१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभामा लुम्बिनीबाट निर्वाचित गैरे, शर्मा र विक को हुन्?
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। बुधबार सम्पन्‍न भएको निर्वाचनमा महिलातर्फ एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरै, अन्यतर्फ नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलबहादुर विक विजयी भएका हुन्।

निर्वाचनमा क्रमश: एमालेका उम्मेदवार बाँकेका भारती उपाध्याय खनाल, रामदयाल गुप्ता र गुल्मीका कृष्ण सुनार पराजित भएका छन्। पाँच दलसँग एमाले एक्लै चुनावमा भिडेका थिए। महिलातर्फ समाजवादीकी गैरैले एमालेकी उपाध्यायलाई एक हजार ६२ मतभारको फरकमा पराजित गरेकी हुन्।

गैरैले प्रदेशसभा तर्फ २ हजार १ सय ६०, स्थानीय तहतर्फ दुई हजार २१४ गरी ४ हजार ३ सय ७४ मतभार प्राप्त गरिन्। एमालेकी उपाध्यायले प्रदेशसभातर्फ १ हजार ७ सय २८, स्थानीय तहतर्फ १ हजार ५ सय ८४ गरी ३ हजार ३ सय १२ मतभार पाएकी छन्।

त्यस्तै अन्यतर्फबाट कांग्रेसका युवराज शर्माले एमालेका रामदयाल गुप्ताले पराजित गरेका छन्। शर्माले चार हजार ३४४ मतभार प्राप्त गर्दा गुप्ताले ३ हजार ३७८ मतभार प्राप्त गरे। शर्माले प्रदेशसभातर्फ दुई हजार ११२ र स्थानीय तहतर्फ २ हजार २३५ मतभार पाएका छन्। त्यस्तै गुप्ताले प्रदेशसभातर्फ १ हजार ७७६ र स्थानीय तहतर्फ १ हजार ६०२ मतभार पाए।

दलिततर्फ गठबन्धनका उम्मेदवार रुपन्देहीका राष्ट्रिय जनमोर्चाका तुलबहादुर विश्वकर्मा (राजेश) ले एमालेका तर्फबाट गुल्मीबाट उम्मेदवार रहेका कृष्ण सुनारलाई पराजित गरेका छन्। तुलबहादुरले प्रदेशसभातर्फ २ हजार १६०, स्थानीय तहतर्फ २ हजार १९६ गरी ४ हजार ३५६ मतभार पाए।

त्यस्तै उनका प्रतिद्वन्द्वी कृष्णले प्रदेशसभा तर्फ १ हजार ७२८, स्थानीय तहतर्फ १ हजार ६२० गरी ३ हजार ३४८ मतभार पाएका छन्। गठबन्धनका उम्मेदवार शर्मालाई प्रदेशसभाका तर्फबाट एक सांसदको मत खसेन भने राष्ट्रिय जनमोर्चाका तुलबहादुरलाई स्थानीय तहका २ जनाले मत दिएनन्। गठबन्धनबाट विजयी भएका तीनै जना लामो समयदेखि पार्टीमा क्रियाशिल भएर पनि अवसर नपाएका नेताहरु हुन्।

को हुन् युवराज शर्मा ?

बाँकेका युवराज शर्मा नेपाली कांग्रेसका पुराना नेता हुन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका सभापति भएको बेलाका उपसभापति हुन्। बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका वडा नम्बर २ का बासिन्दा शर्माले लामो राजनीतिक जीवनमा कहिल्यै लाभको पद पाएनन्।

गठबन्धनका तर्फबाट यो पटक राष्ट्रियसभामा पाइला टेक्न पुगेका छन्।  पञ्‍चायतको विरोधमा आन्दोलनमा उत्रिँदा विस २०२४ सालमा जेल परेका थिए। पञ्‍चायतकालमा उनी र्दजनौं पटक जेल परे। उनले २०२५ सालमा बीपी कोइराला आठ वर्षको जेल जीवनबाट मुक्त भएर नेता-कार्यकर्तासँगको भेटघाटलाई अझै पनि स्मरण गर्छन्। उनी भारतको गोरखपुरमा बीपीलाई स्वागत गर्न रेल्वे स्टेशन पुगेका थिए।

शर्मा पञ्‍चायतविरोधी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६को प्रथम जनआन्दोलन, दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका निभाएका थिए। २०४६ सालमा बाँकेको सभापति हुँदा शर्माले आन्दोलनको नेतृत्व गरेका थिए। २०३० सालमा भूमिगत रुपमा पार्टीको जिल्ला सचिव समेत बनेका थिए। २०३० सालदेखि नै शिक्षण पेशामा आवद्ध भएका शर्माले ४६ सालपछि भने शिक्षण पेशा छाडेर काँग्रेसको राजनीतिमा सक्रिय भएका हुन ।

राजेन्द्र लक्ष्मी गैरे पुरानो महिला नेतृ

राजेन्द्रलक्ष्मी गैरै एमालेको भूमिगत राजनीतिदेखि नै संलग्‍न महिला नेतृ हुन्। पार्टीभित्र गुट-उपगुटले राज्यको महत्वपूर्ण पदमा पुग्‍न नपाएकी उनले यसपटक एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका तर्फबाट राष्ट्रिय सभामा प्रवेश पाइन्। पाल्पा रामपुर नगरपालिकामा जन्मिएकी गैरै अहिले तानसेन ७ प्रभासमा बस्छिन्।  २०२४ सालमा जन्मेकी गैरे २०३६ सालदेखि नै राजनीतिमा सक्रिय भएकी थिइन्।

२०४६ सालको प्रजातन्त्र प्राप्तिको संघर्षमा लाग्दै क्रियाशिल रहेकी गैरेले २०४७ सालमा तत्कालीन नेकपा मालेबाट पार्टी सदस्यता प्राप्त गरेकी हुन्। अखिल नेपाल महिला संघ जिल्ला कमिटी पाल्पाको सदस्य, कोषाध्यक्ष, सचिव, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०७० सालमा जिल्ला अध्यक्ष तथा अनेमसंघको केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।

२०७१ सालमा नेकपा एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार भएकी थिइन्। एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य र पाल्पा जिल्लाको सहइन्चार्ज हुन्। अनेमसंघ समाजवादीको केन्द्रीय उपाध्यक्ष र लुम्बिनी प्रदेश इन्चार्ज समेतको भूमिका गैरैले निभाएकी छन्।

तुल प्रसाद विश्वकर्मा (राजेश) को हुन ?

तुलबहादुर विश्वकर्मा (राजेश) राष्ट्रिय जनमोर्चामा इमान्दार नेताका रुपमा चिनिन्छन्। शिक्षण पेशा छाडेर २०३५ सालदेखि नेकपा मसालबाट राजनीति सुरु गरेका हुन्। यद्यपि उनले २०३३ सालमा अयोध्यामा भएको अनेरास्ववियुको पाँचौ सम्मेलबाट बाग्लुङबाट प्रतिनिधित्व गरेर सहभागी भएका थिए। उनी २०३४ सालमै नेकपा मसालले बाग्लुङमा राजतन्त्र विरोधी प्रशिद्ध पर्चा आन्दोलनका क्रममा गिरफ्तार भएका थिए। तर उनी २०३५ सालबाट भने पूर्णकालीन राजनीतिमा होमिएका हुन्।

जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानका कलाकारदेखि हाँक पत्रिकामा पत्रकारिता गरेको अनुभव समेत विकले सँगालेका छन्। दलित समुदायमा पञ्‍चायतकालमै शिक्षण पेशामा आबद्ध हुने थोरै मध्येमा तुलबहादुरको नाम आउँथ्यो। सामाजिक विभेद, असामानता देखैकै कारण राजनीतिमा लागेका विश्वकर्मा राष्ट्रिय जनमोर्चाको भातृ संगठन जातीय समता समाजको लामो समयदेखि नेतृत्व गरे। उनी हालका पनि अध्यक्ष हुन्। विक रक्तिम सांस्कृतिक अभियानका संस्थापक, अखिल भारत वामपन्थी युवक मोर्चाको संयोजक समेत हुन्। उनले नेकपा मसालको साँस्कृतिक मोर्चाको संयोजक भएर प्रवासमा काम पनि गरे।

विस २०१५ सालमा बाग्लुङको गलकोटमा जन्मेका विश्वकर्माको अध्ययन गलकोट माविमा भयो। पीएन क्याम्पस पोखरामा आइएसम्मको अध्ययन गरेका छन्। हाल उनी रुपन्देहीको सैनामैनामा बसोबास गर्छन्। उत्पीडित समुदायबाट राष्ट्रियसभा समक्ष पुग्‍न पाएकोमा आफूले असल राजनीति गरेको बताउँछन्।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech