१२ श्रावण २०८१, शनिबार

शीर्ष नेताको लडाइँले माओवादी लुम्बिनीमा पदाधिकारीको टुंगो लागेन
  • न्युज मानसराेवर

बुटवल\ नेकपा माओवादी लुम्बिनीको पदाधिकारी राष्ट्रिय महाधिवेशन अघि नै टुंग्याउने भनिएको भए पनि नेतृत्व विवाद नमिल्दा अझै टुंगिएको छैन। नेतृत्वमा आकांक्षी धेरै भएपछि दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी मात्रै चयन गरेको थियो।

पदाधिकारीको टुंगो, सदस्य र शीर्ष नेताहरूको सल्लाहमा टुंग्याउने सहमति भएको हो। तर, प्रदेश सदस्य टुंगिएको करिब डेढ महिना हुँदासम्म पनि पदाधिकारीको टुंगो लागेको छैन।

राष्ट्रियसभाको निर्वाचनका लागि खटिनुपर्ने बेला पदाधिकारीको टुंगो नलाग्दा निर्वाचन परिचालनमै अलमल भएको माओवादी नेताहरूको भनाई छ। लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शीर्ष नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, चक्रपाणि खनाललगायत नेताहरूबीच पदाधिकारीमा कसलाई राख्ने भन्ने सहमति नहुँदा पदाधिकारीमा अलमल भएको हो। अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाममा सहमति भएको नेताहरूले बताएका छन्।

अध्यक्षमा बरालको नाम सहमति भए पनि औपचारिक रूपमा घोषणा भएको छैन। सहमति भएको भन्दै बरालको नाम कतिपय सञ्चार माध्यममा अध्यक्षको रूपमा सार्वजनिक नै भइसक्यो। अध्यक्षमा बराल पक्कापक्की भए पनि डेढ महिनासम्म टुंगो नलाग्दा कमिटी सक्रिय हुन पाएको छैन।

नेताहरूबीच छलफल भइरहेको छ। अहिले कोभिडले गर्दा पनि ढिलाइ भएको हुनसक्छ,’ प्रस्ताविक अध्यक्ष तथा माओवादी नेता सुदर्शन बरालले भने। उनका अनुसार केही नेताहरूलाई कोभिड संक्रमण भएको र निको हुनसाथ पदाधिकारी टुंगोमा पुग्नेछ।

अध्यक्षमा प्रस्ताव गरिएका बराल माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत अध्यक्षका रूपमा आएका हुन्। उनी प्रदेशमा पुन निकट नेता मानिन्छन्। त्यसो त माओवादीमा लुम्बिनी प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले दाबी गर्दै आएका थिए। तर, यी दुवै जना राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा परेपछि बराल नै निर्विकल्प बनेका हुन्।

माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। तीन उपाध्यक्षमा बाँकेका आईपी खरेल, रुकुमकी जुनकुमारी रोका मगर, कपिलवस्तुका रुद्र बन्जाडेले दाबी गरेका छन्। सचिवमा दाङका तुलसीराम पुन, लुमाकान्त न्यौपाने, बर्दियाका दुर्गाबहादुर थारु, रोल्पाका निमकान्त डाँगी, प्युठानका प्रकाश अधिकारीको दाबी छ। सचिवका लागि माओवादी प्रवक्ता महराले तुलसीराम पुनलाई समर्थन गरेका छन्।

त्यसो त अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले आफ्नै ज्वाइँ लुमाकान्त न्यौपानेलाई अघि सारेका छन्। सचिव पदको टुंगो नलागेकै कारण लुम्बिनी प्रदेशको नेतृत्व टुंगिन नसकेको हो। लुम्बिनी प्रदेशका शीर्ष मध्येका नेता वर्षमान पुन स्वास्थ्यका लागि चीनमा भएकाले पनि ढिलाइ भएको हो। उनी पनि निको भएर स्वदेश फर्किएकाले केन्द्रीय पदाधिकारीसँग सँगै लुम्बिनीको पदाधिकारी पनि टुंगोमा पुग्ने एक नेताले बताए।

‘सचिवमा आकांक्षी धेरै भएकाले मिलाउन समस्या हो। त्यसको टुंगो लाग्नासाथ पदाधिकारी टुंगिन्छ,’ माओवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सांसद तुलाराम घर्ती मगर वसन्तले भने। उनले माघ महिनाभित्रमा पदाधिकारीको टुंगो लाग्ने बताए। ‘विवादले रोकिएको होइन। सचिव पदमा बढी आकांक्षी हुँदा छलफलका लागि समय लागेको हो,’ उनले भने।

माओवादीले मंसिर २५ र २६ गते दाङको भालुबाङमा अधिवेशन सम्पन्न गरेको थियो। सम्मेलनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको हो। माओवादीको लुम्बिनी प्रदेश कमिटी २ सय ५३ सदस्यीय हुने निर्वाचन समितिले जनाएको छ।  बाँकी ११ जना विभिन्न कलस्टरबाट मनोनीत गरिने जनाइएको छ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech