१२ श्रावण २०८१, शनिबार

कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न
  • न्युज मानसराेवर

सुर्खेत \ नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो।

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित भएका  छन्। सुर्खेत, दैलेख र जाजरकोटमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको छ।

जाजरकोटमा मतदान जारी छ। अध्यक्ष पदमा करवीर शाही र खिमबहादुर शाहीबीच प्रतिस्पर्धा छ। कालिकोटमा शनिबारबाट अधिवेशन सुरु भएकाले सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको प्रदेश अध्यक्ष शाहले बताए। मुगुमा मंगलबारदेखि र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ। सुर्खेत र दैलेखमा मंगलबार बिहान मतदानको समय तोकिएको छ।

सुर्खेतमा सोमबार १ बजेदेखि मतदानको समय तोकिएको तर उम्मेदवारी फिर्ताको समय बढाउन दबाब परेपछि मतदानको समय सारिएको निर्वाचन समितिले जनाएको छ। संशोधित निर्वाचन तालिका अनुसार बिहान ९ बजे सुर्खेत सभाहलमा मतदान सुरु हुनेछ। सुर्खेतमा अध्यक्षका लागि अमृतकुमार बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा हुँदैछ। अन्य पदाधिकारी र सदस्यमा पनि बिसी र शर्माका अलग-अलग उम्मेदवार छन्।

बिसी समूहबाट उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली तथा शर्माको समूहबाट उपाध्यक्षमा ऋषि गिरी, सचिवमा रेशम राना, उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी हुनुहुन्छ। त्यस्तै एमाले दैलेखमा अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी प्रतिस्पर्धामा रहेको छ।  रासस

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech