१२ श्रावण २०८१, शनिबार

गाउँपालिकाको रकम हिनामिना
  • न्युज मानसराेवर

सुर्खेत\ कालीकोटको पचालझरना गाउँपालिकाले ३ वर्षअघि किर्ते हस्ताक्षर गरी गाउँपालिकाको रकम हिनामिना गरेको खुलासा भएको छ । आर्थिक वर्ष ०७५/७६ को महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा गाउँपालिकाले सम्बन्धित व्यक्तिको हस्ताक्षर बिना नै किर्ते हस्ताक्षर गरी रकम निकासा गरेको पाइएको हो ।

०७५ वैशाख १ देखि ५ सम्म सञ्चालन भएको पचालझरना महोत्सवमा प्रस्तुति दिएका कलाकारहरूका नाममा ६ लाख ६३ हजार भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । तर महालेखापरीक्षकको कार्यालयले जारी गरेको लेखा परीक्षणको प्रतिवेदनको २१।३ नम्बर बुँदामा उल्लेख भए अनुसारका सबै व्यक्तिले रकम नलिएको पाइएको छ । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको मिलोमतोमा गैर कलाकारहरूको नाममा समेत उनीहरूलाई जानकारी नै नदिई कलाकारको रूपमा रकम लिएको देखाइएको छ । उक्त रकम सम्झौता कबोल नगरी भुक्तानी दिएका कारण अनियमितता भएको महालेखाले ठहर गरको हो ।

प्रतिवेदनअनुसार सोही गाउँपालिका निवासी पत्रकार विवशकुमार सेजुवालको नाममा ३५ हजार रुपैयाँ कलाकारिता देखाएबापत दिएको उल्लेख गरिएको छ । तर सेजुवालले भने आफूले गाउँपालिकाबाट महोत्सवको समयमा कुनै पनि रकम नलिएको बताएका छन् । उनकै नाममा प्रचारप्रसारका लागि भन्दै ११ हजार ५ सय रुपैयाँ लिएको प्रतिवेदनमा देखाइएको छ । तर पत्रकार सेजुवालले आफ्नो नाममा रकम निकासा भएको भनी गाउँपालिकाले रकम हिनामिना गरेको बताए । ‘मैले लिँदै नलिएको रकम त्यहाँ कसरी उल्लेख भयो ?,’ उनले भने ‘गाउँपालिकाविरुद्ध कानुनी लडाइँ लड्नुपर्ने भए पनि तयार छु ।’

यतिमात्र नभई गाउँपालिकाले उक्त समयमा फरक–फरक नामबाट एकै व्यक्तिलाई भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भौतिक मल्लले ९० हजार र तप्तबहादुर मल्लले ५० हजार रुपैयाँ रकम कलाकारिता देखाएबापत दिइएको उल्लेख छ । तर यी दुवै नाम एउटै व्यक्तिको हो । गाउँपालिकाले उक्त महोत्सवको समयमा गैरकलाकारलाई समेत कलाकार भनी फरक–फरक रकम भुक्तानी गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले पालिकाको आन्तरिक विषय भएकाले यसबारे अफवाह नफैलाउन चेतावनी दिए ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech