१२ श्रावण २०८१, शनिबार

यस कारण जोगाऔं रैथाने बिउ र वनस्पति
  • न्युज मानसराेवर

डार्बिनको बाँच्नका लागि संघर्ष एवं अनुकूलता र छनोटको सिद्धान्तबाट जीव तथा वनस्पति सधैं तनावमा रहन्छन् भन्ने कुरा बुझ्न सकिन्छ। आनुवंशिक तथा उत्परिवर्तनले जीव र वनस्पतिबीच अस्तित्वको संघर्ष रहिरहन्छ।

मानव सभ्यताले सबै कुरा अभिलेख र प्रयोग गर्न सकेजस्तै जीव तथा वनस्पतिमा अभिलेखीकरण हुने कुरा जीवविज्ञानले पत्ता लगाइसकेको छ। यस्तो अवस्थामा मानव सभ्यता र जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने वनस्पति तथा जीवको मौलिकताको खोजी र तिनीहरुको दिगो स्थायित्वका लागि जतन गर्नुपर्ने बेला आएको छ।

केही दिनअघि टेलिभिजन कार्यक्रम (असतो मा सद्गमय) मा डा. दिलजान मन्सुरले स्वस्थ रहन ‘जमिनमा उम्रन सक्ने क्षमता नभएका र हजुरआमा पुस्ताले नदेखेका खानेकुरा नखान’ सल्लाह दिए। यसमा उनले हजुरबुबाले नदेखेका भनेनन्।

जानेर या नजानेर हजुरआमा भन्ने शब्द प्रयोग गरे। खाद्यदर्शन वा स्वास्थ्य प्रणालीमा त्यो अदभुत विषय हो किनभने पोषणको जिम्मा मानव सभ्यताको सुरुदेखि नै आमाहरुकै थियो, छ र रहिरहनेछ। अरु जीवजस्तै मानिसमा पनि आमाहरुमै मातृस्नेह अक्षुण्ण रहनेछ। त्यसैले पनि रैथाने जीव र वनस्पतिप्रति आमाहरूको लगाव अझ बढी आवश्यक छ। मानव जीवनको अस्तित्व जोडिने भएकाले मात्रै हामी पर्यावरण संरक्षणको कुरा गरिरहेका छौं।

स्थानीय स्तरमा रहेका जीव र वनस्पतिबीच नवीकरणीय, प्राकृतिक खाद्य शृंखला र पारिस्थितिक पद्धति अन्योन्याश्रित रुपमा सदीयौंदेखि कायम छ। पछिल्लो समय बिउहरु प्रयोगशालामा निर्माण हुन थालेका छन्। मानव सभ्यताले प्रयोगशालामा आनुवंशिक गुण (जिन)  मिश्रण गरेर प्रकृतिमा गैरप्राकृतिक जीव र वनस्पति सिर्जना गर्दैछ। वैज्ञानिकहरुले सघन उत्पादन तथा उच्च खनिज गुणहरुको प्रयोगात्मक प्रतिवेदन प्रकाशित गरेर त्यसैको प्रवद्र्धनमा क्रियाशील हुन उत्प्रेरित गरिरहेका छन्। यस्ता खाले आनुवंशिक मिलानद्वारा सिर्जित जीव र वनस्पति दीर्घकालीन रुपमा रहन्छन्।

तर आफैं बिउ (उन्नत बाली तथा तरकारी) वा बच्चा उत्पादन (बोइलर जस्ता जीव) को क्षमता कमजोर रहन्छ। फलस्वरुप वातावरणमा मिचाहा जीव तथा वनस्पतिका कारण रैथाने जीव एवम् वनस्पति विस्थापित हुने खतरा रहन्छ। जसले मानव तथा पारस्थितिक पद्धति अनुकूलता नष्ट हुँदै जाने सम्भावना उच्च रहन्छ। हजुरआमा पुस्ताले जोगाएका बिउबिजन संग्रहालयमा हेरेर हामी आफ्नो खेतमा उत्पादन गर्न सक्ने अवस्थामा हुँदैनौं। फलस्वरुप भोलिको पुस्ताले खाद्य संकटको सामना गर्नुपर्ने हुन सक्छ।

म पहाडमा बस्ने र खेतीपाती गर्ने भुइँमान्छे हुँ। मैले लामो खडेरीपछिको पहिलो वर्षापछि जमिनबाट आउने सुगन्ध लिएको छु। वर्षापछि बिउमा विकसित हुने प्राण नै हामीले कुनै अनाज त वनस्पतिकै रुपमा खाएर जीवन निर्वाह गरिआएका छौं। आर्थिक उदारीकरण, विश्वव्यापीकरण र व्यापारवादले हामीलाई थोरै मेहनतबाट उच्च उत्पादन वा उच्च प्रतिफलको भोक देखाएका छन्। जसका कारण हामीले रैथाने बिउ र वनस्पति मास्दै गएका छौं।

केही वर्षअघि पर्साका किसानले घोगा नलागेका तर सप्रिएका मकैका बोट बोकेर सडकमा प्रदर्शन गरे जुन समग्र कृषि उत्पादनसँग जोडिएको गम्भीर विषय थियो। अहिले प्रायः उन्नत जातका धान, गहुँ, मकैजस्ता अन्नको बिउ नजिकको कृषि शाखाबाट लिएर रोप्ने चलन बढेको छ। ती अन्नको बिउ किसानसँग छैन। हामी मानामुरी, पहेंले, रमनी, अनदीजस्ता धान रोप्ने खेतमा खुमल १, २ शंखलाका धान रोपिरहेका छौं।

नेपाल प्रत्येक आधा घण्टाको यात्रामा फरकफरक हावापानी पाइने देश हो। यहाँको हावापानी विविधतायुक्त छ। प्रत्येक ठाउँमा परापूर्व कालदेखि प्रयोग गरेर उत्कृष्ट ठहरिएका रैथाने अन्नका बिउ थिए तर आज एक त खेतीयोग्य जमिन प्रायः बाँझो छ भने दोस्रो कुरा उन्नत जातका बिउ प्रयोग गरेर जमिनलाई प्रयोगशाला बनाइएको छ। यस्तो प्रयोगले जमिनको उर्वराशक्ति र बनोटमा उस्तो असर नगर्ला तर दिगो उत्पादनमा भने पक्कै असर गर्नेछ।

केही वर्षअघि मन्टास्को भन्ने एउटा कम्पनीले अनुदानमा बिउ दिएर गलत प्रयोग गर्ने अभियान सुरु गर्न खोजेको थियो, जुन तत्काल किसानको असहयोग र विरोधले रोकियो। यस्ता बहुराष्ट्रिय कम्पनी र जिन परिवर्तन गरेर बिउ उत्पादन गर्ने कम्पनीको उद्देश्य दीर्घकालीन रुपमा किसानलाई बिउविहीन बनाएर उच्च नाफा आर्जन गर्ने नै हो। यो वैश्य युग हो। व्यापारको उद्देश्य उच्च नाफा हुने हुँदा अब हाम्रा रैथाने बिउ र वनस्पति संरक्षण गर्नुपर्छ।

केही वनस्पति र खाद्यान्नलाई उदाहरणका रुपमा लिन सकिन्छ। ओल फूल नफुल्ने वनस्पति हो। सायद यो कर्कलोको कुनै प्रजाति हुनुपर्छ। यसको डाँठ काटेर गुन्द्रुक बनाउन मिल्छ। यस्तो गुन्द्रुक पेटको बिमारका लागि औषधीय गुणले भरिएको हुन्छ। अचेल यो कहींकतै देखिँदैन। आफूले सानोमा खाएको ओलको गुन्द्रुकको स्वाद छोराछोरीलाई चखाउन नपाउने अवस्था यति छिट्टै कसरी विकसित भयो? जब कि म बल्ल ३३ वसन्तको आनन्दमा छु।

अर्को उदाहरण, नेपाले तोरी जुन मेथीको विकल्पमा प्रयोग गर्न सकिन्छ। त्यो पनि करिबकरिब लुप्त अवस्थामा छ। तीजको दरमा काँक्रोको अचार अनिवार्य थियो। थाँक्रामा मादलजत्रा कांक्रा फल्थे। पाकेर पहेंला भएका कांक्राको गुदी खान हामी हानथाप गथ्र्यौं। त्यो अचेलका पुस्ताले थाहै पाउन नसक्ने भएका छन्। हामी साना–साना हरिया कांक्राले झल्को मेट्नुपर्ने अवस्थामा छिट्टै आइपुगेका छौं।

अर्को कुरा हामीमा बिउ संरक्षणको आवश्यक चेतना निर्माण हुनै सकेन। हजुरआमाहरुले झालमा सबैभन्दा पहिला फलेका घिरौंला, करेला, लौका, चिचिन्डालाई बिउ भनेर विशेष संरक्षण गरेर राख्थे जुन झाल फाल्दाको दिन बल्ल टिपिन्थ्यो। त्यो चेतनालाई बजारमा सहज उपलब्ध बिउले मारिदियो र हामी बिस्तारै बिउ परनिर्भरताको सिकार भएका छौं। यस्तो समस्या फलफूलमा पनि छ।

अजंगका ठूला रूखमा फल्ने आँप, केरा अहिले बोटभन्दा फल ठूला हुने उन्नत भनिने जातले ओगटेका छन्। उन्नत जातप्रति मेरो कुनै पूर्वाग्रह छैन तर उच्च उत्पादनको अनावश्यक मोहले हामीले ती वनस्पतिप्रति जुन अवहेलना गरेका छौं भोलिका दिनमा यी उन्नत जात भनिएका जातबाट प्राप्त प्रतिफल शून्य हुँदै गयो भने हामी पछुताउनुपर्नेछ।

प्रविधि, आधुनिक खेतीप्रणाली र उच्च उत्पादन वा प्रतिफलको प्रलोभनले भोलि हामीसँग जमिन, जानकारी, जनशक्ति र जाँगर हुँदाहुँदै पनि उपयुक्त बिउ अभावले खेती गर्न नपाउने दुर्दिन पो आउने हो कि? ठाउँ सुहाउँदो र माटो सुहाउँदो बालीनालीलाई मिच्दै गर्दा खाद्य शृखला नै बिग्रने हो कि? एक पटक सबैले गहिरिएर सोचौं।

अघिल्लो पुस्ताले त्यति नै जग्गामा खेती गर्दा औसत ८ जनाको परिवारलाई खान पुग्थ्यो। तर अहिले त्यति नै जग्गामा खेती गर्दा औसतमा चार जनाको परिवारलाई पनि खान पुग्न मुस्किल छ। यसरी गरिएको विकासे उत्पादनले हामीलाई कस्तो पोषण देला? पछिल्लो समयमा दीर्घरोग विकास हुनुमा यस्तै विकासे खेतीबाट उत्पादित खाद्य वस्तु हुन् भन्ने कुरा विभिन्न खाद्य प्रयोगशालाका प्रतिवेदनहरुले औंल्याइसकेका छन्। राज्यले पनि कुल गार्हस्थ उत्पादनको तथ्यांकलाई ध्यान दिएको अवस्थामा अब हामी रैथाने बिउ र वनस्पति संरक्षणमा जुट्नुको विकल्प छैन।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech