१२ श्रावण २०८१, शनिबार

आज राष्ट्रिय सभा निर्वाचन : ९ दल चुनावी मैदानमा, १९ जना निर्वाचित हुँदै
  • न्युज मानसराेवर

बाँके\ १९ सदस्य चयनका लागि बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधवार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् । निर्वाचनमा ४३ उम्मेदवार चुनावी मैदानमा छन् । जसअनुसार सत्ता गठबन्धन एकातिर रहेका छन् भने प्रदेश २ मा एमालेलाई पनि लोसपाले सघाएको छ ।
निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेश सभाका ५३२ मतदाता रहेका छन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रिय सभाका एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech