१२ श्रावण २०८१, शनिबार

उल्टो बाटोमा प्रदेश सरकार– महामारीका बेला अस्पताल विकास समिति भताभुंग
  • न्युज मानसराेवर

बुटवल\ कोरोनाभाइरस (कोभिड– १९)को तेस्रो लहर तीव्र गतिमा फैलिएका बेला त्यसको रोकथामका लागि प्रभावकारी काम गर्नुपर्ने समयमा लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिलाई नेतृत्वविहीन बनाएको छ ।

प्रदेश मातहतका सबै अस्पताल विकास समितिका अध्यक्षहरूलाई बर्खास्त गरेर नेतृत्वविहीन बनाएपछि सरकारी अस्पतालहरू भूसको आगोसरी फैलिएको कोरोना रोकथाम र बिरामीको चापलाई कसरी व्यवस्थापन गर्ने भन्नेमै अलमलमा परेका छन् ।

कोभिडको उपचारका लागि पूर्वाधार र जनशक्ति अभाव छ । सरकारको कामले कोभिड नियन्त्रणमा अड्चन पैदा भएको छ ।

गत शुक्रवारको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समितिमा प्रदेश सरकारबाट मनोनित अध्यक्ष र सदस्यहरूलाई हटाएको थियो ।

प्रदेश सरकार मातहतमा अहिले २५ अस्पताल छन् । जसमा ३ साविक अञ्चल अस्पताल, ११ जिल्ला अस्पताल र ११ आयुर्वेद अस्पताल छन् ।

कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएका बेला सरकार उल्टो दिशामा हिँडेको जानकारहरू बताउँछन् ।

कोरोनाको दोस्रो लहरबाट लुम्बिनी प्रदेश ‘इपिसेन्टर’ बन्दा बाँके र रूपन्देहीमा कोरोनाले भयावह रूप लिएको थियो ।

कोरोना महामारीका कारण सिर्जित संकटबीच जनता रोग र भोकविरुद्ध जीवनमरणको लडाइँ लडिरहेका बेला सरकारले राजनीतिक प्रतिशोध साँधेर अस्पताल विकास समितिलाई रित्तो बनाउने काम गरेको लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर भट्टराईले बताए ।

भट्टराईले भने, ‘कोरोना फैलिन थालेपछि हामीले कोभिड आईसीयू बेड थप्दै थियौं । दोस्रो लहरमा जस्तो अक्सिजनको अभाव नहोस् भनेर कोभिड बेडहरूमा पाइपलाइनबाट अक्सिजन पुर्‍याउने काम प्रभावकारी रूपमा हुँदै थियो । एकाएक मलाई बर्खास्त गरियो । केही छैन । तर, जनतालाई बचाउनुपर्ने बेलामा विकास समिति खारेजले अस्पतालका डाक्टरहरूलाई काम गर्न असहज हुन्छ ।’

६ माघ २०७६ मा तत्कालीन सरकारले भट्टराईलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो ।

अहिले लुम्बिनी प्रदेशमा संक्रमण तीव्र छ । प्रदेशमा दैनिक १ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् । प्रादेशिक अस्पतालमा संक्रमणको लक्षण देखिएर आएका १०० जनाको जाँच गर्दा ३० जनामा पोजेटिभ देखिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बिरामीको चाप तीव्र रहेको बताए । अहिले प्रादेशिक अस्पतालमा २०० जना कोरोनाका बिरामी उपचारका लागि आउन थालेका छन् ।

जसमध्ये अहिलेसम्म धेरैलाई अक्सिजन चाहिने अवस्थामा नरहेकाले तत्कालै अप्ठ्यारो नभए पनि संक्रमण झनै बढ्न थालेपछि अवस्था गाह्रो हुन सक्ने मेसु ढकालले बताए ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा अस्पतालमा अध्यक्ष र पदाधिकारी नभएर कोरोना रोकथामको कामलाई असर नपर्ने दाबी गर्छन् ।

यद्यपि, व्यवस्थापनको कार्यमा भने केही समस्या भएको उनको बुझाइ छ । शर्माले छिट्टै सबै अस्पतालमा नयाँ विकास समितिको नेतृत्व दिन प्रदेश सरकार तयारीमा रहेको बताए ।

यस अघिदेखि नै सञ्चालनमा रहेका अस्पताल, आइसोलेसन, अक्सिजन प्लान्टहरू सबैको राम्रो व्यवस्थापन गरिने सरकारको उनको भनाइ छ ।

सीमा नाका भद्रगोल

भारतबाट संक्रमित भएर आएकाहरूलाई होल्डिङ सेन्टरमा नराखेर सिधै घर जाँदा संक्रमण झनै फैलिएको छ । नेपाल–भारत सीमा नाका बेलहिया (सुनौली) मा चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित बनेका छन् । त्यसतर्फ प्रदेश सरकारको ध्यान पुग्न सकेको छैन ।

लुम्बिनी प्रदेशमा नेपाल–भारत आवतजावत गर्ने ठूला चारवटा नाका छन् । ती सबै अस्तव्यस्त र भद्रगोल छन् । संक्रमण रोकथाम भनेर हतारमा विद्यालय बन्द गरेको सरकारको उपस्थिति सीमा नाकामा प्रभावकारी देखिँदैन ।

नाकामा पर्याप्त परीक्षण र पूर्वतयारी नै छैन । संक्रमित सिधै सार्वजनिक गाडी चढेर घर जान्छन् । जसले गर्दा संक्रमण फैलिने क्रम तीव्र छ । अहिले दैनिक लुम्बिनी प्रदेशका विभिन्न नाकाबाट दैनिक २ हजारभन्दा बढी नेपालीहरू नेपाल प्रवेश गरेर सिधै घर गएका छन् ।

खोप अझै ४५ प्रतिशतलाई बाँकी

लुम्बिनी प्रदेशमा अझै ४५ प्रतिशत जनसंख्या कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् । खोपको गति सुस्त छ । सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोप कार्ड अनिवार्य गर्दा व्यावहारिक रूपमा यसको कार्यान्वयन कठिन हुने देखिएको छ । दुवै खोप लगाउन नपाएकाहरू सार्वजनिक सेवा लिनबाट बञ्चित हुन सक्ने देखिएको छ ।

लुम्बिनीमा १२ वर्षमाथिको जनसंख्यामा ३९ लाख ६७ हजार छ । जसमध्ये १९ लाख ३० हजारले मात्र खोप दुवै डोज खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या करीब ३० लाख पुगेको छ ।

प्रदेशका १२ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । केही स्थानीय तहले उमेर समूह अनुसार बालबालिका बाहेक अन्यलाई खोपका दुवै मात्रा पूरा गरेका छन् । लुम्बिनीमा १२ जिल्ला छन् ।

खोप लगाएकाहरू पनि संक्रमित 

प्रदेशका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश खोप लगाएकाहरू रहेका भेटिएका छन् ।

लुम्बिनी प्रादेशिक, भेरी, राप्ती र भीम अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये अधिकांश कोरोनाविरुद्धको पूर्ण खोप लगाएकाहरू हुन् ।

खोप लगाएका संक्रमितहरू प्रशस्तै रहेको अस्पतालका सूचना अधिकारी डा. नेत्र रानाले बताए ।

‘अहिले अस्पतालमा एक गर्भवतीसहित १० जना कोरोनाका संक्रमितहरू भर्ना हुनुभएको छ,’ उनले भने, ‘भर्ना भएका संक्रमितमध्ये ८ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनुभएको छ ।’

अस्पतालमा भर्ना भएका संक्रमितहरूमध्ये अहिले कुनै पनि संक्रमितमा जटिल समस्या छैन ।

पालना भएन सरकारको ‘प्रोटोकल’

सरकारले ठूलो सभा र कार्यक्रम गर्न भनेको छ । प्रायः सबैजसो ठाउँमा सरकारको निर्देशन पालना भएको छैन ।

२५ जनाभन्दा बढी भेला नगर्न भने पनि संघ संस्थाका कार्यक्रम माघी पर्वमा सयौं मानिसहरू जम्मा भएर कार्यक्रमहरू भइरहेका छन् ।

जसलाई रोक्न प्रशासन उदासीन देखिन्छ ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech