८ बैशाख २०८१, शनिबार

साढे २ अर्ब हिनामिनाको आरोप लगाउँदै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
  • न्युज मानसराेवर

काठमाडौँ\ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रूपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

मन्त्री खतिवडाले जिम्मेवारी वहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सो को मूल्य करीब दुई अर्ब ५० करोड रूपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको संघले आरोप लगाएको छ ।

मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानूनी प्रावधान बमोजिम कारबाही गर्न माग गरिएको संघका अध्यक्ष किरण पौडेलले बताए ।

उनले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाती कदम भएको बताए ।

अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गराएको जानकारी दिए ।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech