१२ श्रावण २०८१, शनिबार

भारतसँग सीमाना जोडिएका नाकामा कडाइ
  • न्युज मानसराेवर

बाँके\ कोरोना संक्रमण बढेसँगै भारतसँग सीमाना जोडिएका लुम्बिनी प्रदेशका ६ जिल्लाका सीमा नाकामा प्रवेश गर्न कडाइ गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्दा कोरोना फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको हो ।

बाँके, रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका सीमा नाकामा विशेष कडाइ गरिएको छ । त्यस्तै दाङ र बर्दियाका कम चहलपहल हुने सीमा नाकामा पनि कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

दोस्रो चरणको कोरोना लहरमा सबैभन्दा पहिले र बढी बाँके जिल्ला प्रभावित भएको थियो । भेरी अस्पतालमा बेड अभावले कोरोना संक्रमितले धेरै दुःख पाएका थिए ।

अहिले त्यस्तो अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरण गर्न सीमा नाका जमुनाह नाकामा कडाइ गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।

माघीभन्दा पहिले तिर्थालुहरु धेरै प्रवेश गर्न खोजेपछि केही कठिनाइ भएको र अहिले त्यस्तो अवस्था नभएको भन्दै उनले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरी परीक्षण गरिएको बताए । नेपाल प्रवेश गर्नेहरुको अनिवार्य एन्टिजेन विधिद्वारा कोरोना परीक्षण गरिएको, खोप लगाएरनलगाएको हेरिने गरिएको उनको भनाई छ ।

साथै नेपालबाट भारत प्रवेशमा पनि कडाइ गरिएको छ । भारत जानका लागि पनि अतिआवश्यक कामबाहेकमा रोक लगाइएको केसीले बताए । ‘अहिले रुपइडिहा बजार जानलाई पनि कडाइ गरेका छौँ, अतिआवश्यक हो भने मात्र जान दिने, नत्र जान नदिने पनि गरेका छौँ,’ उनले भने ।

उहाँका अनुसार नरैनापुर गाउँपालिका क्षेत्रका खुला सीमानामा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ । साना नाकाहरुमा आवतजावत गर्नेहरुलाई रोक्न सुरक्षाकर्मी परिचालन गरिएको हो ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech