३ जेष्ठ २०७९, मंगलवार

अपहृत भविष्य
  • न्युज मानसराेवर

‘सर, मम्मीले मेरा लागि केही पैसा पठाइदिनुभएको छ। हजुरले राखिदिनू न, ल? मैले हराउन सक्छु।’ झमक्क साँझ परिसकेको थियो। आकाशमा तारा टिमटिमाउन लागिसकेका थिए। मलाई लाग्यो— मबाहेक अरू सबै यहाँ खुसी छन्। म त्यस बालकतिर फर्किएँ। उनको अनुहार टीठलाग्दो देखिन्थ्यो र आँखा निर्दोष। मैले उसलाई बोकें र आकाशतिर देखाएँ।

‘मेरो राजा, उः त्यो चम्किलो जून देख्यौ?’

‘देखें नि, सर।‘

‘एक दिन तिमीले त्यही जूनजस्तो बनेर चम्कनुपर्छ। म चम्काउँछु तिमीलाई।’

बालकले धेरैबेर केही भनेन। सायद चन्द्रमामा देखिएको त्यो दाग के हो— त्यही सोचिरह्यो।

‘सर, मेरो पैसा। राखिदिनुहुन्न?’

हुन्छ भन्न सकिनँ। हुन्न पनि भन्न सकिनँ। मसँग जवाफै थिएन।

‘बाबु, आज मंगलबार। मंगलबारका दिन आफूसँग भएको पैसा कसैलाई दिनु हुँदैन। आजको रात तिमीसँगै राख। भोलि म राखिदिऊँला, है?’ पैसा लिनदिनका लागि मंगलबार शुभ हो वा होइन, मलाई केही थाहा थिएन। मलाई एउटा बहाना चाहिएको थियो। त्यही वाक्य फुर्‍यो।

‘सर, धन्यवाद।‘

छात्रावास एउटा ठूलो भवनमा थियो। तल्लो तलामा हामी सबैको डोर्मिटरी थियो— बस्ने, सुत्ने ठाउँ। तलामा लहरै विद्यार्थीका खाट थिए। एउटा कुनामा एकजना शिक्षकको र अर्को कुनामा मेरो खाट थियो। माथिल्लो तलामा हातमुख धुने ठाउँ र भण्डार। अझ माथि खुला छत।भवनको छत निकै चौडा थियो र त्यहाँ बसेर हामी साँझको हावा खान्थ्यौं। आज भने ऊ र म दुई जना मात्रै थियौं छतमा।
टिङ–टिङ गरेर मेरो फोन बज्यो। हेरें— उही बालककी आमाको फोन। कस्तो संयोग— दन्त्यकथाको जस्तो।

‘सर, नमस्कार। छोरो ठिकठाकै आइपुग्यो होला।’

‘हजुर, ठिकठाकै आइपुग्यो। चिन्ता नलिनुहोला है, हजुर। म छु नि यहाँ।’

‘हजुर। बाबुले हजुरको नाम लिइरहन्छ यहाँ आउँदा। सरले धेरै माया गर्नुहुन्छ भन्थ्यो।’

‘हजुर…त्यसै भनौं न!’

‘हामी त जन्मदिने बाआमा पर्‍यौं। कर्म दिने हजुरहरू हो।’

‘हो नि। म फोन बाबुलाई दिऊँ है त।’

मैले फोन बालकलाई दिएँ र आमाछोराको प्रेमपूर्ण संवाद सुन्न थालें। यस बेला मलाई मेरै आमाको याद आयो। मैले घर छोड्ने दिन भन्नुभएको थियो— ‘मानिसलाई माया गर्नू। यो हाम्रो संस्कृति हो।’ उहाँका आँखामा मैले आँसु पनि देखेको थिएँ, र त्यो दृश्य घण्टौं लामो मेरो यात्रामा आँखामा आइरह्यो।

हुन त छात्रावासमा तीन दर्जनजति बच्चा थिए। तर यस बालकमा एउटा समस्या थियो। राति उसको गोडा दुख्थे। डाक्टरले भनेको थियो रे, ऊ किशोरावस्थामा पुगेपछि आफैं ठिक हुन्छ। अहिले अप्रेसन गर्न पनि नमिल्ने। बेलाबेला दबाइदिनुपर्थ्यो। मालिस गर्दिनुपर्थ्याे। उसको दुखाइले हामीलाई जोडेको थियो। स्वाभाविक रूपले म उसको सबैभन्दा निकटस्थ शिक्षक हुन पुगें।

आमाछोराले धेरै कुरा गरे। बतासमा उडेर मेरी आमाको याद पनि आइ नै रह्यो। उसले फोन पुनः मलाई नै दियो। ‘हामीलाई त सरकै भर छ। छोरोको राम्रो ख्याल राखिदिस्यो है।’

‘हजुर पनि। मेरो पनि त छोरो हो ऊ। हजुर ढुक्क हुनुहोला। उसलाई कुनै प्रकारको कठिनाइ हुन म दिन्न।’

‘हस् सर। बिदा मागें त।’

‘हस्। नमस्ते।’

बिस्तारै अँध्यारो बाक्लियो। अब डोर्मिटरीतिर जानु नै बेस होला भन्ने सोच्यौं। हामी भर्‍याङ ओर्लन थाल्यौं। उसले मेरो हात समात्यो। मैले यसको हृदय समातेको थिएँ। आहा, कस्तो न्यानोपन!  ‘सर, मेरो घडीको सिसा फुटेको छ। नयाँ लगाइदिनू न, प्लिज। डेड्डीले देख्नुभयो भने मार्नुहुन्छ। उहाँ छिटै आउनुहुन्छ जस्तो लाग्दैछ मलाई।’

उसको घडी नयाँ थियो भन्ने मलाई थाहा थियो। ऊ सानै बालक त थियो। कसोकसो घडीको सिसा तोड्नु पनि स्वाभाविकै थियो। तर पनि मैले नयाँ सिसा लगाइदिन्छु भने वाचा गर्न सकिनँ। ‘सर, प्लिज। कस्तो डर लागिराछ।’

‘हुन्छ, बाबु। अहिले त अँध्यारो भयो। भोलि तिमी र म कौशलटार जाने अनि नयाँ सिसा फेर्ने है?’ मैले भनें।
‘हुन्छ सर।’

त्यो बेलासम्म हामी डोर्मिटरीको ढोकासम्म पुगिसकेका थियौं। छेउछाउ कोही पनि थिएन। साँझको पढाइका लागि सबै आआफ्ना अध्ययनकक्षतिर लागिसकेका थिए।  ‘सर, मलाई बायोलजी आउँदैन। जराको बारेमा केही पनि बुझेको छैन। सरले पढाइदिनू न?’

‘हुन्छ बाबु, भोलि।’

ऊ हतारहतार पढाइका लागि अध्ययनकक्षतिर दौडियो। होस्टलको नियम— साँझको खानापछि दुई घण्टा अनिवार्य रूपमा स्वाध्ययनको क्लास लाग्थ्यो। एकजना शिक्षक निगरानी गरेर बस्थे। ढिलो पुग्नेलाई शिक्षकले पस्नै दिँदैनथे। उसलाई यो कुरा थाहा थियो।

मैले उसका हात समातें र ‘बाबु’ भनें। ‘तिमीले एसईई पास नगर्दासम्म म तिमीलाई छोड्दिनँ। तिमी एक दिन ठूलो डाक्टर बन्नेछौ। म तिमीलाई सहयोग गर्छु।’ फेरि भनें, ‘तिमीमा केही समस्या छन्। त्यो मलाई थाहा छ। तर सबै ठिक हुन्छ। म छु नि। तिमी एक दिन अवश्यै चम्कनेछौ।’ उसले केही भनेन। के भनोस्! मेरो भावनात्मक संसारका ज्वारभाटा बुझ्न ऊ अझै धेरै कलिलो थियो।

यसरी नै हामी अध्ययनकक्षमा पुग्यौं र मैले उसलाई भित्र छिराइदिएँ। मलाई देखेपछि शिक्षकले पनि केही भनेनन्। बालक आफ्नो काममा लाग्यो। म डोर्मिटरीतिर फर्किएँ। म मध्यरातमा उठें र उसको सिरानीमुनि केही घुसारिदिएँ।

बिहान पाँच बजे उठें। मैले अघिल्लो रात उससँग गरेका सबै बाचा सम्झिएँ। जब उनीहरू सबै उठेर हातमुख धुन उपल्लो तलामा गए। म पनि गएँ। त्यो बालक पनि त्यहीं थियो— दाँत माझ्न लागेको। फेरि पनि ऊ उस्तै सुन्दर र निर्दोष देखियो। मलाई अघिल्लो साँझजस्तै कुदेरजाऊँ र जुरुक्क उठाऊँजस्तो लाग्यो, तर मभित्रको कुनै कुराले त्यसो गर्न दिएन। मैले छड्के आँखाले हेरें उसलाई। तर उसले मलाई देखेन। म तल्लो तलामा झरें।

हातमुख धोइसकेर जब ऊ तल आयो, म थिइनँ। मैले पछिल्लो पटक उसलाई देखेको त्यही दाँत माझ्दै गरेको बेला हो। हो, ऊ सुन्दर र निर्दोष देखिएको थियो। उसलाई र ऊजस्ता धेरैलाई छोडेर म निस्किसकेको थिएँ। धेरै तलब पाउने अलि टाढाको अर्को स्कुलमा जाने जो निर्णय गरेको थिएँ। सबै बाचा पोको पारेर, आफैंलाई पत्थर बनाएर निस्किएको थिएँ।

नयाँ, धेरै तलब दिने स्कुलमा प्रथम पन्ध्र दिन कसरी बिते, म भन्न सक्दिनँ। मेरो कल्पनामा आइबसेको बढी तलबका प्रत्येक नोटमा तिनै बालबालिका आएर आसन जमाएर बस्थे र आँसुको पोखरी जमाएर जान्थे। आफैंलाई रोक्न सकिनँ र पन्ध्र दिनपछि म पुनः उनीहरूलाई भेट्न पुगें— त्यही पुरानो स्कुल। मलाई गेटबाट छिरेको देख्नासाथ मेरो प्रिय बालक दौडेर आयो र भन्यो, ‘सर, मेरो घडी बनाइदिन्छु भन्नुभएको होइन? इः, लिनू। आजै बनाइदिनू। अनि त्यो पैसा। सरले नै राखिदिनुपर्छ।’

अरू केही नबोली ऊ घडी र पैसा लिन डोर्मिटरीतिर दौडियो। म अवाक् त्यहीं उभिइरहें। दिउँसो मलाई कसैले सुनायो— ती पन्ध्र दिनमा उसले एक अक्षर पढेन रे। सधैं झ्यालबाट बाहिर हेरेर टोलाइबस्थ्यो रे। सायद, यसले र मैले आकाशको जुन विन्दुमा चन्द्रमा देखेका थियौं, ऊ त्यहीं हेरिरहन्थ्यो। सायद मैले देखाएर झुटा सपना पनि सम्झन्थ्यो।

मैले उसलाई दिएको भोलि कहिल्यै आएन। पैसाको सिरानी लगाएर म बाँचिरहेको छु — हृदयमा असंख्य प्वालहरू बोकेर। ऊ मेरो सपनामा आइरहन्छ र भनिरहन्छ, ‘सर खुट्टा दुख्यो। के गर्ने होला?’ नेपाल समय

 

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech