३ असार २०८१, आईतवार

पारिवारिक दबाबमा भ्रूणहत्या बढ्दो : कोखमा छोरा भए जतन, छोरी भए गर्भपतन
  • न्युज मानसराेवर

बाँके\ धनुषाको मिथिला नगरपालिकाकी ३१ वर्षीया सावित्री (नाम परिवर्तन) ले छोराको पर्खाइमा दुईपटक गर्भपतन गराइन् । २०६१ मा विवाह गरेकी उनलाई लगातार दुई छोरी जन्माएपछि छोरा पाउन परिवारबाटै दबाब आउँन थाल्यो ।

‘आफू घरको जेठी बुहारी भएकाले पनि छोरा पाउने दबाब घरबाट आइरहेको थियो ’ उनले भनिन्, ‘दुई छोरी भएपछि श्रीमान्‌ले अब सन्तान नलिने रहर राखेका थिए तर माइती र सासू-ससुराबाट छोराको खोजी गर्नुहुन्छ ।’

फेरि गर्भ बस्दा छोरी नै हुने हो कि भन्ने डरले उनले भ्रूण पहिचानका लागि जनकपुरधामकै एक निजी चिकित्सकको सल्लाहमा अल्ट्रासाउण्ड गराइन् । भिडिओ एक्स-रेबाट छोरी नै रहेको थाहा भएपछि गर्भ फ्याँक्ने निर्णयमा उनी पुगिन् । सावित्रीले चिकित्सककै सल्लाहमा औषधी प्रयोग गरेर दुईपटक गर्भपत गराइसकेकी छन् ।

पाँचौ पटकको गर्भमा ५ महिनाअघि सावित्रीले छोरा जन्माइन् । त्यो पनि भिडिओ एक्स-रेबाट यकिन गरेर । छोरा जन्मिएपछि माइती र घर दुवैबाट उनले जस पाइन् ।

योभन्दा भरक छैन महोत्तरीको पुनम (नाम परिवर्तन) को पीडा । ४५ वर्ष पुगेकी उनले ५ पटक गर्भपतन गराइसकेकी छन् । ६ छोरीकी आमा उनी परिवारबाट छोरा जन्माउन दबाब आएको बताउँछिन् । बुढेसकालको सहाराको आशमा उनलाई ४५ वर्ष पुग्दासम्म गर्भनिरोधक औषधी प्रयोगबाट वञ्चित गराइएको छ ।

‘पहिलो गर्भपतन गराउँदा डाक्टरको सल्लाहअनुसार सुरक्षित गर्भपतन गराएँ तर दोस्रो र तेस्रो पटकमा लाजले औषधी किनेर खाएँ । धेरै रगत बग्यो निको भएँ । तर, चौथोपटकमा औषधीले काम गरेन शरीरमा रगत कम भएर अस्पतालमा भर्ना हुनुपर्‍यो’, पुनमले व्यथा सुनाइन् ।

चिकित्सकले उनलाई पाठेघरमा प्वाल परेको बताएका छन् । छोरा पाउनै पर्ने पारिवारिक र समाजिक दवाब तथा गर्भपतन गराउन जाँदा लाग्ने नानाथरिका लाञ्छनाले घरमै गर्भ फ्याँकेको उनले बताइन् ।

छोराप्रतिको मोहको जालो गाउँघरमा वा अशिक्षित परिवारमा मात्र होइन शिक्षित सहरीया भनौदाहरूकोमा पनि उस्तै छ । जनकपुरधाम उपमहानगरपालिका-१ की ४५ वर्षीया उर्मिला (नाम परिवर्तन) ले पनि ३ छोरीपछि छोराको आशामा ३ पटक भ्रूण हत्या गराइसकेकी छन् । पारिवारिक दबाबमा सातौं पटकको गर्भधारणमा उर्मिलाले छोरालाई जन्म दिइन् ।

असुरक्षित गर्भपतन बढ्दो

छोरा प्रतिको मोह, छोराले वंश धान्ने मान्यता राख्दै कतिपय महिला लिंग पहिचान गराएर इच्छाअनुसार नै गर्भपतन गराउन आउने गरेको जनस्वास्थ्य कार्यालय जनकपुरकी स्वास्थ्यकर्मी शिवजी दास बताउँछन् । धनुषामा मात्रै मासिक ६० देखि ७० जना गर्भपतन गराउँने उनले बताए । दासका अनुसार त्यसमध्ये ५० जनाले औषधी खाएर असुरक्षित गर्भपतन गरेको र समस्या स्वास्थ्य समस्यासमेत देखिएको छ ।

स्त्रीरोग विशेषज्ञ डा. अन्जु मण्डलले असुरक्षित गर्भपतन गराउनेको संख्या एकाएक बढेको सुनाउँछिन् । उनी भन्छिन् , ‘चिकित्सक अथवा स्वास्थ्यकर्मीको सल्लाह लिएर गराउने गर्भपतन सुरक्षित गर्भपतन हो । तर, आफूखुसी औषधी खाने र स्वास्थ्य समस्या बढेपछि अस्पतालसम्म पुग्नेको संख्या धेरै छ ।’

असुरक्षित गर्भपतन रोजेकाहरूमा पाठेघरमा संक्रमण साथै भ्रूण राम्ररी बाहिर ननिस्कँदा स्वास्थ्य जटिल बन्ने गरेको बिरामी मात्र नभई चिकित्सकलाई समेत अप्ठ्यारो हुने गरेको डा. मण्डलको भनाइ छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य ऐन, २०७५ ले लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउने कार्यलाई अपराध माने पनि निजी स्वास्थ्य संस्थाहरू ‘अल्ट्रासाउण्ड सेन्टर’तथा निजी क्लिनिकहरूमा गएर छोरी भएकै आधारमा ‘भ्रूण हत्या’ गर्नेहरूको तथ्यांक यकिन छैन । सुरक्षित गर्भपतन सेवा सबै जिल्लामा नि:शुल्क उपलब्ध छन् तर त्यहाँ पुग्नेको संख्या भने नगण्य छ ।

स्पष्ट तथ्यांकको अभाव

प्रदेश २ स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्म प्रदेशभर २ हजार ६ सय ५० जनाले गर्भपतन गराएका छन् । प्रदेशका ८ जिल्लामध्ये सबैभन्दा बढी सर्लाहीमा यो संख्या धेरै छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सर्लाहीमा ७ सय १९ जनाले गर्भपतन गराएका छन् ।

सोही अवधिमा सिरहामा ६ सय १५, पर्सामा ५ सय ५०, सप्तरीमा २ सय ६८, रौतहटमा २ सय ३०, धनुषामा २ सय ८, बारामा ५० र सबैभन्दा कम महोत्तरीमा १० जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश २ मा ६ हजार १ सय ५६ जनाले गर्भपतन गराएको तथ्यांक छ । तथ्यांकअनुसार सर्लाहीमा २ हजार ६९ जनाले गर्भपतन गराएका थिए । त्यस्तै सिरहामा १ हजार १ सय ३९, पर्सामा ९ सय ७, सप्तरीमा ६ सय ५३, रौतहटमा ३ सय ८४, धनुषामा ७ सय ३१, बारामा १ सय ६१ र सबैभन्दा कम महोत्तरीमा १ सय १२ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

निर्देशनलायका तथ्यांक अधिकृत सरोज यादवका अनुसार प्रदेश २ मा सुरक्षित गर्भपतन गराउन आउने २० वर्षमुनिका किशोरीको संख्या न्यून छ । मंसिर मसान्तसम्म ९ दशमलव २ प्रतिशत किशोरीले गर्भपतन सेवा लिएका छन् ।

गर्भपतनका कारण समस्या देखिएपछि प्रदेश २ मा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ५ सय ८१ जना चिकित्सकको निगरानीमा उपचार गरेका छन् । अघिल्ला दुई वर्षमा यो संख्या क्रमश: ६ सय ९५ र ९ सय १७ थियो ।

सुरक्षित मातृत्व कार्यक्रम धनुषा प्रमुख किरण चौधरीले असुरक्षित गर्भपतन हुने गरेको स्वीकार्दै आफूहरूकोमा अहिलेसम्म केस नआएको बताइन् । पालिकास्तरमा सुरक्षित गर्भपतन सेवा प्रदान हुने गरेको उनको भनाइ छ ।

नि:शुल्क गर्भपतन सेवा लिनेहरू थोरै

परिवार नियोजन संघ धनुषाको २०२१ को तथ्यांक हेर्दा एक वर्षमा ५ सय २२ जनाले प्रिमेडिकल काउन्सलिंग सेवा लिन आएको देखिन्छ । जसमध्ये ३ सय ९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्, यीमध्ये १ सय ३१ जनाले औषधीसेवन गरेका छन् ।

गर्भपतन गराउनेमातमा १५ देखि १९ वर्षको किशोरी २० जना, २० देखि २४ वर्षको ४१ जना, २५ देखि २९ वर्षको ३९ जना र ३० देखि ३४ वर्षको २४ जना रहेको छ भने ३५ देखि ३९ वर्षको महिलाको संख्या सबैभन्दा कम ७ रहेको देखिन्छ । यस्तै, २६० जनाले शल्यक्रिया गरेर गर्भपतन गराएको देखिन्छ ।

जबकी धनुषाकै निजी क्लिनिकहरूमा महिनामा २२ देखि ३० जनाले गर्भपतन गराउँदै आएको जानकारहरू बताउँछन् । गर्भपतन गराएका २५ जनामध्ये १५ जनामा जटिल समस्या भएपछि अस्पताल आउँने स्वास्थ्यकर्मी गीता सुरीले बताइन् ।

सरकारले सुरक्षित गर्भपतनका लागि प्रेग्नोट किट, एम.टी.पी किट, मिस्टोल र मेडाबोन गरी ४ प्रकारका औषधीमात्र सूचीकृत गरेको छ । तर, गर्भपतन गर्न सयौं प्रकारका औषधिहरू बजारमा छ्यापछ्याप्ती पाइने गरेको छ । नेपाल प्रेस

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech