१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनको अंकभार बलियो
  • न्युज मानसराेवर

बुटवल– लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन बलियो देखिएको छ। यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धन विरुद्ध नेकपा एमालेका उम्मेदवार चुनावी मैदानमा भिड्नेछन्।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ हो। प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन्।  लुम्बिनीमा प्रदेश सांसदको संख्या ८१ छ। स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

८१  प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८, स्थानीय तहतर्फको कुल मतभार ३ हजार ८ सय ७० गरी यो प्रदेशको कुल मतभार ७ हजार ७ सय ५८ छ। यसमध्ये प्रदेशसभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद छन्।  जसको कुल मतभार २१ सय १२ हुन्छ।

त्यसैगरी गठबन्धनकै स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन्। गठबन्धनको स्थानीय तह तर्फको कुल मतभार २१७८ हुन्छ। लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० छ।

त्यसो त नेकपा एमालेका कतिपय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा पनि भोट दिन सक्ने र समाजावदीले आफ्नो पक्षमा भनेकाहरुले एमालेका उम्मेदवारलाई पनि भोट दिनसक्ने आंकलन गरिएको छ। यति हुँदाहुँदै पनि गठबन्धनले आफूहरुको जित सहज भएको बताउँदै आएको छ।

लुम्बिनीमा प्रदेशसभा सदस्यमा एक र स्थानीय तहमा ४ मत स्वतन्त्रतर्फ देखिन्छन्। स्वतन्त्रतर्फको कुल मतभार १२० रहन आउँछ। स्वतन्त्रतर्फको कुल मतभार एमालेमा गाभिए पनि सत्ता पक्षीय गठबन्धन नै बलियो देखिन्छ।

गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी मनोनयन गरेका छन्। एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दिएका छन्।

गत जेठ १७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनको परिणामले गठबन्धनलाई सहज जितको सम्भावना देखाएको छ। उक्त उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे ४ हजार १ सय ४० मतभारका साथ विजयी भएका थिए। त्यो बेला एमालेका चन्द्रबहादुर खड्काले ३६१२ मतभार प्राप्त गरेका थिए।

गत जेठमा भएको उपनिर्वाचनमा कुल ३ सय मतदाता थिए, जसमध्ये २९६ मत खसेको थियो।  यो अवधिमा दुई जना प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्षको मत घटेको छ। जसपाका २ सांसदको कारवाहीपछि पद गुमेको छ। गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ।

कारवाहीमा परेका दुई सांसदले उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गरेका थिए। दुई सांसदको ९६ मतभार यो पटक एमालेलाई घाटा लाग्ने देखिन्छ। यसैगरी निधन भएका बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादव पनि एमालेकै हुन्। एमालेबाट निर्वाचित अर्घाखाँची पाणीनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम पनि कांग्रेस प्रवेश गरेकी छिन्। यी दुई स्थानीय तहका प्रमुख र उपप्रमुखको मत नपाए एमालेलाई ३६ मतभार घाटा लाग्ने छ।

निधन भएका गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा भने कांग्रेसबाट निर्वाचित भएका थिए। उनको निधन भएपछि गठबन्धनलाई १८ मतभार कम हुनेछ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech