारण थातथालो फर्केका कारण विद्यार्थी पनि उतै भर्ना हुन थालेका छन् ।

विद्यार्थी भर्नासँगै नयाँ पाठ्यक्रम पुस्तक उपलब्ध गराउन र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार पठनपाठन थाल्न पनि सर्कुलरमा आग्रह गरिएको छ । मन्त्रालयमा भएको छलफलमा जनक शिक्षा सामग्री केन्द्रका महानिर्देशक अनिलकुमार झाले शैक्षिक सत्रअगावै पुस्तक ढुवानी खुला गर्न शिक्षामन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । मन्त्रीले उक्त प्रस्ताव सीसीएमसीमा लगेर निर्णय लिने प्रतिबद्धता गरेको मन्त्रालयले जनाएको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech