१२ श्रावण २०८१, शनिबार

छोराको चाहनाले गर्भपतन
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नेपालगन्ज–५ की एक महिलाले छोरा जन्माउन तीनपटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा नेपालगन्ज शिक्षण अस्पतालमा भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गराइन् । गर्भको सन्तान छोरी भएको थाहा पाएपछि उनले पतन गराइन् । तेस्रोपटक पनि गर्भमा छोरी रहेको थाहा पाएपछि तुहाएको बताइन् । उनका अनुसार पति र परिवारलाई छोरी चाहिएको थिएन ।

‘जसरी हुन्छ छोरा जन्माउन दबाब थियो,’ उनले भनिन् । तीनपटक गर्भपतन गराउँदा भोग्नु परेको शारीरिक कष्टले उनलाई अहिले सताउँछ । ‘एउटा छोरा पाउनका लागि तीनपटक गर्भपतन गराउनु मेरो रहर होइन,’ उनले भनिन्, ‘त्यस्तो पीडा भोग्नेले मात्र महसुस गर्न सक्छ ।’ दुई छोरी जन्मिएपछि उनले शारीरिक, मानसिक र सामाजिक रूपमा कति पीडा सहनुपर्‍यो भन्ने त्यसको लेखाजोखा नै छैन । कान्छी छोरी जन्मिएको १० वर्षपछि छोरा जन्मिएको उनले बताइन् ।

नेपालगन्ज उपमहानगरपालिकाकी ३८ वर्षीया एक महिला शिक्षित परिवारकी हुन् । सरकारी सेवामा कार्यरत छन् । परिवारका सदस्य उनलाई छोरा जन्माउन दबाब दिइरहन्छन् । छोराका लागि उनले तीनपटकसम्म गर्भपतन गराइसकेको बताइन् । अहिले दुई छोरी छन् । परिवारले छोराको मोह छाड्न सकेको छैन । परिवारको वंश धान्न पनि छोरा पाउनुपर्छ भन्ने उनलाई दबाब छ । मुख खोलेर नभने पनि परिवारले आफूलाई हेर्ने दृष्टिकोण फरक रहेको उनले सुनाइन् । ‘मेरा छोरीहरूलाई गर्ने व्यवहारमा नै घरमा विभेद छ,’ उनले भनिन्, ‘म बुझ्ने भएर पनि आफ्नै परिवारलाई सम्झाउन सक्दिनँ ।’ विभेदपूर्ण ढंगले लिंग छनोट गरी गैरकानुनी तरिकाले पटक–पटक गर्भपतन गराएका कारण उनको शारीरिक अवस्था कमजोर छ । पटक–पटकको गर्भपतनकै कारण आफ्नो तल्लो पेट दुखिरहने उनले सुनाइन् ।

नेपालगन्ज–१२ बस्ने अर्की एक महिलाले पनि छोराको चाहनामा पटक–पटक गर्भपतन गराउन बाध्य भएको सुनाइन् । एउटै सन्तान हुँदा पनि उनले दुईपटक गर्भपतन गराइन् । पहिलो सन्तान छोरी भएकै कारण दोस्रो सन्तान छोरा चाहिएकाले उनले परिवारकै दबाबका कारण दुईपटक गर्भपतन गराएको बताइन् । ‘धेरै सन्तान पाएर हुर्काउन पनि सजिलो छैन,’ उनले भनिन्, ‘त्यही भएर आफ्नै शरीरको माया नगरी आफ्नै शरीरलाई दुःख दिन बाध्य छौं ।’ छोराछोरी समान हुन् भन्ने बुझाइको कमीले गर्दा यो अवस्था सिर्जना भएको उनले बताइन् । नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ सातासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ । गर्भपतनले कानुनी मान्यता पाएकै कारण पछिल्लो समय गर्भपतन गराउनेको संख्या समाजमा बढ्दै गएको छ ।

सहजै भिडियो एक्सरे गर्न सकिने सुविधाले पनि लिंग पहिचान र गर्भपतन बढेको हो । छोराको चाहनामा विभेदपूर्ण लिंग छनोट गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको छ । पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिंग परीक्षण गराउने गर्छन् । समाजका शिक्षित परिवारमै पनि लैंगिक विभेद कायम छ । उच्च शिक्षा अध्ययन गरेका दम्पतीले पनि विभेदपूर्ण लिंग परीक्षण गराएको पाइएको छ ।

भेरी अस्पताल बाँकेमा मात्र आर्थिक वर्ष ०७७/७८ मा २ हजार ५ सय ८५ जनाले गर्भपतन गराएको तथ्यांक छ । स्त्री रोग विशेषज्ञ डा. अंकुर भण्डारीका अनुसार अल्ट्रासाउन्ड रोगको निदान र उपचारमा सहयोगी उपकरण हो । ‘गर्भवतीको परीक्षणका साथै गर्भाशयमा रहेको शिशुको अवस्था, कुनै खतरा र शिशुमा देखिन सक्ने गडबढीको परीक्षणका साथै अन्य रोगको पहिचानका लागि यसको प्रयोग गर्ने हो,’ उनले भनिन्, ‘गर्भधारणको निश्चित समयपछि अल्ट्रासाउन्डमार्फत गर्भको लिंग पहिचान गर्न सकिने भएकाले यो प्रविधि गैरकानुनी गर्भपतन गराउनेको हतियार बन्न पुग्यो ।’

गएको वर्ष गर्भपतनपछि समस्या देखिंदा सेवा लिन आउनेको संख्या १ सय ८७ छ । जथाभावी औषधि सेवन गरेर गर्भपतनपछि समस्या भएर आउनेको संख्या हो यो । भेरी अस्पतालमा कार्यरत नर्स वसुन्धरा ज्ञवालीका अनुसार बाहिर लिंग पहिचान गराइ गर्भपतन गराउन आउनेको संख्या अस्पतालमा कमै हुन्छ,’ उनले भनिन्, ‘तर, पहिलो सन्तानमा विभेद नभए पनि पहिलो सन्तानपछि छोराको चाहना राख्ने दम्पती धेरै हुन्छन् ।’ प्रसूति कक्षमा कार्यरत ज्ञवालीले यस्ता अनुभव धेरै सँगालेकी छन् । ‘छोरा जन्मने थाहा पाउने बित्तिकै परिवारले अस्पतालमै उत्सव मनाउँछन्,’ उनले भनिन्, ‘छोरी जन्मिने परिवारमा भने कुनै रौनक देखिँदैन । यो सबै चेतनाको अभावले नै भएको हो भन्नुपर्छ ।’

सेवाग्राहीहरूको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भ्रुणको लिंग पहिचान गरिदिने र गैरकानुनी गर्भपतन गराइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गइरहेको पाइएको छ । त्यस्ता स्वास्थ्यकर्मी र मेडिकलको अनुगमन गरी कुनै कारबाही नहुँदा गैरकानुनी रूपमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको अधिकारकर्मी वसन्त गौतमको धारणा छ । ‘महिलाको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्नकै लागि गर्भपतन गर्न पाउने कानुन बनाइएको हो,’ उनले भनिन्, ‘तर, यही कानुनले गर्दा छोरीहरू जन्मन नपाउँदै गर्भमा मरिरहेका छन् ।’

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ ले गर्भवतीलाई गर्भको लिंग पहिचान गर्न त्रास देखाइ वा करकाप गरी, धम्की दिई वा ललाइफकाइ प्रलोभन वा अनुचित प्रभाव र झुक्याई, जोरजुलुम गरेर दबाबमा पार्न नहुने व्यवस्था गरेको छ । यदि यस्तो गरेमा मुलुकी अपराध संहिता २०७४ ले गर्भको अवधिअनुसार एक वर्षदेखि पाँच वर्षसम्मको कैद सजाय र १० हजारदेखि ५० हजार रुपैयाँसम्मको जरिवाना ताकेको छ ।

पारिवारिक इज्जत र प्रतिष्ठाको डरले गर्दा जबर्जस्ती गर्भपतन गराउनु परे पनि यस्ता उजुरी बाहिर नआउने गरेको अधिवक्ता गौतमले बताए । छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने परम्परागत संस्कारले गर्दा लैंगिक विभेदलाई बढावा दिएको छ । जसले गर्दा छोराको छनोट बढी भई नवजात शिशु जन्ममा लिंग अनुपात असन्तुलन बढेको छ । भेरी प्रादेशिक अस्पतालको तथ्यांकलाई हेर्ने हो भने पनि पछिल्लो वर्षमा महिला शिशुभन्दा जन्मिने संख्या पुरुष शिशुको बढी छ । अधिकारकर्मी कमला पन्त लैंगिकतामा आधारित हिंसा, लिंग पहिचानको पछाडि धार्मिक अन्धविश्वास र शक्ति सम्बन्धको विभेदले यसलाई संवेदनशील बनाएको बताउँछिन् । ‘लैंगिक हिंसा नियन्त्रणका लागि समाजमा चेतनाको स्तर अझै बढ्न सकेको छैन,’ उनले भनिन्, ‘समाजमा छोरा र छोरीलाई समान रूपले नहेरिदिँदा विभेद हट्न सकेको छैन ।’ समाजमा छोरीको महत्त्व बुझाउन सकियो भने विभेदपूर्ण लिंग छनोट रोक्न सकिने उनको धारणा छ ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech