११ श्रावण २०८१, शुक्रबार

अस्पतालको शवगृहमा ‘आमा छोरी’को शव अलपत्र, आफन्त खोज्दै प्रहरी
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मर्चरी (शव राख्ने ठाउँ) मा महिला र बालिकाको शव छ । अधवैंशे महिला र बालिकाको शवले तीन दिनदेखि आफ्नाको पहिचान खोजिरहेको छ । तर, अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उनीहरूको दुवैको शव पोष्टमार्टम गरी प्रादेशिक अस्पतालको शव गृहमा छन् । प्रहरीले उनीहरूका आफन्तको खोजीका लागि हुलिया सातै प्रदेशदेखि भारतसम्म पठाइसकेको
छ ।

रूपन्देहीकोे देवदह नगरपालिका वडा नम्बर– ९ घोडाहा जंगलमा मंगलवार हत्या गरेर फालिएको अवस्था फेला परेका महिला र बालिकाको अझै पहिचान हुन नसकेको हो । रूपन्देही प्रहरीले उनीहरूको सनाखतका लागि पत्राचार र सूचना जारी गरे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले उनीहरूका आफन्तको खोजीका लागि सबै क्षेत्रमा सूचना र पत्राचार गरिए पनि अझै पत्ता लाग्न नसकेको बताए ।

‘नेपाल–भारत सबै ठाउँमा उनीहरूका तस्वीरसहित सूचना जारी गरिएको छ,’ एसपी केसीले लोकान्तरसँग भने, ‘शनाखत नहुँदा अनुसन्धानको काम पनि अगाडि बढ्न सकेको छैन । अहिले उनीहरूको हुलियासहित आफन्त र चिन्ने व्यक्तिको खोजीमा छौं ।’

घोडाहा जंगलमा मंगलबार दिउँसो अन्दाजी ३५ वर्षकी महिला र ७ वर्षकी बालिकाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्था शव फेला परेको थियो । पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकबाट २५ मिटर दक्षिणतर्फ सडक छेउको खाल्डोमा फालिएको अवस्थामा शव फेला परेको थियो । मंगलवार १२ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको वस्तुस्थिति हेर्दा अन्यत्र कतै हत्या गरी त्यहाँ ल्याएर फालेको जस्तो देखिन्छ । इलाका प्रहरी कार्यालय, बुटवलमा डिएसपी ठगबहादुर केसीले सबैतर्फ खोजतलास गरिए पनि आफन्त पत्ता लाग्न नसकेको बताए ।

महिलाले रातो ब्लाउज, रातो ज्याकेट लगाएकी छन् । पातलो शरीर भएकी उनको शव हेर्दा तराई मूलको जस्तो देखिन्छ । त्यस्तै बालिकाको शरीरमा निलो पाइन्ट, गुलाबी रंगको लेडिज सेन्डल र पहेलो छिर्केमिर्के शर्ट लगाएको देखिन्छ । उनले रातो टोपी पनि लगाएकी छन् । बालिका पनि तराई मूलको जस्तै देखिन्छन् ।

उनीहरू आमाछोरी हुनसक्ने इप्रका बुटवलका डीएसपी केसीले लोकान्तरलाई बताए । शव भेटिएको स्थानमा अन्य कुनै सामान थिएन ।

झोला वा अन्य कागजपत्र नहुँदा शवको पहिचान गर्न प्रहरीलाई गाह्रो भएको केसीले बताए । हत्या गरेर जंगलमा शव फालिएकाले हुनसक्ने प्रहरीले जनाएको छ ।

शव फालिएको आठ/दश घण्टापछि भेटिएको हुनसक्ने अनुमान छ । जाडो मौसमका कारण शव सडेको थिएन ।

मंगलवार बिहान ११ बजेतिर स्थानीयले झाडीमा महिला र बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । पछिल्लो समय रुपन्देहीको देवदहमा आपराधिक घटना धेरै हुन थालेको छन् ।

तिनाउमा नदीमा महिलाको शव फेला

यसैबीच पाल्पाको तिनाउ गाउँपालिका– ३ स्थित विद्युत गृहको ड्याम नजिक तिनाउ नदीमा एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीले बुधबार साँझ ड्यामनजिकै अन्दाजी ६०–६५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जानकारी दिए । शवको पहिचान खुलेको छैन ।

स्थानीयले नदीमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई जिल्ला अस्पताल, पाल्पामा राखिएको छ ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech