१२ श्रावण २०८१, शनिबार

नाकामा भीड रोक्न सकस
  • न्युज मानसराेवर

बाँके\  सदाझैं सीमानाकामा हतियारसहितका सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी देखिन्छन् । आइपर्न सक्ने जोखिमबाट जोगाउनु र सुरक्षा दिनु उनीहरूको जिम्मेवारी हो । तर, नाकामा अनियन्त्रित भीड रोक्न उनीहरूलाई पनि हम्मेहम्मे पर्ने गरेको छ । सीमा वारपार गर्नेको ठूलै लस्कर देखिन्छ । रोक्न खोज्दा कसैले टेर्दैनन् ।

मानिसको लस्कर कसरी कम गर्ने भनेर चिन्तित प्रहरी प्रशासनका अधिकारी शक्ति प्रयोगबाट भन्दा पनि मन जितेर आउजाउ रोक्ने र संक्रमण नियन्त्रण गर्ने प्रयासमा छन् ।

‘अरू त कुनै उपाय नै देखिएन,’ जिल्लाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘बोली–बचनले रोक्नुबाहेक विकल्प रहेन ।’ अधिकारीले आफ्नो टोलीलाई राम्रो र नम्र बचनले आममानिसलाई सम्झाउन अह्राए । ‘सीमापारि जाँदा संक्रमित भएर अकालमा ज्यान जान सक्ने खतरा हुन्छ,’ उनले भने, ‘त्यसैले यो महामारीबाट जोगिऔं । बाँचे फेरि किनमेल गरौंला भनेर सम्झाउनुपर्छ ।’ उनको भनाइलाई चेक पोस्टमा खटिएका जवानले पालना गरेका छन् ।

‘तपाईंले लगाएको मास्कले मेरो ज्यान जोगाउँछ । मैले लगाएको मास्कले तपाईंको प्राण रक्षा गर्छ’ भन्दै सीमावरपर माइकिङ गरिएको सुनिन्छ । सीमापारि जाने हतारमा रहेकी सानु थापा त्यही आवाज सुनेपछि एकछिन उभिइन् । त्यतिबेलै जिल्ला कोरोना फोकल पर्सन तेज वली र नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले अवसर छोपे । मास्क दिँदै विनम्रतापूर्वक लगाउन आग्रह गरे । ‘माइकबाट गरिएको अपिल भावुक थियो,’ सानुले भनिन्, ‘मेरा पनि आँखा खुले । अब संक्रमण नरोकिँदासम्म म पनि भारत जान्नँ ।’

सीमानाका हुँदै भारत आउजाउ गर्नेलाई कसरी कम गर्ने भन्ने सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीका लागि अहिले प्रमुख समस्या र चुनौती बनेको छ । पश्चिमको प्रमुख नाका जमुनाह हुँदै दैनिक हजारौं मानिस ओहोरदोहोर गर्छन् । जबकि, नेपालमा भन्दा भारतमा संक्रमण व्यापक छ । यो अवस्थामा अत्यावश्यक कामबाहेक सीमावर्ती बजार नजान सुरक्षाकर्मी, स्थानीय प्रशासन र स्वास्थ्यकर्मीले आमनागरिकलाई सुझाव दिएका छन् । सामान्य किनमेलका लागि सीमापारिको बजार जाने क्रम नरोकिँदा यहाँ संक्रमण बढेको निष्कर्ष जिल्ला कोरोना व्यवस्थापन केन्द्रको छ ।

सरकारले सीमानाकामा स्वास्थ्य परीक्षण बढाउन निर्देशन दिएको छ । तर त्यसका लागि चाहिने जनशक्ति अभाव छ । नाकाबाट हुँदै आएको आउजाउ र भीड नियन्त्रण गर्न ठोस प्रयास भएको छैन । खुकुलो र भद्रगोलको अवस्थाले संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको हो । प्रहरीले ट्याम्पो र रिक्सालाई सीमापारि जान र आउन रोकेको छ । सवारीसाधन नियन्त्रण गर्दा पनि नाकामा मानिसको घुइँचो कम नहुँदा संक्रमणको ग्राफ उकालो लाग्दै गरेकाले सीमापारिको आउजाउमा कमी ल्याउन बचन र व्यवहारले मन जितेर नियन्त्रण गर्ने प्रयास थालिएको हो । ‘बोली र व्यवहारले मानिसको मन जित्न र परिवर्तन गर्न सकिन्छ जस्तो लाग्छ,’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘अहिले हाम्रो प्रयास त्यतै केन्द्रित छ ।’

सीमापारिको बजार जाने क्रम नरोकिँदा ८० देखि ९० प्रतिशत मानिस संक्रमणको चपेटामा परिसकेको परीक्षणले देखाएको छ । ‘घरघरै संक्रमित छन्,’ कोरोना फोकल पर्सन वलीले भने, ‘जसमध्ये धेरै भारतबाट आएकाहरू छन् । त्यसैले सकेसम्म सीमापारि नजाऔं भन्दै आएका हौं ।’ बाँकेमा तीन सातायता तीन संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । इकान्तिपुर

  • १५ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech