११ श्रावण २०८१, शुक्रबार

बाँकेमा सिटामोललगायत औषधिको अभाव
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा सिटामोललगायत औषधि अभाव हुन थालेको छ । औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य भारतमा बढेकाले बाँकेमा उत्पादन घट्दा अभाव देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।

सरकारले कच्चा पदार्थमा सहुलियत नदिए सिटामोलको अभाव अझै चर्किने उनीहरूको दाबी छ । नेपालमा सिटामोल एउटा ट्याबलेट ८० पैसामा बिक्री हुन्छ ।

तर, उत्पादन मूल्य त्यसभन्दा बढी पर्ने भएकाले नेपालका औषधि कम्पनीले उत्पादन गर्न छाडेका हुन्,’ राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रकुमार बीसीले भने– ‘सिटामोलको उत्पादन हुन छाडेपछि अभाव हुनु स्वाभाविक हो ।’

पालिकामा आवश्यक पर्ने सिटामोललगायतका औषधि उपलब्ध रहेको तर मागबमोजिम स्टक नरहेको उनले बताए । पालिकाले औषधि खरिदका लागि टेन्डर प्रक्रिया सुरु गरेको तर सिटामोल उपलब्ध गराउन कम्पनीहरूले आनाकानी गरेको उनले बताए ।

पालिकाका स्वास्थ्य केन्द्रहरूमा केही औषधि भए पनि पर्याप्त नभएको र औषधि खरिद प्रक्रिया सुरु भएको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्काको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिका, जानकी, बैजनाथ, नरैनापुर, खजुरा गाउँपालिकाले पनि औषधि खरिद प्रक्रिया शुरु गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले केन्द्र र प्रदेश सरकारबाट उपलब्ध गराउने थोरै औषधि पालिकाहरूलाई आवश्यकताका आधारमा सहयोग गर्दै आएको बताए । सरकारले जिल्ला अस्पतालबाट ७२ प्रकारका र पालिकाका स्वास्थ्य केन्द्रबाट ३२ प्रकारका औषधि सर्वसाधारणलाई निःशुल्क दिने नीति लिएको छ ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech