१२ श्रावण २०८१, शनिबार

शनिवारसम्म वर्षा र हिमपातको सम्भावना
  • न्युज मानसराेवर

बाँके\ पश्चिमी वायुको प्रभावले आगामी शनिवारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।  बुधवार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र १ नम्बर प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने, शुक्रवार देशैभर सामान्यदेखि पूर्ण बदली रहने र शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिएको छ ।

यस प्रणालीको प्रभावले बिहीवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती र १ नम्बर प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रवार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रही देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशका १ वा २ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिवार गण्डकी प्रदेश, बागमती प्रदेश र १ नम्बर प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतवारदेखि मौसमी प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरूपमा सुधार हुने महाशाखाले औंल्याएको छ ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech