बाँके — बर्खा लागेकाले अहिले यहाँ धान रोप्ने चटारो छ । अरू बेला घरधन्दामै व्यस्त रहने नरैनापुरका महिला यतिबेला खेतमा देखिन्छन् । काँधमा धानको बीउ ओसार्दै धान रोप्दै गरिरहेका भेन्टिन्छन् । अचम्म त के छ भने धान रोप्न र खेती गर्न यहाँ महिलाकै जिम्मेवारी बढी हुन्छ । पुरुषले हलो वा ट्र्याक्टरले खेत जोत्नेमात्रै काम गर्छन् ।
नरैनापुर–४ की अमिरा बेहनाको संयुक्त परिवार छ । १५ जना एउटै कोलनीमा बस्छन् । घरका पाँच जना युवा भारतमा मजदुरी गर्छन् । महिलाले नै घर र खेती धान्नुपर्ने अवस्था छ । अमिराका श्रीमान् र उनको उमेर एउटै छ । अमिरासँगै खेतमा धान रोप्न उनी कहिल्यै जाँदैनन् । श्रीमतीको पुच्छर बनेर खेतमा गयो भन्दै कुरा काट्ने समाजको चलन भएको हुँदा उनी धान रोप्न नजाने गरेको अमिराले बताइन् । ‘कहिल्यै जानुहुन्न खेतमा,’ उनले भनिन्, ‘अरूले के भन्छन् भनेर लाज मान्नुहुन्छ ।’
अमिरा आफ्नै घरको खेतीबाहेक अरूको खेतमा काम गर्न जान्छिन् । तर नरैनापुर–४ की रुक्सा खान भने धान रोप्न खेतालासमेत लगाउँछिन् । भारतमा माइती भएकी उनले खेती गर्न उतैबाट आफन्तलाई बोलाउने गरेको सुनाइन् ।
‘अम्मी र दिदीबहिनी आए भने खेत पूरै रोप्दिन्छन्,’ उनले भनिन्, ‘नभए म एक्लैलाई सास्ती हुन्छ ।’ नरैनापुर–५, मटैयाकी ३२ वर्षीया पल्लवी कुर्मीका तीन छोराछोरी छन् । तीन वर्षको कान्छो छोरो पिठ्युँमा बोकेर धान रोप्दा उनको ज्यान फतक्कै गल्छ । पल्लवीको घरखर्च खेतीकिसानीले धानेको छ । इकान्तिपुर