१२ श्रावण २०८१, शनिबार

लुम्बिनीको राष्ट्रिय सभा निर्वाचन : कसले मार्ला बाजी ? यस्तो छ अंकगणित
  • न्युज मानसराेवर

बाँके\ तीनमा पदका लागि लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ ।

बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म निर्वाचनको समय निर्धारण गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अधिकृत गेहेन्द्र कुँवरले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए ।

निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता दाङ पुगिसकेका छन् ।

सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।

सत्तारूढ गठबन्धनले कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छन् । लुम्बिनीमा माओवादी केन्द्रका उम्मेदवार छैनन् ।

दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारलाई एमालेले उम्मेदवार बनाएको छ । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेका महिलाबाट कोमल वली, दलितबाट रामलखन चमार र अन्य समुदायका दृगनारायण पाण्डेयको पद रिक्त हुन लागेपछि चुनाव हुँदैछ ।

चुनावमा प्रदेश सांसदको मतभार ४८ हो भने, स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा १०९ स्थानीय तह छन् । प्रदेश सभा सदस्य ८१ र स्थानीय तहका प्रमुख/उपप्रमुख २१५ जना गरी कूल २९६ मतदाता  मतदानमा सहभागी हुनेछन् ।

लुम्बिनीमा प्रदेशतर्फको ३ हजार ८८८ र स्थानीय तहको ३ हजार ८७० गरेर कूल ७ हजार ७५८ मतभार रहेको छ । त्यसमध्ये लुम्बिनी प्रदेश सभामा एमालेका ३६ सांसद र स्थानीय तहका ८५ प्रमुख/उपप्रमुख छ । एमालेसँग सबै मतभार ३ हजार ३०६ छ । सत्तारूढ गठबन्धनमा कांग्रेसका १९ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ६४ जना छन् । कांग्रेसको मतभार २ हजार ६४ छ ।

नेकपा माओवादी केन्द्रका १८ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ४१ गरेर १ हजार ६०२ मतभार छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ सांसद र १० स्थानीय तहका प्रमुख उपप्रमुख गरेर ३७२ मतभार रहेको छ ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ५ गरी १३८, नेकपा एकीकृत समाजवादीका १ सांसद र ४ स्थानीय तहका उपप्रमुख गरी १२० मतभार छ ।

सत्तारूढ गठबन्धनभन्दा बाहिर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ र स्वतन्त्र १ सांसदको मतभार १४४ छ । यसअनुसार सत्तारूढ गठबन्धनको मतभार हुन्छ । जबकि एमालेसहित अन्य पार्टीको मतभार ३ हजार ५३४ छ ।

एमाले प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री बैजनाथ चौधरीले आफ्नो मत सुरक्षित राख्दै साना दलहरूको मत पनि एमालेका उम्मेदवारलाई आउने अपेक्षासहित निर्वाचनमा लागेको बताए । यता गठबन्धन आफ्नो जीत सुनिश्चितजस्तै भएकोमा ढुक्क देखिएको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech