३ जेष्ठ २०७९, मंगलवार

कांग्रेसमा ‘योग्य नेता’को खोजी
  • शान्तिकृष्ण अधिकारी

नेपाली कांग्रेसको चौधौं महाधिवेशन दैलोमै आइसकेको छ।  कांग्रेसले वैधानिक रूपमा विधान गरेको वर्तमान कार्यसमितिको कार्यकाल डेढ वर्षअघि नै सकिइसकेको हो भने विशेष कारण उत्पन्न भएमा थप गर्न पाउने एक वर्ष अवधि पनि करिब पाँच महिनापहिले नै समाप्त भइसकेको छ। संविधानले दिएको थप ६ महिनाको सुविधाअन्तर्गत अहिले कांग्रेस नेपालको वैधानिक राष्ट्रिय पार्टीका रूपमा जीवित छ। कथंकदाचित् भदौमा महाधिवेशन रोकियो भने दशकौंदेखि चुनावचिह्नका रूपमा प्रयोग गर्दै आएको रूख नेपाली कांग्रेससँग रहन्छ कि रहन्न भन्ने निश्चय छैन। आशा गरौं, त्यस्तो अवस्था आउने छैन।

क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि आवेदन दिने समय समाप्त भइसकेको छ। तेह्रौं महाधिवेशनमा भएभन्दा दोब्बर सदस्यता बढाउने कांग्रेस, केन्द्रको निर्णयअनुसार कांग्रेसका स्थानीय तहका निकायले सदस्यता थपको बाढी नै चलाए तर केन्द्रले सदस्यता निर्क्याेल गर्न नपाउँदै विरोधका स्वर पनि बाहिर आउन थालिसकेका छन्। कतै पुराना सदस्यले फाराम भर्दाभर्दै पनि वडा र क्षेत्रका समितिले केन्द्र पठाउन छुटाइदिएका वा कतै आफ्ना घरपरिवार र नातागोताकालाई फाराम भराइएको तर वाञ्छितलाई अवसर नदिइएको भन्ने जस्ता आवाज सुनिनु भने दुर्भाग्य नै मान्नुपर्छ।

प्रतिनिधिसभामा २६ सिट जितेर रेकर्ड कायम गरेको कांग्रेसलाई आगामी निर्वाचनपछि पुनर्जीवन दिनुपर्ने आवश्यकता छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुरक्षाका लागि पनि कांग्रेस सशक्त हुनुपर्ने आवश्यकता वर्तमान राजनीतिक परिदृश्यले देखाइसकेको छ। तर जिम्मेवारी वहन गर्नुपर्ने कांग्रेसमा स्थानीयदेखि केन्द्रसम्मका राजनीतिक नेतृत्वका स्वार्थका कारण विवाद सिर्जना भइरहने हो भने कांग्रेसले आफ्नो भविष्य कसरी सुरक्षित र सुनिश्चित बनाउला भन्ने प्रश्न उब्जिएको छ।

राजनीतिक दलहरुको लक्ष्य वडादेखि संघसम्मका आमनिर्वाचनमा बहुमत हासिल गरेर मुलुकको कार्यकारी नेतृत्व लिई देश र जनताको मुहारमा खुसी ल्याउने नै हो। समुन्नत राष्ट्र र सम्पन्न नागरिकको लक्ष्यका साथ आफ्ना कार्यक्रम जिम्मेवार राजनीतिक दलहरुले अघि सारेर निर्वाचनमा विजयपछि उत्तरदायित्व वहन गर्दै कार्यान्वयनमा उत्रिन्छन्। निर्वाचनमा विजय प्राप्त गर्न नसके दलका कार्यक्रम घोषणापत्रमै सीमित हुने गर्छन्। न ती दलहरुले आफ्ना कार्यक्रम लिएर जनताका घरदैलोमा पुग्ने अवसर प्राप्त गर्दछन् न देशको मुहार फेर्न निमित्त ती दलहरुका कार्यक्रम प्रयोग गर्ने कुनै अवसर पाउँछन्। कार्यक्रम कार्यक्रममै सीमित रहन्छन् र घोषणापत्र चनाचटपटे बेच्नेका लागि निःशुल्क प्राप्त हुने कागज बन्न पुग्छन्।

कांग्रेसका वर्तमान नेतृत्वमा रहेकाहरुले वडा हाँक्ने, नगरपति बन्ने, विधायक हुने, मन्त्री पद हासिल गर्ने या प्रधानमन्त्री भई देशको सेवा गर्ने रहर राखेको छनक अहिले देखिएका विवादले दिएको छैन। ‘म आफ्नो घरको राजा झुपडी नै भए पनि’ भनेझैं पार्टी बरु जति कमजोर र सानो बनाउन परे पनि बनाउने तर त्यसको नेतृत्वमा आफैं पुग्नुपर्ने एकमात्र अभीष्ट सबै तहका नेतामा रहेको पाइन्छ। नत्रभने आफ्नै घरका सदस्यलाई प्राथमिकतामा राखेर क्रियाशील सदस्यता वितरण गर्नुको साटो छरछिमेकमा रहेका घरमा प्रवेश गरी आजसम्म कांग्रेसलाई भोट नहालेका व्यक्तिलाई कांग्रेसपट्टि आकर्षित गराई पार्टीलाई ठूलो बनाउने ध्याउन्नमा लाग्थे होलान्, त्यस्तो गरेको देखिएन।

समग्र पार्टीको नेता बन्ने अभिप्रायका साथ अगाडि बढेको कुनै तहको नेता पनि पाउन मुस्किल हुँदै गएको छ। पार्टीका सबै सदस्यलाई एकदृष्टिले हेर्छु र समान व्यवहारका साथ पुरानालाई सम्मान, इमानदारलाई अवसर र क्षमतावान्लाई जिम्मेवारी दिएर पार्टीलाई सक्रिय जीवन प्रदान गर्ने मनसाय राखेको नेता पाउन कठिन हुँदै गएको छ। एकादुई छन्, तर ती नेताहरुलाई नेतृत्वमा पुग्न विभिन्न बाधाअवरोध खडा गरी असफल बनाउने प्रयास पनि त्यत्तिकै जोडदार रूपमा चलिरहेका छन्। सबैको साझा नेता हुँ भन्ने र तदनुरुप व्यवहार गर्न सक्ने नेताको खाँचो टड्कारो रुपमा देखिएको छ। तर त्यो प्रवृत्ति भएकाहरु गुटबन्दीको सिकार भएर जिम्मेवारीविहीन हुनुपर्ने हो कि भन्ने शंका त्यत्तिकै प्रबल छ।

कांग्रेसीहरुले गुटको नेता होइन, समग्र कांग्रेसीहरुको नेता खोजिरहेका छन्। आमलोकतन्त्रवादीहरुले पार्टीलाई क्षयीकरण गरेर भए पनि आफैं नेतृत्वमा रहन खोज्ने नेता होइन कि राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाई मुलुकभर घन्काएर नेपाललाई कांग्रेसमय र लोकतान्त्रिक मुलुक बनाउन सक्षम नेतृत्व नेपाली कांग्रेसभित्रबाट अपेक्षा गरेका छन्। हाम्रो स्वार्थ समूहको विजय हुनैपर्छ भनेर षड्यन्त्रका तानाबाना बुन्ने नेतृत्व नभएर राष्ट्र, जनता र कांग्रेसको उत्थानका योजना बुनेर बसेको व्यक्ति नेतृत्वमा पुगेको हेर्ने रहर पालेर लोकतन्त्रवादीहरु बसिरहेका छन्।

कांग्रेस भने के गर्दैछ त? म काठमाडौंको वडा नं. ३२ मा बसोबास गर्छु। यहाँ जिल्ला पदाधिकारीमा प्रतिस्पर्धा गरिसकेका नेताको, वडा एकाइ सभापतिको, वडा अध्यक्ष लडेकाहरुका तीनचार गुट छन्। नेतापिच्छेका गुट सञ्चालित छन्। कांग्रेसी भन्नेहरु पनि तिनै नेताकार्यकर्ता बनेका पाइन्छन्, न कि कांग्रेसका। यसपटकको अधिवेशनमा कसलाई सभापति बनाउने भनेर कुनै सदस्यलाई सोध्यो भने आफैं उत्तर दिन सक्दैनन्। फलानो नेतासँग सोध्नुपर्छ, त्यो नेताले के भन्ने हुन्, उनले भनेपछि भन्छु भन्ने जस्ता जवाफ पाइन्छन्। अर्थात् आफ्नो विवेक प्रयोग गर्ने क्षमता गुमाइसके जस्तो देखिन्छ। आफूलाई गौण बनाउने गरिन्छ। यो त एउटा उदाहरण मात्रै हो, मुलुकभरकै अवस्था यस्तै छ। अर्काको निर्णयमा सहमति जनाउन मात्रै सक्नेहरुको क्रियाशीलताले पार्टी माथि उठ्ने परिकल्पना गर्नु डोकामा दूध दुहुनुजस्तै हो।

काठमाडौं–३२ काठमाडौं क्षेत्र नं २ हो। क्षेत्रीय राजनीति हेर्ने हो भने प्रतिनिधिसभा र प्रदेशसभा दुवैका लागि चुनाव लडिसकेका, संविधानसभा सदस्य बनेका र क्षेत्रीय सभापति भएकाहरुका बीचमा कसको पल्लाभारी हुने भन्नेमै सीमित छ। एकपटक दीपक कुइँकेलले चुनाव जितेबाहेक सबै निर्वाचन हारेको यो क्षेत्रमा कांग्रेसलाई एकताबद्ध बनाई आगामी निर्वाचनमा सबल कांग्रेस प्रस्तुत गर्ने भन्दा पनि केन्द्रको फलानो नेतालाई जिताउन ककसलाई महाधिवेशन प्रतिनिधि बनाउने भन्नेमै राजनीति केन्द्रित छ। यहाँ पनि आफ्नो अस्तित्वलाई बिर्सेर माथिल्लो तहको नेताको उत्थानमै सबै केन्द्रित छन्।

काठमाडौं क्षेत्र नं‍. २ को माथिल्लो निकाय काठमाडौं कांग्रेस पनि केन्द्रका विभिन्न नेताहरुको समूहका समर्थकका कारण उदय भएकाको गुटमा विभक्त छ। भीमसेनदास र सबुजहरु आफैंलाई बिर्सेर आफूभन्दा ठूला नेताका निर्देशन र निर्णय पर्खेर बसेझैं देखिन्छन्। मैले प्रत्यक्ष देखेको र भोगेको क्षेत्रको कांग्रेसका चरित्रलाई यहाँ पस्किएको हो। यही परिदृश्य मनन गर्दा देशव्यापी रूपमै कांग्रेसको चरित्र योभन्दा फरक छैन भन्न कुनै असहज मान्नुपर्ने देखिँदैन।

हुन त नेकपा एकजुट हुँदा केपी ओली र दाहाल गुटमा पक्षपातपूर्ण राजनीति गर्दा त्यही गलत शैलीको सिकार भई टुक्रिन पुग्यो। फुटेर एमाले बनेपछि पनि एकमत हुन सकेन। केपी ओली गुट र खनाल–नेपाल गुटमा विभक्त हुन पुग्यो। पार्टी फुटिसकेको छैन तर एक समूहले अर्को समूहलाई निष्कासन गर्ने र कारबाही गर्ने प्रक्रिया रोकिन सकेको छैन। जनता समाजवादी पार्टीको हालत पनि त्यस्तै छ। कहिले महन्थ ठाकुर समूहले उपेन्द्र यादवलाई कारबाही गरेका समाचार बाहिर आउँछन् त कहिले उपेन्द्र यादव समूहले राजेन्द्र महतोलाई पार्टी सदस्यतासमेत नरहने गरी निकालिएको खबर पाइन्छ।

अरु पार्टी त्यस्तै भए भनेर कांग्रेसले त्यसैको अनुशरण गर्नुपर्छ भन्ने छैन। अरु फुटेका बेला त्यही फुटको आगो तापेर यो सालको जाडो फाल्छु भन्ने योजना बुनेर कांग्रेस जस्तो पुरानो र जनमत बोकेको पार्टी बस्न हुने पनि होइन। अरूहरू विभक्त भएका बेला नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर सबैभन्दा ठूलो र शक्तिशाली बनाउने रहर नेतृत्व र नेतागणमा जाग्नुपर्ने हो तर त्यस्तो देखिएको छैन। वडा, क्षेत्र र जिल्ला तहमै जस्तो स्वार्थ समूह केन्द्रमा पनि अझै देखिनु र कांग्रेस कसरी दह्रो बनाउने भन्दा पनि म कसरी बलियो हुने भन्नेमै सबै देखिनु दुःखदायी छ।

पार्टी पुनर्जागरण र पुनर्गठनका कुरा बेलाबेलामा नउठ्ने गरेका पनि होइनन्। वृद्ध नेताहरुले सकेनन्, युवामा नेतृत्व आउनुप¥यो भन्ने आवाज पनि आइरहेका छन्। ख्याल गर्न नसकेको कुरा के हो भने नेतृत्व उमेरले लिने होइन। नेतृत्व लिने त विचार र क्रियाशीलताले हो। एउटा बूढा असफल भए भनेर सबै बूढा कमजोर छन् भन्ने सामान्यीकरण गर्नु पनि धेरैका लागि अन्याय हुन सक्छ। युवा हुँदैमा सबै सक्षम, इमानदार र क्रियाशील छन् भन्ने पनि होइन। त्यसैले उमेर भन्दा पनि पार्टी नेतृत्वका लागि सक्षम छ कि छैन भन्ने विश्लेषण हुनुपर्ने हो।

विश्वका राजनीतिमा पाका नेताले नेतृत्व गरेका मुलुकहरुले अग्रगति लिएको पनि देखिएको छ। उमेर खाएर अनुभवसिद्धहरु असफल भएका उदाहरण पनि प्रशस्तै छन्। युवाले नेतृत्व गरेर मुलुकको कायापलट गरेका देश पनि देखिएकै छन् र युवा नै भ्रष्टाचारमा डुुबेर देश र जनतालाई भड्खालामा हालेका घटना पनि प्रशस्तै छन्। प्रणव मुखर्जीलाई राष्ट्रपति बनाएर राजीव गान्धी पार्टी अध्यक्ष हुँदैमा भारतीय कांग्रेस अगाडि बढ्न सकेको देखिएन भने बूढै भइसकेका मोदीले भाजपालाई जिताएको पनि देखिएकै छ।

त्यसैले उमेरलाई प्राथमिकतामा राखेर होइन कि स्वार्थ समूहको विसर्जन, इमानदारको प्रोत्साहन, क्रियाशीलको सम्मान र विचारवान्को नेतृत्व नै आजको कांग्रेसका लागि अपरिहार्य आवश्यकता हो। हेरौं, कसरी जान्छ?

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech