१४ जेष्ठ २०८१, सोमबार

प्राणीको शरीर चिसो ठाउँमा ठूलो र तातो ठाउँमा सानो किन?
  • अनुज घिमिरे

सन् २००८ को कुरा हो। डाँडाकाँडा यात्रामा ननिस्केको धेरै भइसकेको थियो। परीक्षा सकिएर फुर्सदमा थिएँ। मैले काठमाडौं वरिपरिका डाँडाकाँडा प्रायः सबै डुलिसकेको थिएँ। त्यसैले अब एकपटक उपत्यकाबाट टाढा कतै जाऊँ जस्तो लागिरहेको थियो। भन्नासाथ हिँडिहाल्ने कुरा पनि भएन। तैपनि कतै त जानैपर्छ भनेर योजना बनाउन थालें। काठमाडौं उपत्यकाबाट नजिकैका गन्तव्यमध्ये साह्रै जान मन लागेको ठाउँ रसुवाको गोसाइँकुण्ड थियो। दोलखाको कालिञ्चोक क्षेत्रमा पनि म पाइला राख्न थाहन्थें।

गोसाइँकुण्ड यात्रामा जाने निधो भयो। गोसाइँकुण्ड पुगेर फर्किएकासँग सोधखोज गरें। अनि बाटो र यात्राको योजना बनाएँ। काठमाडौं–धुन्चे बसमा यात्रा र त्यहाँबाट एकदेखि डेढ दिन पैदल यात्रापछि गोसाइँकुण्ड पुगिने रहेछ। जुन दिन हिँड्ने हो सोही बिहान बालाजु माछापोखरी पुगें बस चढ्न। न टिकट, न रिजर्भ। जे त होला भन्ने भो। भनिन्छ, यात्रामा लामो पूर्वतयारीले काम गर्दैन। बस काठमाडौंबाट ककनी हुँदै अघि बढ्यो। ककनी, रमाइलो थली र बट्टार पार गरेर बस त्रिशूलीमा पुगेर रोकिँदा निकै रमाइलो महसुस भयो। त्रिशूली पार गरेपछि बेत्रावती, कालिका, राम्चे हुँदै धुन्चे पुग्दा साँझ परिसकेको थियो। पहिरोले बिगारेको सडकमा दिनभरको बस यात्राले निकै थकाइ लाग्यो। त्यो रात धुन्चेमै बसें।

भोलिपल्ट बिहान धुन्चेको एउटा मिठाई पसलमा पेटभरि जेरीपुरी खाएँ। अनि गुलियो स्वाद बोकेर घट्टेखोला हुँदै गोसाइँकुण्डको यात्रामा लम्किएँ। जीवनको स्वाद पनि आआफ्नै हुन्छन्। मेरो पनि फरक रुचि छ। माकुरा मलाई निकै मन पर्ने प्राणी हो। यात्राका क्रममा जताजता माकुरा देखें ती सबैको तस्बिर कैद गर्दै  देउरालीसम्म पुगें।

देउराली पुग्दासम्म मनमा एउटा कुरा हेक्का गरिसकेको थिएँ तर हो–होइन भन्ने निश्चित थिइनँ। अझै माथिसम्म जाऊँ अनि पक्कापक्की गरौं जस्तो लाग्यो। जति माथि गयो उति आफ्नो कुरा पुष्टि भइरहेको थियो।

कुरा के हो त?

जति उकालो चढ्दै गयो, माकुराको आकार र जालो ठूलो हुँदै गयो। मोबाइलमा थ्रिजी र फोजी भएको भए गुगल हानिसक्थें। तर यो १३ वर्षअघिको कुरा थियो। नेपालमा अहिले चलाइए जसरी इन्टरनेट चलाउन पाइएला भन्ने कुरा परिकल्पनाको गर्तभित्र लुकेर बसेको थियो। सोचें, काठमाडौं खाल्डोमा फेर्केपछि यस विषयमा गोता लगाउँछु।

जसै काठमाडौं फर्किंएँ, गुगलमा आफूले पत्ता लगाएको माकुराको आकारबारे खोज्न थालें। सर्सती हेर्दा यो लक्षणलाई परिस्थिति विज्ञानमा ‘बग्मर्यान्स रुल’ भनिँदो रहेछ। बग्मर्यान्स रुलको परिभाषा यस प्रकार छ– चिसो ठाउँ वा हायर एलिभेसनमा जनावर ठूला हुन्छन् र गर्मी ठाउँ वा लोअर एलिभेसनमा जनावर साना हुन्छन्। यो कुरा थाहा पाएर म कन्फ्यिुज भएँ। यस्तै हो र? मेरो मथिंगल घुम्यो।

अब यो विज्ञानलाई चिरफार गर्न यहाँ दुईवटा उदाहरण प्रस्तुत छ, पहिलो– फेनेक फक्स र दोस्रो– आक्र्टिक फक्स। सानो छँदा गोरखापत्रमा फरक छुट्याउनुहोस् भन्ने चित्र जरी हेर्नुभयो भने दुवै चित्रमा केही न केही फरक देख्न सक्नुहुनेछ। चिसो ठाउँमा पाइने जनावर जस्तै पोलार बियर, हिम चितुवा, ध्रुवीय फ्याउरोको ‘एपेन्डेजेज’ सानो हुन्छ। शरीरको तौल धेरै हुन्छ र यी जनावरमा आयातनको तुलनामा सतह क्षेत्रफल थोरै हुन्छ।

तर त्यहीअनुसार गर्मी ठाउँमा पाइने जनावरमा ठ्याक्कै उल्टो हुन्छ। तस्बिरमा देखाइएका दुई स्याल राम्रा उदाहरण हुन्। एउटा हो चिसो ठाउँमा पाइने आर्क्टिक फक्स। अर्को, अफ्रिकाको गर्मीमा पाइने अफ्रिकल फेन्नेक फक्स।

चिसो ठाउँमा पाइने जनावरमा ‘एपेन्डेजेज’ सानो हुने र तातो ठाउँमा पाइने जनावरको ‘एपेन्डेजेज’ ठूलो हुने निमयलाई ‘एलेन्स रुल’ भनिन्छ।

गत शताब्दीमा भएका अनुसन्धानले धेरै वार्म ब्लडेल जनावरले बग्मर्यान्स रुल पालना गर्ने देखाइसकेका छन्। चरामा कम्तीमा ९५ प्रतिशतले बग्मर्यान्स रुल पालना गर्ने पाइएको छ।

अब लागौं, यससँग जोडिएका रोचक प्रसंगतिर। हामीले बग्मर्यान्स रुल र एलेन्स रुलबारे केही जानकारी पायौं। जसले स्थानीय रुपमा शरीरको आकारमा कस्तो विविधता हुन्छ भनेर बताउँछ। शरीरको आकार विकासक्रमको कुरा गर्दा छुटाउन नहुने अर्को नियम छ, कोप्स रुल।

एडवर्ड कोपको अनुसन्धानअनुसार पाइएको परिणामले यस्तो देखाउँछ कि क्रमिक विकासक्रममा लामो भौगोलिक समयमा वंशाणुगत रूपमा प्राणीहरुको शरीरको आकार ठूलो हुँदै जान्छ र अवशेषहरुको अध्ययनले यो कुरा पुष्टि गरेको छ।

एउटा रमाइलो कुरा!

चिसो ठाउँमा हुने जनावर तातो ठाउँमा हुने जनावरभन्दा ठूला हुन्छन् र तिनीहरुको एपेन्डेजेज  तातो ठाउँमा पाइने जनावरको भन्दा साना हुन्छन्। क्रमिक विकासका क्रममा प्राणीहरूको शरीरको आकार ठूलो हुँदै जाने रहेछ। रमाइलो कुरा के छ भने केही दशकयता बग्मर्यान्स रुलमा गरिएको अनुसन्धानले जनावरहरुको शरीरको आकार बढ्नुको सट्टा घटिरहेको दखाएको छ। इजरायलका वैज्ञानिक यम–टवले १९५० देखि १९९९ सम्ममा इजरायलमा पाइने रेसिडेन्ट पासेरिन्स जस्तै भँगेराहरुको शरीररको आकार घट्दै गएको छन्।

प्राकृतिक रुपमा लामो भौगोलिक समयमा बढ्दै जानुपर्ने शरीर आकार घट्नै गएको पाइएको छ! किन? २० औं शताब्दीको आधा समयपछि विश्वको तापमान बढ्दै गइरहेको छ। गर्मी हुँदा सानो शरीरको आकार फाइदाजनक हुने भएकाले ती प्राणीमा शरीरको आकार घट्दै गइरहेको पाइएको हो।

चरामा मात्र नभई हिमाली बाख्रा प्रजाति (अल्पाइन गोट्स, मुज, स्य्रु) लगायत अन्य प्रजातिमा पनि जलवायु परिवर्तनको असरले गर्दा शरीरको आकार घट्दै गएको छ। शरीरको आकार कुनै प्रजातिको आफ्नो फाइदाका लागि मात्र नभई पर्यावरणमा पर्न सक्ने एउटा कारक हो। सिकारी–सिकार शृंखला यसैमा निर्भर रहन्छ।

यसरी हेर्दा के देखिन्छ भने जलवायु परिवर्तनको कुरा प्राकृतिक रुपमा पनि प्रमाणित गर्न सकिन्छ। यस विषयमा धेरै अनुसन्धान बाँकी भए तापनि अहिलेसम्म देखिएका प्रमाणले के पुष्टि हुन्छ भने चिसो ठाउँमा ठूला शरीर भएको प्राणी पाइन्छ र गर्मी ठाउँमा सानो शरीर भएका प्राणी मात्र। त्यसैगरी केही दशकयता ती प्राणीहरुमा जलवायु परिवर्तनको प्रभावमा शरीरको आकार घट्दै गएको पाइन्छ।

लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। यो लेख उनले नेपाल समयका लागि लेखेका हुन।

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech