१ असार २०८१, शुक्रबार

सबैभन्दा धेरै जनसंख्या बाँकेमा बैजनाथ गाउँपालिका
  • न्युज मानसराेवर

बाँके\ देशभरका गााउपालिकामध्ये बाँकेको बैजनाथ गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ ले गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका बाँकेका  ३ ओटा गाउँपालिकाहरुमा  बैजनाथ,राप्तीसोनारी र खजुरा रहेका छन् । बैजनाथ गाउँपालिकाको जनसंख्या ७०,३१५ रहेको सबैभन्दा कम जनसंख्या मनाङ्गको नार्फाभुमि गाउँपालिकामा ४४२ रहेको छ ।

अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ। राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४) प्रतिशत र एक करोड ४२ लाख  ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) रहेका छन्।

दश वर्षअघि २०६८ सालको जनगणनामा कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५५ र ५१.५ प्रतिशत थियो। हालको प्रारम्भिक नतिजा अनुसार लैंगिक अनुपात (प्रति १०० महिलामा पुरुषको सङ्ख्या) ९५.९१ रहेको राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ। गत जनगणनामा प्रति सय महिलामा पुरुषको सङ्ख्या ९४.१६ रहेको थियो।

कुल जनसङ्ख्या अघिल्लो गणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ ले बढी हो। यसरी हेर्दा दश वर्षमा नेपालको जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको देखिएको छ। विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको र जुन अघिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको विभागले जनाइएको छ। यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य विसं २०७८ भदौ ३० देखि असोज १८ गतेसम्म र दोस्रो चरणको स्थलगत कार्य विसं २०७८ कात्तिक २५ देखि २०७८ मङ्सिर ९ गतेसम्म सम्पन्न भएको थियो।

राष्ट्रिय जनगणना २०७८ को प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कार्यका लागि एक हजार ८७१ कर्मचारी र स्थलगत कार्यमा करिब आठ हजार ५०० सुपरिवेक्षक तथा ३९ हजार गणक संलग्न थिए। दुवै चरणको स्थलगत कार्य सम्पन्न भई भरिएका फारम (घर तथा घरपरिवार सूचीकरण फाराम, मुख्य प्रश्नावली तथा सामुदायिक प्रश्नावली) केन्द्रीय तथ्याङ्क विभागमा प्राप्त भई प्रशोधन थालिएको हो।

तराईमा जनसङ्ख्या बढ्यो

भौगोलिक क्षेत्रअनुसार कूल जनसङ्ख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ। विसं २०६८ को जनगणनामा तराईमा कूल जनसङ्ख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकामा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ। हिमाली क्षेत्रमा कूल जनसङ्ख्याको ६.७३ प्रतिशत अंश रहेकामा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ।

त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकामा हाल ४०.२५ प्रतिशतमा झरेको छ। दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १ प्रतिशत विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३ प्रतिशत र ४ प्रतिशत विन्दुले बढेको देखिन्छ। यो गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकामा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ। वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (—०.०२ प्रतिशत), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.२९ प्रतिशत) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६ प्रतिशत) वृद्धि देखिन्छ।

प्रदेशअनुसारको जनसङ्ख्या परिवर्तन र वृद्धिदर प्रदेशगत रुपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसङ्ख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ जुन समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत छ। लैंगिक रुपले विश्लेषण गर्दा लैंगिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ।

प्रदेशगत रुपमा वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३ प्रतिशत प्रतिवर्ष जनसङ्ख्या वृद्धि देखिन्छ। दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ। अन्य प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ।

दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ (८७.६४ प्रतिशत) र महिला दुई लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए। यसरी समग्रमा हेर्दा २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाको सङख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ। जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू विदेश गएका देखिएका छन्।

सबैभन्दा बढी विदेश गएका पाँच जिल्लामा काठमाडौँ, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम हुने पाँच जिल्लामा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन्।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech