१२ श्रावण २०८१, शनिबार

यस्ता छन् सन् २०२२ मा विश्व अर्थतन्त्रले सामना गर्नुपर्ने पाँच चुनौती
  • न्युज मानसराेवर

बाँके\ सन् २०२१ को महामारीपछि विश्व अर्थतन्त्रले बिस्तारै बलियो हुन थालेको थियो। यद्यपि कोरोना महामारी संक्रमण भएको वृद्धि, आपूर्ति शृंखलामा भएको अवरोध, श्रमिकको अभाव र न्यून आएका भएका विकासोन्मुख देशहरूमा कोरोना विरुद्धको खोप लगाउनमा भएको ढिलाइका कारण वर्षको उत्तरार्धतर्फ लाग्दा अर्थतन्त्र सुस्त हुन थाल्यो। यसरी अर्थतन्त्रको पुनरुत्थानमा मन्दी हुन थालेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र आर्थिक सहयोग एवम् विकासका लागि ३८ सदस्यीय संगठन (ओईसीडी) का अर्थशास्त्रीहरू विश्वव्यापी वृद्धिको प्रक्षेपण कटौती गर्न बाध्य भएका थिए।

अर्थशास्त्रीहरूले २०२२ को अर्थतन्त्रबारे आफ्ना दृष्टिकोणहरू त सार्वजनिक गरेका छन् तर कोरोना भाइरसको नयाँनयाँ भेरियन्टले थप व्यवधान उत्पन्न गर्न सक्ने चेतावनी पनि दिएका छन्। विश्वव्यापी जनसंख्याको ठूलो हिस्सालाई तत्काल खोप उपलब्ध गराउनुपर्ने आवश्यकतामा उनीहरूले जोड दिएका थिए। त्यसैले अर्थतन्त्रको पुनरुत्थानका लागि ठूलो चुनौती कायमै छ। तर सन् २०२२ मा लगानीकर्ताहरू निरुत्साहित हुन सक्ने यो मात्र खतरा होइन। विश्व अर्थतन्त्रको पुनरुत्थानमा यस्ता छन् चुनौती –

कोरोना भाइरसका नयाँनयाँ संस्करण

नोभेम्बरमा दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ संस्करणले विश्व अर्थ बजारमा त्रास उत्पन्न गरायो। यसको डरले उत्पादन बजारमा पनि नराम्रो असर गर्यो। एक सातासम्म त विश्व बजारमा अस्थिरता कायम रह्यो। लगानीकर्ताले आर्थिक असरसँग जुध्ने प्रयास जारी राखे। नयाँ भेरियन्टको जोखिम न्यूनीकरण गर्न केही देशका सरकारहरू कडा प्रतिबन्ध लगाउन बाध्य भए। सुरुमा विशेषज्ञहरूले ओमिक्रोनलाई डेल्टा भेरियन्टभन्दा पनि ज्यादा संक्रामक रहेको आशंका गरे। उपलब्ध खोप र उपचार पद्धतिले प्रतिरोधात्मक क्षमता तोड्न समक्ष नहुने प्रारम्भिक प्रतिवेदन पनि नआएका होइनन्। तर सोचेजति उपलब्धि हासिल हुन सकेन।

वैज्ञानिकहरूले महामारी अब स्थानीय रोगमा परिणत हुने पूर्वानुमान गरेका छन्। यद्यपि यसको आधिकारिक प्रतिवेदन भने आउन बाँकी छ। ओमिक्रोनका कारण आर्थिक पुनरुत्थान हुन नपाउँदै भविष्यमा अर्को भाइरसले खतरा उत्पन्न गर्न सक्ने चेतावनी पनि अनुसन्धानकर्ताहरुले दिएका छन्। जानकारहरुका अनुसार महामारी फैलियो भने उपलब्ध खोप पनि अपर्याप्त हुन सक्छ। अनि लकडाउन जस्ता उपाय अपनाउन बाध्य हुनुपर्नेछ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले गत अक्टोबरमा भनेका थिए, ‘कोरोना महामारीको दीर्घकालीन असर जारी रह्यो भने आगामी पाँच वर्षमा विश्वव्यापी जीडीपीमा ५.३ ट्रिलियन डलरले घट्न सक्छ। २०२२ को मध्यसम्ममा हरेक देशले आफ्ना ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य रुपमा लगाइसक्नुपर्ने उनको सुझाव छ। तर गत नोभेम्बर सुरुसम्म कम आए भएका विकासशील देशका पाँच प्रतिशत नागरिकले मात्र कोरोना खोपको पूर्ण मात्रा लगाउन पाएका थिए।

आपूर्ति शृंखलामा अवरोध

सन् २०२१ मा आपूर्ति शृंखलामा भएको अवरोधले विश्व अर्थतन्त्र अघि बढ्न नसक्नुमा ठूलो भूमिका खेलेको छ। ढुवानी गर्ने कन्टेनर अभाव, ढुवानीमा भएको अवरोध र महामारीका बेला गरिएको प्रतिबन्ध फुकुवापछि पनि मालवस्तुको सोचेजस्तो माग हुन नसक्दा आपूर्ति शृंखलामा असर गरेको थियो। कच्चा माल उत्पादकहरूमा त्रास कायमै रह्यो।

पछिल्ला दिनमा जर्मनी लगायत ‘युरो जोन’ मा उत्पादनमा गिरावट आएको छ। कार निर्माताहरूले उत्पादनमा कटौती गर्न थालेका छन्। यद्यपि आपूर्ति शृंखलामा अवरोध, ढुवानी लागतमा कमी र चिप निर्यातमा देखापरेको वृद्धिले अर्थतन्त्र सुधारका केही संकेत नदेखिएका होइनन्। तर यसै बेला विज्ञहरूले आपूर्ति शृंखलामा भइरहेको अवरोधले आगामी वर्षको आर्थिक वृद्धिलाई पनि असर गर्ने भविष्यवाणी गरेका छन्।

जर्मन पारवहन कम्पनी डीएसबी एयर एन्ड सीका प्रबन्ध निर्देशक फ्रांक सोबोट्काले देशमा व्यापार परिवर्तन गर्ने प्रवृत्तिलाई लक्षित गर्दै भनेका छन्, ‘हामीलाई थाहा छ, सन् २०२२ मा पनि अवस्थामा सुधार आउने छैन। सन् २०२३ मा महासागरीय परिवहन क्षमतामा परिवर्तन नभएसम्म आपूर्ति शृंखलामा देखा परेको समस्या समाधान हुन सक्दैन।’

बढ्दो मुद्रास्फिति

ऊर्जाको उच्च खपत, कच्चा पदार्थ र वस्तुहरुको कम प्रवाहका कारण युरोप र अमेरिका मुद्रास्फिति दर उच्च छ। मूल्यवृद्धि नियन्त्रणका लागि केन्द्रीय बैंकहरुले निर्धारित समयभन्दाअघि नै ब्याजदर बढाउन सक्ने जोखिमका कारण लगानीकर्ताहरु उत्साहित छैनन्। युरोपेली केन्द्रीय बैंकका अनुसार आपूर्ति शृंखलामा भएको अवरोध, ऊर्जाको उच्च खपत जस्ता अस्थायी कारणले वस्तुको मूल्य बढाएको छ। यसबाट विश्वव्यापी स्तरमा माग आपूर्ति असन्तुलनको प्रभाव कम हुन थालेपछि मुद्रास्फिति पनि कम हुने विश्वास छ।

अपेक्षा गरिएविपरीत सन् २०२१ मा आपूर्ति शृंखलाका अवरोधहरु लामो समयसम्म रह्यो। यस्तो अवस्थामा सन् २०२२ मा मुद्रास्फिति समान रही युरोपेली केन्द्रीय बैंकका अधिकारीहरूका लागि टाउको दुखाइको विषय बन्नेछ।

अमेरिकामा मुद्रास्फितिका बारेमा ठूलो चिन्ता हुने सम्भावना छ। आर्थिक पुनरुत्थानले करको दरमा कटौती तथा श्रम र आपूर्ति अभाव रोक्न सक्छ। अमेरिकी संघीय बैंकले आफ्नो बन्ड खरिद प्रोत्साहन योजनाको आकारालाई तीव्र रुपमा घटाउने यसअघि नै बताइसकेको छ। साथै बैंकले सन् २०२२ मा ब्याजदर बढाउने पनि संकेत गरेको छ। ब्याजदर वृद्धि हुँदा दक्षिण अफ्रिका, अर्जेन्टिना, टर्की लगायत उदीयमान अर्थतन्त्रका लागि समस्या निम्त्याउन सक्छ। यस्तो अवस्थाले लगानीकर्ताको विश्वास तोडिन सक्छ।

चीनको कडा कदम

चीन विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो। सन् २०२२ मा आउने आर्थिक मन्दीले चिनियाँ लगानीकर्ताहरूमा चिन्ता थपिनेछ। एसियाली अर्थतन्त्रको पावरहावसका रूपमा रहेको चीनले सन् २०२० मा विश्वलाई विद्युतीय र चिकित्सा सामग्री भित्र्याएर आर्थिक मन्दीबाट बाहिर आउन मद्दत गरेको थियो। सन् २०२२ मा चिनियाँ अर्थतन्त्रको वृद्धिदर आठ प्रतिशतभन्दा कम हुने अपेक्षा गरिएको छ।

एसियामा भारतपछि चीन सबैभन्दा तीव्र अर्थतन्त्र वृद्धि हुने आंकलन छ। तर ठूलाठूला कम्पनीहरुमा कडा कारबाही गरी चीनले महामारीपछिको आर्थिक पुनस्र्थापनामा पनि गतिरोध सिर्जना गरको धेरैले टिप्पणी गरेका छन्। यसमा अलिबाबा, टेन्सेन्ट तथा ऋणमा डुबेका एभरग्रान्डे र काइसाजस्ता रियल स्टेट कम्पनी र निजी शैक्षिक क्षेत्र पनि समावेश छन्। चिनियाँ उच्च अधिकारीहरूले भने आउँदो वर्षका लागि अर्थतन्त्रलाई स्थायित्व दिने दाबी गर्दै आएका छन्। यसै कारण सन् २०२२ को सुरुमा चीनले आर्थिक क्षेत्रमा प्रोत्साहनका कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ।

आफ्नो देशमा कोरोना महामारी शून्यमा झरेको छ भनेर दाबी गर्ने चीनको जिद्दी पनि विश्व अर्थतन्त्रका लागि खतराका रूपमा रहनेछ। चिनियाँ सरकारको यस्तो रबैका कारण विगत एक वर्षदेखि चीन अन्य विकसित मुलुकबाट एक्लिँदै गएको छ। साथै चीनले आफ्ना एक जना नागरिकलाई मात्रै पनि कोरोना भाइरस संक्रमण देखिएका कडाभन्दा कडा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

भूराजनीतिक तनाव

उत्तरी गालाद्र्धका देशहरुबीच तनाव बढ्दै गएको छ। खासगरी रुसको अमेरिका र युरोपेली सहयोगीहरुको सम्बन्ध तनावपूर्ण छ।  रुसले युक्रेनी सीमामा सेनाको परिचालन बढाएपछि अमेरिका र उसका सहयोगी राष्ट्रहरु आक्रोशित छन्। अमेरिकाले त युरोपमाथि आक्रमण नगर्न रुसलाई चेतावनी दिइसकेको छ। साथै अमेरिका र युरोपेली देशहरुले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने संकेत गरेका छन्। रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमा हमला गरेमा अमेरिका एवम् युरोपेली देशहरुले विवादास्पद नोर्ड स्ट्रिम २ ग्यास पाइपलाइन बन्द गर्ने जस्ता कदम चाल्न सक्ने सम्भावना पनि उत्तिकै छ।

ओआन्डा टेन्डिङ ग्रुपका वरिष्ठ बजार विश्लेषक एडवर्ड मोयाले भने, ‘अमेरिका–रुस तनावले पूर्वी युरोपका सहयोगीहरुलाई युद्धतर्फ पनि धकेल्न ठूलो मद्दत गर्न सक्छ।’ उनका अनुसार यदि अमेरिका र युरोपले नोर्ड स्ट्रिम २ ग्यास पाइपलाइन बन्द गरे भने विश्वमा ऊर्जा संकट उत्पन्न हुनेछ। तेलको मूल्य प्रतिब्यारल १०० डलरसम्म पुग्न सक्छ। यसले विश्वभरका बैंकहरुलाई मुद्रा नीतिमा कडाइ गर्न बाध्य पार्न सक्ने मोया बताउँछन्।

ताइवानको विषयलाई लिएर पनि अमेरिका चीन सम्बन्ध तनावपूर्ण छ। अमेरिकाले ताइवानमा यथास्थितिमा परिवर्तन नगर्न चीनलाई यसअघि नै चेतावनी दिइसकेको छ।अमेरिकी अधिकारीहरूले चीनमा मानवअधिकार उल्लंघनका घटना बढिरहेकाले फेब्रुअरीमा बेइजिङमा आयोजना हुने शीतकालीन ओलम्पिक बहिकार गर्ने चेतावनी दिएका छन्। चीनले पनि यसको जबाफ दिँदै भनेको छ, ‘अमेरिकाले आफ्नो यो निर्णयको मूल्य चुकाउनुपर्नेछ।’ डीडब्ल्यूबाट

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech