३ जेष्ठ २०७९, मंगलवार

विश्व योग दिवस : योग केवल आसन होइन
  • न्युज मानसराेवर

आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म नमुना मानेका थिए । यसको व्यापकतालाई बुझ्न अनि अनुभूत गर्नका लागि शरीरको भित्र रहेको शक्तिको केन्द्रलाई जान्नुपर्छ । ऋषिमुनीहरुले यस शक्तिको केन्द्रलाई ‘चक्र’ भनेका छन् ।

आयुर्वेद अनुसार शरीरमा आठ चक्र हुन्छ ।यो हाम्रो शरीरसँग सम्बन्धित हो।यद्यपि यसलाई हामीले आफ्ना इन्द्रियबाट महसुष गर्न सक्दैनौं । आयुर्वेदमा योग, प्राणायाम र साधानाको मद्दतले यी चक्र जागृत गराउने बताइएको छ ।

योगका अनेक लाभ

आज दिन-दिनै अस्पताल बनिरहेका छन् । अत्याधुनिक चिकित्सा उपकरणको विकास भइरहेका छन् । स्वास्थ्यकर्मीहरु उत्पादन भइरहेका छन् । नयाँ नयाँ औषधिको खोज र विकास भइरहेका छन् । किनभने प्रतिदिन अस्पतालको चक्कर लगाउने बढ्दैछ । औषधिको खपत बढ्दैछ ।

रोग लागेपछि त्यसको निदान र उपचार जरुरी छ । त्यसैले रोग लागिसकेको अवस्थामा अस्पताल धाउनु, औषधि खानु नै छ । यद्यपि रोगमुक्त जीवन विताउनका लागि के गर्ने ?

यसका लागि हाम्रा पूर्खाहरुले विभिन्न खोज अध्ययन र अभ्यास गरेका छन् । निरोगी एवं रोगमुक्त भएर खुसी र आनन्दित जीवन विताउने उपायहरु पत्ता लगाएका छन् । र, आफ्ना सन्ततीलाई त्यसैको अनुसरण गर्न प्रेरित गर्दै आएका छन् ।

योग, ध्यान, प्राणायाम यसकै दृष्टान्त हुन् ।

सही तरिकाले जिउने विधि

योग भनेको सही तरिकाले जिउने विज्ञान हो । अतः यसलाई हामीले आफ्नो जीवनमा सामेल गर्नुपर्नेछ । यो हाम्रो जीवनसँग जोडिएको भौतिक, मानसिक, भावनात्मक, आत्मिक र आध्यात्मिक सबै क्षेत्रमा काम गर्छ ।

यसैगरी योगको अर्थ हो, जोडिनु । मन र शरीर जोडिनु । मन र प्रकृति जोडिनु । मन र चराचर जगत जोडिनु । आध्यात्मिक हिसाबले  योगको अर्थ हो सार्वभौमिक चेतना र व्यक्तिगत चेतना आपसमा जोडिनु हो । व्यवहारिक कोणबाट योग भनेको शरीर, मन र भावनालाई सन्तुलित गर्ने एवं तालमेल मिलाउने एक साधन हो । योगको यो एकता आसन, प्राणायाम, मुद्रा बँध, षट्कर्म र यानको अभ्यासबाट प्राप्त हुन्छ । त्यसैले योग एक जिउने तरिका हो र आफैमा परम उदेश्य पनि ।

योगले शारीरिक लाभ मिल्छ । त्यसपछि मानसिक र भावनात्मक स्तरमा यसबाट लाभ मिल्छ ।

गीतामा श्रीकृष्णले एक ठाउँमा भनेका छन्, ‘योगः कर्मसु कौशलम् ।’ अर्थात कर्ममा कुशलता नै योग हो । यद्यपि योगको अर्थ यो भन्दा वृहत र व्यापक छ । खासगरी पतञ्जलीले योगसूत्रमा यसको सटिक परिभाषा दिएका छन् । उनको परिभाषा यस्तो छ, ‘योगश्च्ित्तवृत्तिनिरोध ।’ अर्थात चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु योग हो । योगले आफुभित्र रहेका रोगलाई निरोध गर्न सक्छ ।

त्यसैगरी अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रम्हातर्फ, सीमितताबाट असिमिततातर्फको आध्यात्मिक यात्रालाई योग भनिएका छन् ।

योग भनेको शरीरलाई तन्काउनु, मर्काउनु, उफ्रिनु होइन । अर्थात शारीरिक व्यायाम मात्र पनि योग होइन । योगमा आसन, प्राणायाम र ध्यान जस्ता विधिहरु हुन्छन् । यी विधीहरुबाट हामीले मन, श्वास र शरीरको विभिन्न अंगबीच समान्जस्य बनाउन सक्छौं ।

योगको प्रकार

योगको मूख्य चार प्रकार छन्- राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।

यसैगरी योगको आठ अंग छन् । यसैले पतन्जलीले यसलाई अष्टांग योग भनेका हुन् । यसबारे योगसूत्रमा पतन्जलीले उल्लेख गरेका छन् । यस आठ अंगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि छन् ।

यमको अर्थ हो, अहिंसा, सत्य, अस्तेय, ब्रम्हाचर्य तथा अपरिग्रह । यम अर्थात जसको अनुष्ठानबाट मन वा इन्दि्रय अशुभबाट हटाएर शुभमा संलग्न हुन्छ ।

नियमको अर्थ हो, अनुशासित जीवनयापन । अर्थात सौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणिधान ।

आसनको अर्थ हो, स्थिर तथा सुखपूर्वक बस्ने क्रिया ।

प्राणायामको अर्थ श्वास प्रश्वासको गति अनुभूत गर्ने र नियन्त्रण गर्ने अभ्यास । नाडी साधन र त्यसको जागरणका लागि गरिने श्वास र प्रश्वासको नियमन नै प्राणायम हो ।

पत्याहारको अर्थ इन्द्रियलाई वशमा राख्नु हो ।

धारणाको अर्थ मनलाई एकाग्रत्ति गरेर कुनै विषयमा ध्यान केन्दि्रत गर्नु हो ।

ध्यानको अर्थ विचारसून्य अवस्थामा रहनु हो ।

समाधिको अर्थ मोक्ष प्राप्त गर्नु हो ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech