२ असार २०८१, शनिबार

सहिद ‘दुर्गानन्द झा’ जसलाई फाँसी दिन मुलुकी ऐन नै संशोधन गरिएको थियो
  • न्युज मानसराेवर

जनकपुरधाम\ सहिद दुर्गानन्द झालाई तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा मृत्युदण्ड दिँदै गर्दा सायद कसैले पनि सोचेका थिएनन् देशमा गणतन्त्र आउँछ। तर, मृत्युदण्डभन्दा पहिले नै सहिद झाले भनेका थिए, देशमा गणतन्त्र आउँछ। त्यसको ठिक ४५ वर्षपछि मुलुक गणतन्त्रात्मक प्रणालीमा प्रवेश गर्‍यो।  २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रात्मक मुलुकका रुपमा घोषणा गरेको थियो। मुलुकमा गणतन्त्र आउने कल्पनासम्म नगरेको समयमा सहिद झाले आफ्नी पत्‍नी काशीदेवीलाई मुलुकमा एक दिन गणतन्त्र आउने कुरा भनेका थिए। झालाई जेलमा भेट्न पुगेकी श्रीमती र आमालाई सम्झाउँदै भनेका थिए, ‘नरोऊ, देशमा गणतन्त्र अब आउँछ। तिमीहरू गाउँ जाऊ।’

२०२० सालमा तत्कालीन राजा महेन्द्र शाहमाथि बम प्रहार गरेको आरोपमा पक्राउ परेका झालाई भेट्न मृत्युदण्डको एक दिनअघि २०२० माघ १४ गते श्रीमती काशीदेवी र उनकी आमा त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा पुगेका थिए। सहिद दुर्गानन्दले आमालाई भनेका थिए, ‘आमा नरोऊ, एक दिन यस्तो आउँछ जब तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गर्नेछन्। श्रीमतीलाई भने यो हाम्रो अन्तिम भेट हो।’

दुर्गानन्द झालाई फाँसी दिने समय तय भएपछि प्रहरीले उनीहरूलाई भेट गराउनकै लागि गाउँबाट बोलाएर ल्याएका थिए। जेलमा भेट्न गएको श्रीमती र आमाको आँखाको आँसु रोक्‍न झाले सम्झाएका थिए। मृत्युदण्डको सजाय पाउन लागेका झाको अनुहारमा भने कुनै त्रास थिएन।

दुर्गानन्द झाको विवाह भएको दुई वर्षमात्रै भएको थियो। एक नवदुलही, जसको श्रीमानलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। जेलमा पुग्दा काशीदेवी एकदमै भावविह्वल भएकी थिइन्।

 

सहिद दुर्गानन्द झा। 

काशीदेव झालाई सहिद दुर्गानन्दले ‘दो हंसो का जोडा विछड गयो रे, गजब भयो रामा जुलुम भयो रे’ विरहको गीत सुनाउने गर्थे। काशीदेवीलाई भने श्रीमानलाई मृत्युदण्ड भएको ५९ वर्ष भइसक्दा पनि हिजै सुनेको गीत जस्तो लाग्छ।

धनुषाको नगराइन नगरपालिका जटही गाउँका देवनारायण झा र सुकुमारीदेवी झाको एक्लो सन्तानका रुपमा १९९९ वैशाख १४ गते सहिद दुर्गानन्द झाको जन्म भएको थियो। १० कक्षामा पुगेपछि उनको विवाह २०१७ सालमा १४ वर्षीया काशीदेवी झासँग भयो। दुर्गानन्द झाको बुबाको निधन भएपछिआमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उमगाँवस्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भयो।

उनी अध्ययन गरिरहेकै क्रममा नेपालमा लोकतन्त्रका लागि संघर्ष चलिरहेको थियो। उमगावँको सो विद्यालयमा लोकतन्त्रका लागि आन्दोलन गर्ने आन्दोलनकारीसँग दुर्गानन्दको भेट भयो।

एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर दुर्गानन्द लोकतन्त्रको आन्दोलनमा होमिए। गर्भवती श्रीमतीसँग वृद्ध आमा मात्र भएकोले हेरचाहको कमीकै कारण मृत बच्चा जन्मिएको काशीदेवी स्मरण गर्छिन्। हाईस्कुलमा अध्ययनरत दुर्गानन्दको अधिक समय राजनीतिमा बित्‍ने हुनाले काशीदेवीसँग महिनामा एक दुई पटकभन्दा बढी हुन सकेको थिएन।

यता २०१७ साल पुस १ गते राजा महेन्द्रले उठाएको निरंकुश कदमविरुद्धमा नेपाली कांग्रेसले आन्दोलनको विगुल फुकिसकेको थियो। राजा महेन्द्रको कूविरुद्ध सहिद दुर्गानन्द झाको मस्तिष्कमा समेत यो निरंकुशता हटाइछोड्ने अठोट चलिरहेको थियो।

भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजामाथि बम प्रहार गर्ने योजना बनाएका थिए। २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएका बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाइयो।

कडा सुरक्षाका बीच जानकी मन्दिर पुगेका तत्कालीन राजा महेन्द्रमाथि दुर्गानन्दले बम प्रहार गरे तर पड्कन सकेन। राजा महेन्द्र चढेको गाडीको सिसामा बम लाग्यो। उनी बम फालेर कडा सुरक्षाका बीच भाग्‍न पनि सफल भए। भागेर जनकपुरधाममै एक  मन्दिरमा बसे, त्यसको भोलिपल्ट फेरी उमगावँ नै फर्केका थिए।

यता तत्कालीन सरकारले बमकण्ड गराएको भन्दै विभिन्‍न व्यक्तिलाई धरपकड गर्न सुरु गर्‍यो। पक्राउ परेकाहरुलाई चरम यातना दिइयो। यो सुनेपछि भारतमा पुगिसकेका सहिद दुर्गानन्द झालाई सह्य भएन। त्यसपछि उनी जयनगरबाट रेल चढेर जनकपुरधाम हिँडे। तर जनकपुरधाम नपुग्दै तत्कालीन एसपी मानबहादुर राईको नतृत्वमा गएको टोलीले उनलाई पक्राउ गर्‍यो। पक्राउ परेको भोलिपल्ट हेलिकप्टरबाट काठमाडौंको केन्द्रीय कारागारमा ल्याइएयो र राजद्रोहको मुद्दा चलाइयो।

 

दुर्गानन्दलाई मृत्युदण्ड दिन मुलुकी ऐन संशोधन

सरकारले बमकाण्डको अध्ययन गर्नका लागि विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानबिन आयोग गठन गर्‍यो। त्यो आयोगले २०१९ भदौ १९ मा प्रतिवेदन बुझायो। त्यो प्रतिवेदनले सहिद दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो। तर, ‘ब्राह्मणलाई मृत्युदण्ड दिनु हुँदैन’ भन्ने कुरा त्यति बेलाको कानुनमा उल्लेख थियो। कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाहा पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिए।

सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउन आदेश दिए। सोही वर्ष फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे। २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो।

सहिद दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्ड नै रोजे, निरंकुश शासनविरुद्ध झुकेनन्। उनलाई फाँसी दिएपछि श्रीमती काशीदेवी र उनको आमालाई जानकारी दिएको थियो। दुर्गानन्दकी आमाले छोराको शवको अन्तिम संस्कार गर्नका लागि शव मागिन्, तर राज्यले शव पनि दिएन। पछि परिवारले कुशको शव बनाएर भारतको गयामा अन्तिम संस्कार गरेको थियो।

माघ १५ गतेका दिन सहिद दुर्गानन्द झालाई फाँसीको सजाय दिइएको थियो। सोही दिनलाई अवसर पारेर नेपाली कांग्रेस प्रत्येक वर्ष बलिदानी दिवस मनाउँदै आइरहेको छ।

नेपाली कांग्रेसबाट राजनीतिको सुरुवात गरेका युवा दुर्गानन्द झा गणतन्त्रका लागि प्राणको आहुति दिए पनि सहिद भने कांग्रेसले घोषणा गर्न सकेन। जबकी पटक-पटक नेपाली कांग्रेस सत्तामा पुग्यो। अन्ततः तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गर्‍यो। गणतन्त्रका लागि हँसी खुशी फाँसीमा चढेका दुर्गानन्दले गणतन्त्रका लागि आहुती दिएको ५२ वर्षपछि मात्रै सहिद घोषणा भए।

तेस्रो चिठ्ठी कसलाई लेखेका थिए?

सहिद दुर्गानन्द झाले फाँसी दिइएको दिन तीन वटा चिठ्ठी लेखेका थिए। उनले चिठ्ठीहरु लेखेर जेलका चौकीदार बद्रीराम भण्डारीलाई जिम्मा लगाएका थिए। दुर्गानन्दसँगै जेलमै सजाय काटेका केही व्यक्तिहरुका अनुसार उनले पहिलो चिठ्ठी कांग्रेसका तत्कालिन सभापति सुवर्ण शम्शेरलाई, दोस्रो चिठ्ठी आमालाई र तेस्रो चिठ्ठी कसलाई लेखेका थिए, त्यो स्पष्ट छैन।

चिठ्ठीको प्रसंग कयौँ पटक सहिद अरविन्द ठाकुरले आफ्नो मृत्युभन्दा अगाडि पटक उठाएको सहिद झाको पत्‍नी काशीदेवी सुनाउँछिन्। हुन त कयौँ व्यक्तिको अनुमान छ, तेस्रो चिठ्ठी चौकीदारले गायब गरेको हुन सक्छ। यसका साथै नेपाली कांग्रेसका तत्कालीन सभापति सुवर्ण शम्शेरलाई के लेखेका थिए त्यो पनि खुलाइएको थिएन। यद्यपि कांग्रेसको आन्दोलनलाई अब कुन दिशा दिने विषमा उल्लेख भएको हुन सक्ने अनुमान छ।

दोस्रो चिठ्ठीमा सहिद झाले घर परिवारको जिम्मा आमालाई र स्वास्‍नीलाई दिएर गइरहेको उल्लेख थियो। तर, तेस्रो चिठ्ठी कसलाई र सो चिठ्ठीमा त्यस्तो के लेखेका थिए भन्‍ने विषयमा अनुसन्धान हुनु आवश्यक रहेको राजनीतिज्ञहरुले बताएका छन्।

सहिद झाको विषयमा पाठ्यक्रममै गलत जानकारी

सहिद झाको जन्म धनुषामा भएको कुरो सर्वविदित रहे पनि इतिहासलाई तोडमोड गर्ने हिसाबले पाठ्यक्रममा उनीबारे भ्रम फैलाइएको उनकी श्रीमती काशीदेवीले बताइन्। पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा ११ को नेपाली विषयमा नेपालको पहिलो गणतान्त्रिक सहिदबारे गम्भीर त्रुटि देखिएको छ।

 

सहिद दुर्गानन्द झाबारे कक्षा ११ को पाठ्यक्रममा भएको गलत जानकारी। 

 

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा ११ को प्रकाशित नेपाली किताबमा नेपालकै पहिलो गणतान्त्रिक योद्वारा सहिद दुर्गानन्द झाको जन्मस्थान, आमाको नाम र शहादत मिति गलत उल्लेख गरिएको छ।

सहिद झाको जन्म धनुषा जिल्लाको जटही गाउँमा भएको हो, आमाको नाम सुकुमारी देवी झा र उनको शहादत विसं २०२० माघ १५ गते भएको थियो। किताबमा भने उनको जन्म सिरहा जिल्लाको जटही गाउँमा भएको, आमाको नाम देविका झा र शहादत मिति माघ ५ गते उल्लेख गरिएको छ।

कक्षा ११ को नेपाली किताबको पृष्ठ ६१ मा सिर्जना र परियोजना भन्‍ने शिर्षकमा दिइएको ‘तस्बिर हेरेर पदावलीको आधारमा चित्रसहित जीवनी लेख्नुस’ भन्‍ने विवरणमा सहिद झा बारे त्रुटीपूर्ण जानकारी दिइएको छ।

वर्ल्ड ई अभिलेखालय विकिपिडीयामा समेत सहिद झाको जन्मस्थान धनुषा जिल्लाको जटही र शहादत मिति माघ १५ गते भनिएको छ। यति मात्र होइन उनको परिवार अहिले पनि जटहीमै बस्दै आएको छ।

नेपाली कांग्रेसका युवा नेता एवं जटही निवासी प्रवेश चौधरीले उनको विषयमा पाठ्यक्रममा जसरी तथ्यांकहरु उल्लेख गरिएको छ, त्यो आपत्तिपूर्ण रहेको बताए। उनले भने, ‘सहिद दुर्गानन्द झाको विषयमा गलत जानकारी दिएर इतिहास नै बंग्याउने प्रयास भइरहेको छ।’ पाठ्यक्रममा उल्लेख गरिएको गलत जानकारी सच्यान उनले माग गरेका छन्।

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech