११ श्रावण २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचन टारेर सरकार लुटमारमा लागेको ओलीको आरोप
  • न्युज मानसराेवर

काठमाडौं\नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थानीय तहको निर्वाचन टारेर लुटमारमा लागेको आरोप लगाएका छन् ।  एमाले संखुवासभा जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सत्तारूढ दलहरू तोकिएको समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन लागेको बताएका छन् ।

‘सरकार लुटमारमा लागेको छ । स्थानीय तहलाई नेतृत्वविहिन बनाएर कर्मचारीको भरमा चलाउने षड्य​​न्त्रमा लागेको छ,’  ओलीले भने, ‘त्यस्तो २०५९ सालमा पनि भएको थियो । त्यसबेला चुनाव गराइएन । स्थानीय तहहरू जनप्रतिनिधिविहीन भएर भद्रगोल भयो ।’

कानूनअनुसार फागुनमा निर्वाचन हुनुपर्ने तर सरकारले अहिलेसम्म निर्वाचनको लागि कुनै तयारी नगरेको उनले बताए ।

विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले एमाले शासनको सहारा लिएर लुटपाट गर्ने पार्टी नभई देश बनाउने पार्टी भएको बताए ।

‘देश बनाउने अभिभारा एमालेलाई छ । त्यो अभिभारा पूरा गर्न नदिने गरी एमालेलाई बाधा व्यवधान खडा गरेका छन्,’ ओलीले भने, ‘एमालेले दुनियाँ हल्लाउने गरी काम गरेपछि अदालतको सहारा लिएर सरकारबाट हटाउने काम भयो ।’

अरू पार्टीबाट एमाले प्रवेश गर्नेहरूले सही पार्टी छनौट गरेको समेत उनले बताए । अरू पार्टी कम्युनिष्टको खोल ओढेर प्रतिक्रियावादी काम गर्ने र दक्षिणपन्थीको सेवा गर्ने आडम्बरी सोचको रहेको पनि ओलीले बताए ।

नवप्रवेशीलाई स्वागत गर्दै उनले भने, ‘वामपन्थी खोल ओढेका पार्टीमा साथीहरू अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, सामाजिक न्याय र समानता दिने पार्टी हो । वामपन्थी खोल ओढेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु ।’

एमाले सरकारमा हुँदा किमाथांका सडक बनाउन पहल गरेको उनले बताए ।

‘किमाथांका सडक बनाउन एमाले चाहियो । विकासको लागि त एमाले नै चाहिने रहेछ भन्ने यसले प्रमाणित गरेको छ,’ ओलीले भने, ‘विराटनगरदेखि किमाथांकासम्मको अन्तर्राष्ट्रियस्तरको बाटो बन्दैछ । जुनसुकै मौसममा चल्न सक्ने भएकोले यो बाटोले नेपाललाई चीन हुँदै विश्वसमुदायसँग जोड्छ ।’

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech