१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभा चुनावःलुम्बिनी प्रदेशमा यस्तो छ मतभारको अंकगणित, कुन पक्षको कति ?
  • न्युज मानसराेवर

बुटवल\ आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३ सीटमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ ।

मतभारको आधारमा अन्य प्रदेशमा जस्तै लुम्बिनीमा पनि सत्तारूढ गठबन्धन बलियो देखिए पनि आफ्ना मतदाता ‘होल्ड’ गर्न भने चुनौती रहेको बताइन्छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरूका सबै मतदाता एकैठाउँमा रहन नसकेको अवस्थामा एमालेलाई फाइदा पुग्ने विश्लेषण राजनीतिक वृत्तमा हुँदैछ । स्थानीय तहका केही जनप्रतिनिधि एमालेले आफूतिर तान्न प्रयास गरिरहेको स्रोतको दाबी छ ।

लुम्बिनीमा ३ पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् । सत्तारूढ गठबन्धनले कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छन् । लुम्बिनीमा माओवादी केन्द्रका उम्मेदवार छैनन् ।

दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारलाई एमालेले उम्मेदवार बनाएको छ । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेका महिलाबाट कोमल वली, दलितबाट रामलखन चमार र अन्य समुदायका दृगनारायण पाण्डेयको पद रिक्त हुन लागेपछि चुनाव हुँदैछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ । चुनावमा प्रदेश सांसदको मतभार ४८ हो भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हो । लुम्बिनीमा १०९ स्थानीय तह छन् । प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख/उपप्रमुख २१५ जना मतदानमा सहभागी हुनेछन् ।

लुम्बिनीमा प्रदेशतर्फको ३ हजार ८८८ र स्थानीय तहको ३ हजार ८७० गरेर कूल ७ हजार ७५८ मतभार रहेको छ ।

त्यसमध्ये लुम्बिनी प्रदेश सभामा एमालेका ३६ सांसद र स्थानीय तहका ८५ प्रमुख तथा उपप्रमुख छ । एमालेसँग सबै मतभार ३ हजार ३०६ छ । सत्तारूढ गठबन्धनमा कांग्रेसका १९ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ६४ जना छन् । उनीहरूको मतभार २ हजार ६४ छ ।

नेकपा माओवादी केन्द्रका १८ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ४१ गरेर १ हजार ६०२ मतभार छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ सांसद र १० स्थानीय तहका प्रमुख उपप्रमुख गरेर ३७२ मतभार रहेको छ ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ५ गरी १३८, नेकपा एकीकृत समाजवादीका १ सांसद र ४ स्थानीय तहका उपप्रमुख गरी १२० मतभार छ ।

सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ र स्वतन्त्र १ सांसदको मतभार १४४ छ । यसअनुसार सत्तारूढ गठबन्धनको मतभार हुन्छ । जबकि एमालेसहित अन्य पार्टीको मतभार ३ हजार ५३४ छ ।

निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । लुम्बिनीमा २९६ मतदाता छन् ।

प्रदेश निर्वाचन कार्यालयका अधिकृत गेहेन्द्र कुँवरले निर्वाचन तयारी तीब्र रूपमा भइरहेको लोकान्तरलाई बताए । आचारसंहिता कार्यान्वयन गर्न दलहरूलाई आग्रह समेत गरे । अहिले उम्मेदवारहरू मतदातासँग परिचय गर्नमा व्यस्त छन् ।

एमाले प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री बैजनाथ चौधरीले आफ्नो मत सुरक्षित राख्दै साना दलहरूको मत पनि एमालेका उम्मेदवारलाई आउने अपेक्षासहित निर्वाचनमा लागेको बताए । ‘संख्यात्मक रूपमा एमालेको मत कम देखिए पनि हामीले आफूलाई कमजोर ठानेका छैनौं,’ चौधरीले लोकान्तरसँग भने । गठबन्धन आफ्नो जीत सुनिश्चितजस्तै भएकोमा ढुक्क देखिएको छ ।

यस्तो छ अंकगणित –

कूल मतदाता – २९६
कूल मतभार – ७७५८
प्रदेश सांसद – ३८८८
पालिका – ३८७०

एमाले – ३३०६
सत्तारुढ गठबन्धन – ४२७८
राप्रपा – ३६
अन्य – १३८

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech